हिउँ नपग्लिनएसम्म हिमपहिरोमा बेपत्ता भएकाहरुकाे अवस्था बारे केही भन्न नसकिने

समाधान संवाददाता २०७६ माघ ६ गते १२:५१

अमृत सुवेदी
पोखरा

२५ वर्षदेखि अन्नपूर्ण पदमार्गमा गाइडको काम गरिरहेका शेषकान्त शर्माका अनुसार हिमालयदेखि हिंकु केभ र देउरालीसम्मको क्षेत्र सधैंभरि उच्च जोखिम भएको क्षेत्र हो । हिउँद र बर्खा दुवै याममा हिंकु केभ आसपासमा पहिरो खस्छ र बर्सेनि मानवीय क्षति हुँदै आएको छ । उनका अनुसार दसैंताका मात्रै नेपाली १ जना हिंकु केभ क्षेत्रमै पहिरोको सिकार भएका थिए ।

कास्की अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ को हिंकु केभ वरपर शुक्रबार ठाउँठाउँमा पहिरो खस्दा नेपाली ३ गाइड र कोरियाली ४ नागरिक हराइरहेका छन् । हिमालयभन्दा माथि करिब ३ हजार मिटर उचाइमा रहेको हिंकु केभ वरपर ७ जना हिमपहिरोमा पर्नेको पहिचान भए पनि अवस्था अज्ञात छ ।

Advertisement

हिंकुको पहिरोमा परेर बाँच्न सफल जगदीश खत्रीका अनुसार पदमार्गमा हिँडिरहेका लस्करमा हिमपहिरो खसेको थियो । ट्रेकिङ एजेन्सीमार्फत गएका पर्यटकबाहेक आफ्नै हिसाबले पदमार्गमा जाने अन्य नेपाली पर्यटक पनि हिमपहिरोमा परेको हुनसक्ने अनुमान गरिएको छ । तर, कुनै पनि निकायसँग अनुमानवाहेकको यकीन तथ्यांक छैन ।

सोमबारमात्र पहिरो गएको स्थानमा पुगेका ट्रेकिङ एजेन्सिज एसोसिएन (टान) पोखराका टोली नेता विजय केसीका अनुसार हिमालय क्षेत्रमा ३ वटा पहिरो गएका छन् । माथिबाट खसेको ठूलो एउटा पहिरो तल आइपुग्दा ३ तिर छुट्टिएका छन् ।

Advertisement

हिंकु केभ आसपास हिमालय र देउराली क्षेत्रमा साना ठूला गरी यस्ता ६ वटा हिम पहिरो खसेको उनले जानकारी दिए । हिमपहिरोमा दक्षिण कोरियाली नागरिक जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक, नेपाली गाइड सरोज परियार, मीनबहादुर लामा र छिरिङ भोटे हराइरहेका छन् ।

हिंकु केभ आसपासको अलि सानो पहिरामो नेपाली गाइड सरोज, ठूलो पहिरोमा ४ कोरियाली नागरिक र २ नेपाली गाइड परेको प्रत्येक्षदर्शी र स्थानीयले बताएको घटनास्थल पुगेका केसीले जानकारी दिए ।

अहिले पनि सो क्षेत्रमा हिउँ परिरहेका कारण तत्काल उद्धारको सम्भावना नरहेको उनले बताए । ‘पहिरो गएको क्षेत्रमा पुगेर छोम्रोङ गाउँ फर्किएका छौं । अहिले पनि त्यो क्षेत्रमा हिँउ परिरहेको छ,’ केसीले भने, ‘तत्काल उद्धार गर्न सक्ने उपाय छैन ।’

सरोज परियार सानो हिमपहिरोमा परेका कारण १ हप्तामा खोजी गर्न सकिने सम्भावना देखिए पनि अन्न २ नेपाली र ४ कोरियाली ठूलो पहिरोमा पुरिएको अनुमान गरिएकाले ३०÷३५ दिन लाग्नसक्ने उनको भनाइ छ । केसीकै भनाइमा समर्थन जनाउँदै टान पोखराले पनि तत्काल उद्धार गर्न सक्ने अवस्था नगरेको बताएको छ ।

हिउँ नपग्लिएसम्म यसै भन्न सकिन्न
हिउँमा पुरिएकाहरुको तत्काल उद्धार गर्ने विकप्ल नभएकाले अवस्थाबारे यसै भन्न नसकिने अन्न्पूर्ण गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए । ‘हिंकु केभको परिवरी हिमपहिरो गएको हो । हिउँ नपग्लिएसम्म केही भन्न सक्ने अवस्था छैन,’ अध्यक्ष गुरुङले बताए ।

हिउँ पग्लिन केही समय लाग्ने भएकाले अहिले नै हिमपहिरोमा हराइरहेकाहरुको अवस्था यसै भन्न नसकिने टान पोखराका अध्यक्ष हरि भुजेलले बताए ।

पहिरो गएको क्षेत्रको भौगोलिक अवस्था पनि जोखिमयुक्त रहेकाले पनि समस्या रहेको उनको भनाइ छ । ‘ट्रेकिङ एजेन्सी र पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) काटेर गएका पर्यटकको यकीन भए पनि व्यक्तिगत हिसाबले गएका पर्यटकबारे एकिन छैन,’ भुजेलले भने, ‘पहिरोमा पर्नेको संख्या बढ्न सक्छ ।’

बिगतमा हिउँमा हिउँमा परेका पर्यटकको असारमा पुगेरमात्रै पत्ता लागेको टान पोखराका निवर्तमान अध्यक्ष दीपक अधिकारीले बताए । ‘अहिले पनि न पर्यटकको यकीन तथ्यांक छ न यस्तै अवस्थामा छन् भनेर पत्ता लगाउन सक्ने प्रविधि छ,’ अधिकारीले भने, ‘ट्रेकिङ कम्पनीबाट गएकाहरु सम्पर्कमा आए तर स्वतस्फूर्तरुपमा गएकाको अवस्था के छ भन्न सकिँदैन ।’

अन्नपूर्ण सर्किट र उच्च हिमाली क्षेत्रमा पूर्वानुमान उपकरण नहुँदा पनि सतर्क गराउन नसकिएको अध्यक्ष भुजेलले बताए । अन्नपूर्ण सर्किटमै ६ वर्षअघि हुदहुद आँधीका कारण ४७ जनाले ज्यान गुमाएका थिए । वातावरण सम्बन्धी एप्सबाट पूर्वानुमान हेरेर पदमार्गमा पठाउन सकिने भए पनि तत्कालको जानकारी दिने र उद्धारमा सहयोग पुग्ने उपकरण जडान हुनुपर्ने उनीहरुको भनाइ थियो ।

मेटल डिटेक्टर अर्लामले हिमपहिरोमा परेका मानिसहरु कति गहिराइमा छन् भन्ने प्रविधि नेपालमा रहे पनि अझैसम्म प्रयोग गरिएको छैन । ‘मेटल डिटेक्टरमार्फत हिमपहिरोमा परेका मानिसको अवस्था पत्ता लगाउने प्रविधि हामीसँग छ,’ पर्वातरोहण संघका अध्यक्ष सन्तवीर लामाले भने, ‘अहिलेसम्म घटनास्थलमा पुग्नै समस्या भएकाले प्रयोगमा ल्याउन सकेनौं । अब कसरी जाने भन्ने सल्लाह भइरहेको छ ।’

सिम्रिक एयरसँग पनि त्यस्तो प्रविधि भएकाले बुधबार फेरि नेपाली सेनासहितको टोली घटनास्थलतिर जाने सल्लाह भइरहेको वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङले बताए ।

उद्दारमा उदासिन सरकार
शुक्रबार हिमपहिरो गएको भए पनि आइतबारसम्म सरकारी तथा गैरसरकारी नियम पनि अनुमानमात्रमा सीमित थिए । कति पर्यटक हिमपहिरोमा परेका छन्, कति अन्नपूर्ण बेसक्याम्पतर्फ गएका छन् र अहिलेको अवस्था के छ भन्ने कसैलाई पत्तो थिएन ।

घटनास्थल आसपासका ठाउँ सञ्चार सम्पर्क विच्छेद थियो । अन्न्पूर्ण संरक्षण आयोजना एक्यापको चेक पोस्ट, स्थानीय होटल सञ्चालक र वडा नम्बर ११ का जनप्रतिनिधिले अवस्था बताइरहेका थिए । शनिबारसम्म ट्रेकिङ एजिन्सीबाट त्यो क्षेत्रमा गएर सम्पर्कबाहिर रहेका पर्यटकको जानकारी आउन थाल्यो ।

अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष गुरुङ, छोम्रोङ पर्यटन व्यवसायी समिति र सेन्चुरी युवा क्लबले त्यस क्षेत्रका पर्यटकसँग सम्पर्क र समन्वय गरिरहेको थियो ।

शनिबार रातीसम्म हिमपहिरोमा परेका ७ जनाको पहिचान खुलेको थियो । आफ्ना पर्यटक हिमपहिरोमा परेको जानकारी पाउनसाथ आइतबार बिहानै कोरियन दूतावासले हेलिकप्टर पठायो । तर नेपालका सरकारी निकायले भने उद्दार र त्यस क्षेत्रका पर्यटकको अवस्था बुझ्ने काममा बेवास्ता गरेको निजी क्षेत्रका व्यवसायीले गुनासो गरेका छन् ।

आइतबार ३ निजी कम्पनीका हेलिकप्टरमार्फत अन्नपूर्ण बेसक्याम्प, माछापुच्छ्रे बेसक्याम्प र देउराली क्षेत्रबाट गाइड पर्यटकलाई पोखरा र छोम्रोङमा पुर्‍याइएको थियो । ६४ जनालाई पोखरा र बाँकीलाई छोम्रुङ गरी १ स ४० जनालाई उद्धार गरिएको अध्यक्ष गुरुङले बताए । नेपाली पर्यटकलाई निशुल्क र विदेशी पर्यटकबाट थोरै शुल्क लिएर उद्धार गरिएको उनको भनाइ छ ।

नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको सरकारले भने उद्धार र पर्यटकको खोजीमा उदासिन बनेको टानका निवर्तमान अध्यक्ष अधिकारीले बताए । ‘सरकारले नेपाल भ्रमण वर्ष मनाइरहेको छ । तर, नेपाल आएका पर्यटक पहिरोमा पर्दा उद्धार गर्ने प्रयत्न र त्यस क्षेत्रमा गएका पर्यटकको खोजीमा तत्पर नै नभएको टान अध्यक्ष भुजेलको पनि गुनासो छ । ‘कोरियन दूतावासले आफ्ना पर्यटक खोज्न हेलिकप्टर पठाएको छ । निजी कम्पनीले हेलिकप्टर उडाएर उद्धार गरिरहेका छन् तर नेपाल पर्यटन बोर्ड र सरकारले केही गर्नु पर्दैन ?’ भुजेलले प्रश्न गरे ।’

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले संघ सरकार, स्थानीय तह र प्रहरीसँग समन्वय गरेको बताए । तर, घटनाबारे यथार्थ बुझ्ने र अवस्था सार्वजनिक गर्ने काम संघीय सरकार तथा कुनै पनि सरकारका निकायले गरेका छैनन् ।

तपाईको प्रतिक्रिया