पोखरा महोत्सवमा दोहोरी र कन्सर्ट

समाधान संवाददाता २०७६ माघ ७ गते १२:४१

समाधान संवाददाता
पोखरा

पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा दिनभर हुने दोहोरी र साँझ हुने कन्सर्टले दर्शक तानेका छन् । माघ १२ गतेसम्म चल्ने महोत्सवमा दर्शकको सहभागिता बढ्दै गएको छ ।

सोमबार लोकदोहोरीतर्फ चर्चित गायक रामजी खाँडको प्रस्तुतिमा दर्शकले मनोरञ्जन लिए । खाँडसँगै जीवन दाहाल, टेक क्षेत्री, कृष्ण अखेली, पार्वती जिसी, ज्योति लोहोनी, केशव देवकोटा, सरस्वती लामिछाने, माया गुरुङ लगायतले प्रस्तुति राखे । दीपक थापामगरले दर्शकलाई हसाए । तेर्सापट्टि तायामचा समितिको लाखेनाच सोमबारको आकर्षण रह्यो । साँझको पपकन्सर्टमा सुगम पोख्रेल एन्ड बाजागाजा ब्याण्डसँगै स्थानीय द फेयर मेसिनको प्रस्तुतिमा युवा झुमे ।

Advertisement

मंगलबार लोकदोहोरीतर्फ पछिल्लो चर्चित लोकदोहोरी गायक प्रकाश सपुत, शंकरविरही गुरुङ, पिआरसी पौडेल, निश्चल थापामगर, सीता परियार, सरस्वती लामिछाने, दुर्गा क्षेत्री लगायतकोे प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक राजु श्रेष्ठले जानकारी दिए ।साँझको पप कन्सर्टमा सनिस श्रेष्ठ र स्थानीय प्रोभर्सको प्रस्तुति रहनेछ ।

क्लबको आयोजना र कास्की जिल्ला वुद्धिचाल संघको सहआयोजनामा सोमबारदेखि बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । १० औं पोखरा महोत्सवमा आयोजित प्रतियोगितामा ३० खेलाडीको सभागिता छ । ११ खेलाडी दोस्रो चरणमा प्रवेश गरेका छन् ।

Advertisement

प्रतियोगितामा लोकबहादुर थापा, पूजा भण्डारी, शागर शाही, महेश्वर अधिकारी र कृष्ण थापा २ अंक ल्याउँदै दोस्रो चरणमा पुगेका हुन् । रामबहादुर क्षेत्री, अनिल कोइराला, बुद्धिराज शर्मा, विश्व पराजुली, एकराज अधिकारी, युवराज भण्डारीले दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

सिनियर राष्ट्रिय आर्विटर (रेफ्री) श्यामसुन्दर ताम्राकार र राष्ट्रिय आर्विटर (रेफ्री) नरेन्द्र रानाभाटले प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने दोस्रो र तेस्रो हुनेले क्रमश नगद १५ हजार र १० हजारसहित प्रमाणपत्र र मेडल पाउने छन् । प्रतियोगितामा चौथों स्थान हासिल गर्नेले नगद ३ हजार प्रमाणपत्र र मेडल, पांचौ स्थान हासिल गर्नेले २ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने टप १० भित्र पर्ने बाँकी ५ जनालाई जनही १ हजार, प्रमाणपत्र र मेडल दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले महोत्सव गरी पोखरामा सामाजिक काम गर्दै आएको क्लबको उद्देश्य अनुसार शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि काम गरिरहेको बताए । उनले यस अन्तर्गत बुद्धिचाल प्रचियोगिता गरिएको उल्लेख गरे । आगामी दिनमा पनि खेलकुदको क्षेत्रमा क्लबले निरन्तर योगदान गर्ने उनले प्रतिवद्धता गरे ।

कास्की जिल्ला बुद्धिचाल संघका उपाध्यक्ष सुनीलबहादुर कोइरालाले निकट भविश्यमा युनाइटेड क्लबसँग सहकार्य गरी बुद्धिचाल प्रतियोगितासँगै कास्की जिल्लाबाट प्रतिनिधित्व हुने गरी बुद्धिचालका खेलाडी उत्पादन गर्ने जनाए ।

महोत्सवमा जारी कास्की जिल्ला स्तरीय खुला लोकनृत्य प्रतियोगितामा लेखनाथ विभूति र राइजिङ स्टार एकेडेमी फाइनल प्रवेश गरेका छन् । वेसलाइन एकेडेमी र सरस्वती सेकेन्डरी स्कुललाई पछि पार्दै उनीहरु फाइनल पुगेका हुन् । प्रतियोगितामा मंगलबार कुमुदिनी होम्स, ज्ञानगंगा एकेडेमी, अमरसिंह मावि र युनिभर्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया