हिमपातले बिथोल्यो सिक्लेस मेला

समाधान संवाददाता, पोखरा
कास्कीको सिक्लेसमा लागेको माघे संक्रान्ति मेलाका अवसरमा आयोजित प्रतियोगिताका खेल हिमपातका कारण प्रभावित भएका छन् ।
सिक्लेस युवा क्लबद्वारा यही माघ १ देखि ४ गतेसम्मका लागि निर्धारित महोत्सव माघ १ गते उद्घाटन भए पनि खेलहरु माघ २ र ३ गते लगातार पानी परेपछि स्थगित गरिएको थियो । रोकिएका खेल शनिबार मौसममा सुधार भएपछि सञ्चालन गरिए पनि आइतबार दिउँसो १२.३० बजेदेखि हिउँ पर्न थालेका कारण खेल स्थगित गर्नुपरेको क्लबका सल्लाहकार देवीजंग गुरुङले जानकारी दिए ।
उनका अनुसार अनुसार प्रतियोगिता अन्तर्गत हालसम्म महिला भलिबल फाइनलमा पुगेको छ भने पुरुष भलिबल र पुरुष बास्केटबल सेमीफाइनलमा पुगेका छन् । हजार वर्ष पुरानो गाउँ सिक्लेसमा सय वर्षभन्दा पुरानो माघे संक्रान्ति मेलालाई जगेर्ना गर्दै यहाँका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पुर्याउन प्रत्येक वर्ष माघे संक्रान्ति मेला हुँदै आएको उनले बताए ।
हिउँ परेसँगै सिक्लस पुगेका स्वदेशी र विदेशी पर्यटक भने हिउँ खेल्दै रमाएको स्थानीयले जानकारी दिए ।
तपाईको प्रतिक्रिया