‘अब अर्थतन्त्रको प्रमुख हिस्सा पर्यटन’

समाधान संवाददाता २०७६ माघ ५ गते १३:३८

ईश्वर देवकोटा
पोखरा

नेपालमा पर्यटनको इतिहास त्यति पुरानो छैन । फ्रान्सेली मौरिस हर्जोगले सन् १९५० मा अन्नपूर्ण हिमाल चढे । त्यसको ३ वर्षपछि १९५३ मा न्युजिल्यान्डका एडमन्ड हिलारीले सगरमाथा चढे । स्विजरल्यान्डका टोनी हेगनले नेपाललाई पैदल फेरो लगाए । यी पर्यटक थिएनन्, विभिन्न अन्वेषण वा आरोहण लागि नेपाल आएका थिए ।

उनै विदेशीलाइनेपालको पर्यटन स्थापित गर्ने श्रेय जान्छ । झन्डै ६ दशकको इतिहास बोकेको नेपाली पर्यटनको सुधार कुन स्तरमा भइरहेको छ त ? त्यसयता सरकार र सम्बद्ध निकायले कुन तवरले यसको विकासका लागि काम गरे ? अब यस्तै तयारीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्रिएलान् भन्नेमा पनि शंका छ ।

तर, ४ वर्षको कार्यकाल सकेका नेपाल पर्यटन बोर्डका निवर्तमान सिइओ दीपकराज जोशी नेपाली पर्यटन क्षेत्रको विकासबाटै समृद्ध मुलुकको कल्पना गर्न सकिने दाबी गर्छन् । होटल स्नोल्यान्डले पोखरामा शुक्रबार आयोजना गरेको ‘क्रस दी बोर्डर’मा जोशीले आशा लाग्दा केही पक्ष औंल्याए ।

१० वर्षे द्वन्द्वबाट थलिएको देश राजनीतिक अस्थिरताले अन्य मुलुकको तुलनामा पछि परेको उनी ठान्छन् । बोर्डमा प्रवेश गर्दाको स्थिति सम्झँदै भन्छन्, ‘म बोर्डमा नियुक्त भएपछि काम गर्न सहज थिएन । कर्मचारी संख्या न्यून थियो । प्रवेश गर्नासाथ निजी क्षेत्रसँगको सहकार्यमा मात्र पर्यटनलाई स्थापित गर्न सकिन्छ भन्ने मूलमन्त्र बनाएर अघि बढें ।’

अबका दिनमा नसोचेका परिवर्तन हुने विश्वास जोशीले देखाए । उनले भने, ‘कसैले नसोचेको लोडसेडिङ अन्त्य भएजस्तै, बन्द, हडताल बन्द भएजस्तै अब देशमा नसोचेका सकारात्मक परिवर्तन देखापर्ने छन् ।’ क्षणिक साधनाले योजनालाई मूर्तता दिन नसकिनेमा उनी प्रष्ट छन् । ‘थिलोथिलो भएको क्षेत्र तुरुन्तै रिकभर हुन सक्दैन भन्ने धारणा स्पष्ट थियो,’ उनी भन्छन् ।

२०७२ को भूकम्पले अझै थला पा¥यो । विदेशी मिडियाले भत्केका संरचनामात्र देखाए । नेपाल भ्रमणका लागि उपयुक्त छैन भन्ने सन्देश चिर्न बोर्डलाई चुनौती बन्यो । तर डिजिटल प्लेटफार्म राम्रो विकल्प बन्यो । बोर्डले त्यस्ता कैयौं घुम्न लायक अन्य जिल्लाको पर्यटन प्रचारका लागि तुरुन्तै काम थाल्यो । जोशीका अनुसार त्यस बेला डच एम्बेसीले मात्र २५ लाख रुपैयाँ सहयोग गरेको थियो । डिजिटल इन्फोग्राफिक्सको माध्यमबाट थालिएको पर्यटन प्रचारले वाहवाही पायो ।

केही वर्षपछि मुलुकको अर्थतन्त्रमा पर्यटनले सबैभन्दा बढी हिस्सा ओगट्ने उनको विश्वास छ । तर त्यसबीचमा चुनौती पनि रहेको उनी स्वीकार्छन् । उनको भनाइमा प्रमुख चुनौती नै मुलुकको पहुँच नहुनु हो । त्यसको समाधान पनि छ । यसको विकासका लागि थाल्ने प्रयासको निरन्तरता नै स्थायी समाधान हो । त्रिभुवन विमानस्थलको रनवे स्तरोन्नति, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनले विश्वका पर्यटकलाई सिधा सम्पर्कमा ल्याउन सकिन्छ । नेपाल वायु सेवा निगमले जापानको ओसाका उडान सञ्चालन गरेको छ । केही सयमपछि टोकियोबाट पनि उडान थाल्ने उनी सुनाउँछन् ।

