बनेन लुदीखोला पुल

समाधान संवाददाता २०७६ माघ ७ गते १३:२१

मोहसिन अली मियाँ
गोरखा

गत असार मसान्तमै सकिनुपर्ने लुदीखोला पुल निर्माण ७ महिना म्याद थप हुँदासमेत पूरा भएको छैन । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिका जोड्ने लुदीखोला पुलको माघ मसान्तसम्म म्याद थप गरिएको थियो । तर अहिलेसम्म करिब ६० प्रतिशतमात्रै काम सम्पन्न भएको छ ।

थपिएको समयसीमाभित्र पनि निर्माण पूरा नहुने देखिएको छ । गण्डकी प्रदेशको पूर्वाधार विकास कार्यालय लमजुङले सञ्चालन गरेको राष्ट्रिय ग्रामीण सडक यातायात सुदृढीकरण परियोजना अन्तर्गत ३ करोड ४४ लाख ३१ हजार लागतमा पुल निर्माण सुरु भएको थियो ।

Advertisement

१ वर्षमा काम सक्ने गरी २०७५ असार २९ गते नीलगिरि अधिकारी जेभी काठमाडौंसँग सम्झौता भएको थियो । ‘हाम्रो सम्झौता अनुसार त गत असारमै सम्पन्न गर्नुपर्ने थियो, तर त्यो सम्भव भएन,’ कार्यालयका सिनियर डिभिजन इन्जिनियर राम पराजुलीले भने, ‘१ पटकलाई भनेर माघसम्मलाई म्याद थप गरियो । अहिलेसम्म फिल्डमा ६०÷६५ प्रतिशतमात्रै काम भएको छ ।’ पुल निर्माणको कामको जिम्मा पाएको कम्पनीले समयमै काम नगर्दा ढिलासुस्ती भएको पराजुलीको भनाइ छ । ‘काममा ढिलाइ भएकै हो, हामी बारम्बार ताकेता गरिरहेका छौं,’ उनले भने ।

सम्झौता भएपछि केही समय निर्माण स्थलमा जग्गा किचलोले काम रोकियो । त्यसैलाई देखाउँदै ठेकेदार कम्पनीले पटक पटक म्याद थप गर्न माग गरिरहेको छ । यता, पूर्वाधार विकास कार्यालय भने अहिले जग्गा लगायत कुनै विवाद नभएको बताउँछ । ‘सुरुमा पुल निर्माण हुने ठाउँमा जग्गा विवादले केही समय काम रोकिएको हो, तर सिलन्यास भएपछि काममा कुनै अवरोध छैन,’ इन्जिनियर पराजुलीले भने, ‘काममा हाम्रो तर्फबाट हुनुपर्ने सहयोग उहाँहरुलाई भएको छ । अब सधै एउटै विषयलाई लिएर म्याद थप हुँदैन ।’

Advertisement

२१ दशमलव ७ मिटर लामो यो पक्की पुल गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले शिलन्यास गरेका थिए । कार्यालयका कारण काममा ढिलाइ भएको बताउँदै आएका ठेकेदार डालनाथ अधिकारी भने सम्पर्कमा आउन चाहेनन् । पुलमा अझै बिम ढलान, स्ल्याप लगायत नदी नियन्त्रणका काम बाँकी छन् । यो मार्गबाट जिल्लाको दक्षिण पूर्वका बक्राङ, ताक्लुङ, फुजेल, मनकामना, घैरुङ, नामजुङ, ताङलिचोक, मकैसिङ, दरर्बुङ, भूम्लिचोक, घ्यालचोक लगायतका बासिन्दा हिडडुल गर्छन् ।

तपाईको प्रतिक्रिया