व्यासमा परामर्श केन्द्र स्थापना

समाधान संवाददाता २०७६ माघ ६ गते १३:४१

समाधान संवाददाता
दमौली

लागुऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि तनहुँको व्यास नगरपालिकामा कानुनी तथा मनोसामाजिक परामर्श केन्द्र स्थापना गरिएको छ । नेपाल प्रहरी र व्यास नगरपालिकाको सहकार्यमा व्यास नगरपालिका हाताभित्र केन्द्र स्थापना गरिएको हो ।

केन्द्रको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शनिबार संयुुक्त रुपमा उद्घाटन गरे । नेपाल प्रहरीको सामुदायिक प्रहरी कार्यक्रम अन्तर्गत केन्द्र स्थापना गरिएको हो ।

Advertisement

बढ्दो लागुऔषध प्रयोगलाई रोकथाम गर्न केन्द्रले काम गर्ने छ । लागुऔषध मुद्दामा पक्राउ परेकालाई यस केन्द्रमा निशुल्क परामर्श दिई यसको नकारात्मक असरबारे सजग गराइने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक विनोद सिलवालले जानकारी दिए । केन्द्रको सञ्चालन गर्न व्यास नगरपालिका र नेपाल प्रहरीबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक सिलवाल र व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले हस्ताक्षर गरेका छन् ।

नगरपालिकाका प्रमुख न्यौपानेले लागुऔषध विश्वका लागि चुनौतीपूर्ण बन्दै गएकाले यसलाई रोक्न समुदाय स्तरमा नै सचेतना जगाउनु आवश्यक भएको बताए । प्रहरी महानिरीक्षक खनालले लागुऔषध प्रयोगकर्ता र ओसारपसार गर्नेको संख्या घटाउन समुदाय र विद्यालय स्तरबाटै काम गर्नुपर्ने आवश्यकता औंल्याए । समाजमा समस्याको रुपमा रहेको लाग्औषध दूव्र्यसनी र ओसारपसार नियन्त्रणका लागि कानुन कार्यान्वयन गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको उनले बताए ।

Advertisement

लागुऔषध ब्युरोका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले दुव्र्यसनीमा फसेकालाई नयाँ जीवन दिन केन्द्रले विज्ञको उपस्थितिमा परामर्श दिने बताए । लागुऔषधले अपराधको ठूलो हिस्सा ओगटेको भन्दै उनले यसलाई रोक्न अभिभावकसमेत सचेत हुनुपर्नेमा जोड दिए । केन्द्र सञ्चालनका लागि व्यास नगरपालिकाले २ कोठा र परामर्शदातालाई पारिश्रमिक उपलब्ध गराएको छ । आगामी दिनमा उक्त परामर्श केन्द्रबाट अन्य पीडामा परेका व्यक्तिलाई समेत परामर्श सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

पृथ्वी राजमार्गको ७२ किमी पर्ने तनहुँमा पनि प्रत्येक वर्ष लागुऔषध प्रयोगकर्ता वृद्धि हुँदै गएका छन् । जिल्लामा आर्थिक वर्ष ०७३÷७४ मा २७, ०७४÷७५ मा ४० र ०७५÷७६ मा ७० जना लागुऔषधसहित पक्राउ परेका छन् । जिल्लामा दर्ता हुने मुद्दामध्ये लागुऔषध दोस्रो स्थानमा छ ।

तपाईको प्रतिक्रिया