चीनबाट पनि उडान भर्ने विमानले पर्यटकको आगमन बढाउने जोशी सुनाउँछन् । त्यसका लागि पहिलो तयारी नेपाल बाहै्र सिजनका लागि उपयुक्त रहेको जानकारी दिनु हो । उनी भन्छन्, ‘धेरै देशमा प्रचारमा जाँदा अक्टोबर र नोभेम्बरमा मात्र आउनुस् भनिरहेका छौं । जुन जुलाइमा आउन चाहनेलाई अफ सिजन भनेर हामीले नै भनिरहेका छौं । ‘नेपाल फर अल सिजन’ भन्ने सन्देश पु¥याउनु पर्छ ।’

जोशीका अनुसार अर्को भ्रम पनि चिर्नु छ । एड्भन्चरका लागि मात्र नेपाल आउने भन्ने सन्देश दिँदा पर्यटक नेपाल आरोहण वा पदयात्राका लागि मात्र आउनु भन्ने बुझाइ हुन्छ । नेपालका फेस्टिभल सेल गर्नतर्फ ध्यान दिनुपर्छ । बोर्डले भारतका विभिन्न राज्यमा ‘गर्मी छलो, नेपाल चलो’ भन्ने अभियानसहित प्रचार गरेको उनले सुनाए । ‘रोमान्टिक मनसुन इन नेपाल’ थिममा बोर्डले गत सालदेखि प्रवद्र्धन अभियान थाल्दा पर्यटकको संख्या ७०÷८० हजारसम्म पुगेको उनले जानकारी दिए । चीनमा फोकस गरी जाडो सिजनमा ‘वेदर इज वार्म’ अभियान थाल्दा २०१८ मा २५ प्रतिशत पर्यटक बढेको उनको दाबी छ ।

गोरेटोमा पदयात्रा, नदीमा र्‍याफ्टिङ
नेपालमा सयौं नदीनाला छन् । जहाँ सधै पानी बगिरहन्छन् । त्यस्ता नदी, खोलामा र्‍याफ्टिङ हुन्छन् । यसका लागि कुनै पूर्वाधार चाहिँदैन । मात्र पानी बगेको हुनुपर्‍यो । पर्यटन क्षेत्र कम लागतमै अधिक प्रतिफल आर्जन गर्न सक्ने क्षेत्र हो । नेपाली हिँडेकै गोरेटोमा पर्यटक हिँड्न अनुमति दिए पुग्छ । त्यहाँ पनि धेरै लगानी गरिहाल्नु पर्दैन । यसबाट प्रतिफल साथसाथै रोजगारी सिर्जना पनि हुन्छ ।

जोशीका अनुसार यो वातावरणमैत्री व्यवसाय पनि हो । यसले वातावरणमा हानि पुर्‍याएको छैन । मुद्रा विनिमयमा पनि पर्यटनले नै ठूलो योगदान दिइरहेको छ । सुन्दर छवि भएको देश भनेर चिनाउने पनि पर्यटनले नै हो ।

संसारको लोभलाग्दो गन्तव्यका रुपमा चिनाउन गर्नुपर्ने सबैभन्दा पहिलो काम पूर्वाधार निर्माण भएको जोशी बताउँछन् । उनी भन्छन्, ‘धेरै संरचना प्रकृतिले दिएको छ । तर बनाउनुपर्ने पनि धेरै छन् ।’ अब बन्नुपर्ने पूर्वाधारमा हवाई मार्गको सहज पहुँच र सडक यातायात व्यवस्थापन प्रमुख हुन् । पोखरामा आउने पर्यटकलाई लेकसाइडबाहेक अन्त जान मन लाग्न सक्छ । त्यसको विकल्प तयार गर्नुपर्छ । यहाँ विमानस्थल बनिसकेपछि बन्दीपुर जस्ता १५ वटा विकल्प अघि सार्नु पर्छ ।

पूर्वाधार निर्माणमा पनि ‘कोर’ र ‘क्रस’ सेक्टरको भूमिका रहने उनी उल्लेख गर्छन् । ‘कोर’ सेक्टरका व्यवसायीलाई ‘क्रस’ सेक्टरको सरकारी निकाय स्थानीय सरकार, प्रदेश वा संघीय सरकारमा महत्वपूर्ण सहभागिता हुनुपर्ने उनी बताउँछन् । नेपालमा ख्याति कमाएका व्यक्तित्वलाई ब्रान्डका रुपमा सेल गर्न उनको सुझाव छ । ‘विश्वका सर्वोच्च शिखर मानिएका हिमाल आरोहण गरिसकेका निर्मल पुर्जाको जन्मगाउँ देख्न तमाम ब्रिटिसका नागरिक लालयित हुन सक्छन्,’ उनी भन्छन् ।

ब्रान्ड बाहिर लैजान उत्कृष्ट प्लान बनाउनुपर्ने उनी सुझाउँछन् । पर्यटक आएपछि मात्र ह्यान्डल गर्न थाल्ने परम्परागत चलनले अब नहुने उनको तर्क छ । सेवा र अन्वेषणमा समय दिए पर्यटनलाई छिटोस्थापित गर्न सकिन्छ । पर्यटन क्षेत्रमा आगामी वर्षमा नै आमूल परिवर्तन महसुस हुने जोशीको दाबी छ ।

तपाईको प्रतिक्रिया