आजदेखि महानगरको छैटौं नगरसभा हुने

समाधान संवाददाता २०७६ माघ ६ गते १२:५३

समाधान संवाददाता
पोखरा

पोखरा महानगरपालिकाको छैटौं नगरसभा सोमबारदेखि सुरु हुँदै छ । शनिबार बसेको कार्यपालिका बैठकले नगरसभामा ६ वटा विभिन्न ऐन, २ वटा कार्यविधि, १ नियमावली र २ वटा ऐन संसोधनको प्रस्ताव लैजाने निर्णय गरेको छ ।

विधायन समितिले तयार गरेका मस्यौदा स्वीकृत गरी कार्यपालिका बैठकले सभामा पेस गर्ने निर्णय गरेको महानगरपालिकाका प्रवक्ता समेत रहेका वडा ५ का अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।

Advertisement

वन सम्पदा संरक्षण, स्थानीय वातावरण प्राकृति स्रोतको संरक्षण, पशु स्वास्थ्य तथा पशु सेवा, पोखरा प्रज्ञा प्रतिष्ठान, यातायात व्यवस्था र कर्मचारी सेवा ऐन सभामा पेस हुनेछन् । खरिद नियमावली पनि यसै सभामा पेस हुने छ ।

महानगरपालिकाको भवन नियमित तथा अभिलेखीकरण कार्यविधि र समिति उपसमिति गठन सम्बन्धी कार्यविधि सभामा पेस हुने प्रवक्ता नेपालीले जानकारी दिए । महानगपालिकाको न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन २०७४ र नगर प्रहरी व्यवस्थापन ऐन, २०७५ को पहिलो संसोधनको प्रस्ताव सभामा लैजाने भएको छ ।

Advertisement

न्यायिक समिति ऐनको दफाहरु मिलाउनुपर्ने देखिएकोले संसोधन प्रस्ताव गर्न लागिएको विधायन समितिका संयोजक समेत रहेका वडा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए । ‘ऐनको दफा र अंकमा फरक परेको छ । त्यससँगै न्यायिक समितिले गठन गरेका वडाका मेलमिलाप केन्द्रको कामलाई हेरेर पुरस्कारको व्यवस्था ऐनमा समेट्दै छौं,’ उनले भने । पेस भएका ऐन तथा संसोधनको प्रस्ताव छलफलपछि मात्र पारित हुनेछन् । नगरसभा बुधबारसम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया