पोखरा महोत्सवमा आजदेखि विद्यालय स्तरीय नृत्य प्रतियोगिता

समाधान संवाददाता २०७६ माघ ५ गते १२:४३

समाधान संवाददाता
पोखरा

पोखरा महोत्सवमा शनिबार दर्शकको उल्लेख्य सहभागिता भएको छ । बिदाको दिनमा मौसमले साथ दिएपछि महोत्सवस्थल दर्शकले भरिभराउ बन्यो । महोत्सवको पाँचौ दिन शनिबार ३५ हजार दर्शकले महोत्सव प्रत्यक्ष अवलोकन गरेको आयोजकले जनाएको छ ।

पोखरा महोत्सवमा शनिबार लोकदोहोरी गायक मीलन लामाको प्रस्तुतिबाट दर्शकले भरपुर मनोरञ्जन लिएका थिए । लामासँगै प्रजापति पराजुली, सुरेन्द्र गुरुङ, निश्चल थापामगर, माधव चापागाईँ, कृष्ण गुरुङ, तुलसा क्षेत्री, लक्ष्मी बानिया लगायतको लोकदोहोरी प्रस्तुति रहेको थियो भने लोकदोहोरी गायक प्रजापति पराजुली र ४० को दशकमा चर्चित लोकदोहोरी गायिका माया गुरुङको दोहोरीले दर्शकलाई हौस्यायो । हाँस्यव्यंग्यतर्फ पोखरेली धुर्मस र माग्नेबुढाको प्रस्तुतिले दर्शकलाई हँसायो । साँझ पप कन्सर्टमा कबवेव र स्पर्श ब्यान्डको लाइभ प्रस्तुतिमा दर्शकले भरपुर मनोरञ्जन लिएका थिए ।

Advertisement

पोखरा महोत्सवमा आइतबारदेखि विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिता हुने भएको छ । १० आंै संस्करणको पोखरा महोत्सवको स्टेजमा पोखराका १५ विद्यालयबीच सामूहिक नृत्य प्रतिस्पर्धा हुनेछ । माघ ५ गते आइतबार अल्फा बोर्डिङ स्कुल, अञ्जुुली आवासीय विद्यालय र सूर्योदय बोर्डिङ स्कुलको प्रस्तुति रहनेछ । ६ गते सोमबार बेसलाइन एकेडेमी, लेखनाथ विभूति, सरस्वती सेकेन्डरी स्कुल र राइजिङ स्टारको प्रस्तुति रहनेछ । ७ गते मंगलबार कुमुदिनी होम्स, ज्ञान गंगा एकेडेमी, अमरसिंह मावि र युनिभर्स एकेडेमीको प्रस्तुति रहनेछ । ८ गते बुधबार कास्की मोडर्नाइज्ड एकेडेमी, कालिका मावि, बाल कल्याण र बहादुरे माविको प्रस्तुति रहने महोत्सव सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

नृत्य प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । सान्त्वना हुने समूहलाई ७ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

Advertisement

महोत्सवमा आइतबार पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, कृष्ण सुवेदी, नेत्र गुरुङ, टेक क्षेत्री, लक्ष्मी मल्ल, सुनीता नेपाली, सविना गुरुङ, शान्ति डोटेल लगायतको प्रस्तुति रहनेछ । त्यसैगरी साँझको पप कन्सर्र्टमा आशीष राना लाहुरेसँगै स्थानीय ब्ल्याक रोजको प्रस्तुति रहनेछ ।

माघ ६ देखि ८ सम्म कास्की जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा युनाइटेड क्लब खुला बुद्धिचाल प्रतियोगिता हुने भएको छ । युनाइटेड क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता अमरसिंह माविको पुस्तकालय भवनमा हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने दोश्रो र तेस्रो, चौंथो र पाँचौ हुनेले क्रमश नगद १५ हजार र १०, ३ हजार र २ हजारसहित प्रमाणपत्र साथमा मेडल प्राप्त गर्नेछन् ।

टप टेनभित्र पर्ने बाँकी ५ जनालाई जनही १ हजार, प्रमाणपत्र र मेडल प्रदान गरिने छ । महोत्सवमा शनिबारदेखि शिक्षक, विद्यार्थी र अभिभावकलेसँगै बसेर हेर्नुपर्ने शिक्षामूलक वृत्तचित्रसमेत प्रदर्शन गरिएको छ ।

तपाईको प्रतिक्रिया