रुखमा भोट हाल्दा हात काम्ने कसरी कांग्रेसः महत

समाधान संवाददाता २०७६ माघ ५ गते १३:५६

अर्जुन काफ्ले
स्याङ्जा

नेपाली कांग्रेसका महामन्त्री डा. प्रकाशशरण महतले रुखमा भोट हाल्दा हात काम्ने कांग्रेस हुन नसक्ने बताएका छन् । उनले विपक्षीहरु मिल्दा कांग्रेसको पराजय भएको बताए । धर्ममा विश्वास गर्ने पार्टी कांग्रेस देशको अहितमा कहिल्यै जान नसक्ने उनको भनाइ छ । नेपाल मुस्लिम संघ स्याङ्जाको तेस्रो अधिवेशनमा डा. महतले धर्मलाई अफिम मान्ने कम्युनिस्टलाई देशको रक्षक मान्न नसकिने दाबी गरे ।

ईश्वरको नाम नलिने कम्युनिस्टले धार्मिक स्वतन्त्रताको रक्षा नगर्ने बताउँदै नेता महतले सत्तामा पुगेर मुस्लिम समुदायलाई अनेकन अवसरबाट बञ्चित गराएको आरोप लगाए । कम्युनिस्ट सरकारले प्रेस स्वतन्त्रतामा अकुंश र स्वतन्त्र निकायमा बहुमतको नाममा हस्तक्षेप गरेको आरोप लगाए ।

Advertisement

उनले अदालत, अख्तियार, निर्वाचन आयोग, लोकसेवा आयोग जस्ता स्वतन्त्र निकायमा २ तिहाईको तरबार झुण्डाएर निष्पक्षताको अन्त्य गरेको उनको दाबी छ । २ तिहाइको कम्युनिस्ट सरकार बनेपछि भ्रष्टचार मौलाएको बताउँदै उनले सरकारले वाइड बडी, गोकर्ण रिसोर्ट, बालुवाटार जग्गा, सुन काण्डका नाममा भ्रष्टाचार गरेको आरोप लगाए । पूर्व मन्त्री फर्मुला मन्सुरले संविधान अनुसार पार्टीको विधान बनाउने कांग्रेसमात्र भएको बताए ।

कार्यक्रममा कांग्रेस जिल्ला सभापति कुमार राना, संविधानसभा सदस्य राजु थापा, मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सत्तर, महासचिव मोख्तर अहमद, केन्द्रीय सदस्य सनम बेगम, हाजी रफिक मियाँ, महासमिति सदस्य तुलसी गिरी, महिला संघ केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, चापाकोट नगर प्रमुख शिव गिरी, पत्रकार महासंघ अध्यक्ष ओमप्रकाश शर्मा लगायतले धार्मिक स्वतन्त्रता अहिलेको आवश्यकता भएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया