ल्वाङः होमस्टे र चियाबारीको गाउँ

समाधान संवाददाता २०७६ माघ ६ गते १४:३१

रोशनी गुरुङ

न भिरालो न समथर ठाउँ चिटिक्क मिलेर बसेको १ सय ७० घरधुरी उस्तै मिलेर बसेको गाउँबासी, गाउँमुनि मर्दिखोला सलल गाउँको शिरमा चियाबारी झलल यहि हो ल्वाङ गाउँको चिनारी ।

ल्वाङ गाउँमा जुन घर हेर्दा पनि उत्तिकै आकर्षक र मनमोहक देखिन्छन् । पुरै गुरुङ संस्कृति झल्किने लोभलाग्दो घरहरु, बाटोका ढुंगे सिँढी एक तमासले हाँसको यति सुन्दर प्राकृतिक दृष्य देख्यो भने हाम्रो पहाडी बस्तीहरुमा सजिलै थाहा हुन्छ यो गुरुङ गाउँ हो ।

Advertisement

कास्कीको ल्वाङ गाउँलाई चिनाउने यो दृष्यले पहिलो पटक त्यहाँ जाने पर्यटकलाई मात्र होइन पटकपटक गइसकेको पर्यटकलाई पनि जहिल्यै लोभ्याउँछ र फेरि जाउँजाउँ बनाउँछ । पुस्तौदेखिको गुरुङ सभ्यता बोकेको अनि पाहुनाको सत्कारमा चुर्लुम्म डुबेको यो गाउँमा सञ्चालन भएको होमस्टेमा पुगेपछि सारा मानसिक देखि शारिरिक थाकन निमेषमै मेटिन्छ ।

ल्वाङ सामुदायिक होमस्टेमा आबद्ध भएर अहिले गाउँका १४ वटा घरमा होमस्टे सञ्चालनमा छ भने २ वटा सुविधा सम्पन्न होटलहरु पनि सञ्चालित छन् । विसं. २०६७ सालमा दर्ता भएर सञ्चालनमा आएको होमस्टे सरुमा ७ वटा घरमा सञ्चालित थिए । ल्वाङ सामुदायिक होमस्टेकी संस्थापक अध्यक्ष हिमकुमारी गुरुङलाई सरुवातको दिनमा गाउँका आमाहरुले होमस्टे सम्बन्धि तालिम लिएर सेवा दिन सरु गरे पनि गाउँमा पाहुनाको कमी हुँदा बेकारमा तालिम लिएछ भन्ने सोंच मनमा पटकपटक नआएको होइन ।

Advertisement

विस्तारै होमस्टेको प्रचार हुन थल्यो र उनीहरुले दिएको सेवाबाट पाहुना खुसी भएर फेरि गाउँ फर्किन थालेपछि ल्वाङमा पर्यटकको ओइरो लाग्न थाल्यो । ल्वाङमा ७ वटा घरले मात्रै पाहुना थेग्न सक्ने अवस्था रहेन त्यसकारण अहिले १४ वटा घरमा होमस्टे सञ्चालनमा रहेको होमस्टे सञ्चालक समितिकी अध्यक्ष मञ्जु गुरुङ बताउँछिन् ।

विस्तारै आफू हरुको लक्ष्य गाउँभरिको सबै घरमा होमस्टे सञ्चालन गर्नु हो । त्यसकारण कतिपय घरहरु घरबासको लागि अन्तिम तयारीमा रहेका छन भने कतिघरहरु पुननिर्माणमा लागेका छन् त्यसकारण अबको केही समयभित्र ल्वाङमा होमस्टेको सङख्य हालको भन्दा दोब्बर हुने देखिएको छ ।

अहिले गाउँमा करिब ३ सय जनाले बसेर कार्यक्रम गर्न सक्ने सुविधा सम्पन्न सामुदायिक हल सहित त्यहाँको होमस्टेले एक रातमा करिब ३ सय जना पाहुनालाई राख्न सक्ने क्षमता निर्माण गरेको छ ।

ल्वाङमा जान चाहाने एकजना पाहुनाले एकरातको बास, २ छाक खाना र खाजासहितको प्याकेजमा १ हजार ७५ रुपैयाँ तिर्नुपर्छ । गाउँकै चिसो हावापानीमा उत्पादन भएको साग, दाल, चामल, मुला गाँजर, मकै भटामास, कुखुरा, मर्दिखोलाको असला माछा र चियापत्ती त्यहाँ आउने पाहुनालाई खुवाउने मुख्य परिकारहरु हुन । होमस्टे सञ्चालन नगर्ने स्थानियहरुले यी तरकारीहरु उत्पादन गरेर राम्रो आम्दानी गरेका छन् ।

गत कात्तिक महिनामा ल्वाङमा एकै महिनामा १ हजार ७ सय ५३ जना अन्तरिक पर्यटकले भ्रमण गरेका थिए । त्यस बाहेक ल्वाङमा महिनामा करिब १ हजारदेखि ११ सय जना पर्यटकले भ्रमण सहितको सेवा लिने गरेको होमस्टे सञ्चालक समितिको तथ्यांक छ । नेपाल भ्रमण वर्ष सन् २०२० भर्खरै सरु भएपछि अहिले ल्वाङमा हरेक दिन पर्यटकको घुँइचोले गर्दा सानोतिनो मेला नै लागेको भान हुन थालेको छ ।

यसरी पर्यटन वृद्धि हुनुमा गाउँबासीको अतिथिलाई गर्ने सेवा र सत्कार तथा त्यहाँको मनोरम प्राकृतिक सुन्दरता नै हो । सरुका दिनमा आमाहरु मात्रै यो व्यवसायमा लागेता पनि यो व्यवसायले राम्रै आम्दानी हुन थालेपछि आजभोलि विदेश गएका युवाहरु पनि गाउँमा आएर होमस्टे सञ्चालनमा लाग्न थालेको र अहिले धेरै जसो होमस्टेमा युवाहरुको संलग्नता बढदै गएको ग्रिनहिल युवा क्लब ल्वाङका अध्यक्ष एवं स्वयं होमस्टे सञ्चालक दीपक गुरुङ बताउँछन् ।

२०७० सालमा नेपाल सरकारबाट नेपालभरकै उत्कृष्ट होमस्टेको पुरस्कार पाएको ल्वाङ होमस्टेले अझै गुणस्तरीय सेवा दिन आफूलाई परिमार्जित गर्दैछ ।

मर्दी हिमाल टे«किङ रुटमा पर्ने ल्वाङमा पहिले मर्दी हिमाल गएका २५ प्रतिशत पर्यटक ल्वाङ गाउँ घुम्न आउने गरेता पनि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले यो रुट खारेज गरेपछि पर्यटकको सङख्यमा कमी आएको स्थानियहरुले गुनासो गरेका छन् । यसका साथै एक्यापको क्षेत्रभित्र विदेशी पर्यटकले थप अतिरिक्त शुल्क तिर्नुपर्दा पनि विदेशी पर्यटक ल्वाङमा आउनलाई अनाकानी गर्ने गरेको पनि उनीको भनाई छ ।

यति मात्रै होइन होमस्टेमा जाने कतिपय पर्यटकले पोखरादेखि नै रक्सी, मासु जस्ता खानेकुरा पनि आफै बोकेर लाने गरेको र गाउँमा खाना नखाएको गुनासो समेत उनीहरुको छ । केही त्यस्ता पाहुना पनि आउँछन जसले राति आबेरसम्म रक्सी खाएर हो हल्ला गर्छन अनि झगडा पनि गर्छन् त्यसकारण घुम्न आउने पर्यटकले नियमको पालना गरिदिए राम्रो हुने उनीहरुको भनाइ छ ।

चियाबारी अर्को आकर्षण
ल्वाङ गाउँमा होमस्टेको व्यावसायिक सुरुआत हुनु भन्दा पहिले विसं २०५३ सालमा गाउँको सिरानमा रहेको बारीमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा चियाखेती सुरु गरिएको थियो । अहिले उक्त चिया खेतीले व्यावसायिक रुप ग्रहण गरको छ ।

करिब ३५ हेक्टर क्षेत्रफलमा फैलिएको चियाबारीमा हाल १ सय १४ जना मजदुरले रोजगार पाएका छन् । चियाको उत्पादन राम्रो हुँदै गएपछि २०६१ सालमा गाउँमै चिया प्रशोधन केन्द्र स्थापना गरेर हाल ल्वाङ गाउँमा वार्षिक २ हजार केजी चिया उत्पादन हुँदै आएको छ ।

समुन्द्री सतहबाट १ हजार ६ सय ३० मिटरको उचाइमा रहेको चियाबारीमा तक्डा ७८, तक्डा ८३, तक्डा ३८३, तारापुर लगायत ६ वटा जातका चियाहरु उत्पादन हुने गरेको छन भने ल्वाङको चिया स्वदेशमा भन्दा विदेशमा बढी निर्यात हुने गरेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ मा रहेको ल्वाङ गाउँमा जानलाई पोखराको हरिचोकबाट दिउँसो २ बजे, ३ बजे र ४ बजे नियमित रुपमा बस छुटने गरेको छ । पोखराबाट २० किलोमिटरको दुरीमा रहेको यो गाउँमा जानलाई पोखरा टँुडिडखेलस्थित हरिचोकबाट हेम्जा मिलनचोक, मर्दीपुल, खानेपानी, भेडाबारी, खोरामुख, भाङखोला हुँदै डेढ घन्टामा ल्वाङमा पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया