छुवाछुतः मानवताको उपहास

युवराज पौडेल
भेदभावको इतिहास
छुवाछुतको उत्पत्ति कहिलेबाट भयो भनेर किटानीका साथ भन्ने अवस्था छैन । विद्वानहरुका अनुसार आजभन्दा करिब पैतीस सय वर्ष अगाडि भारतीय उपमहाद्विपमा वर्ण व्यवस्थाको प्रारम्भ भएको हो । छुवाछुत प्रथा मूलतः भारतीय भूमिमै प्रारम्भ भएर विकसित हुँदै विभिन्न कालखण्डमा नेपालमा भित्रिएको हो । विद्वान् तथा विश्लेषक आहुति भन्छन्ः ‘संसारमा भएका सामुदायिक उत्पीडनमध्ये महिलामाथिको उत्पीडन पहिलो हो । दक्षिण एसियामा दोस्रो सामुदायिक उत्पीडन दलित माथिकै हो’ । खासगरी भारत, नेपाल लगायतका दक्षिण एसियाका देशहरुमा नै दलितमाथिको विभेद पाइन्छ ।
सबैभन्दा पहिले मनुस्मृतिले ब्रह्माणलाई उपल्लो जाति र शुद्रलाई निम्न जातिका रुपमा व्याख्या गर्ने काम गर्यो । मनुस्मृतिले विभेदको इतिहास रच्यो । मनुस्मृतिमा ‘शुद्रलाई भोजनका लागि जुठो अन्न, लगाउनका लागि पुराना वस्त्र, ओछ्याउनका लागि धानको पराल एवम् पुराना थाङ्ना दिनु’ भन्ने जस्ता सुक्तहरु लेखियो (मनु–१०÷१२५) । त्यस्तै, ऋग्वेदमा ‘मानवरुपी विराट पुरुषको मुख ब्रह्माण, हात क्षत्रीय, जाँघ वैश्य र खुट्टा शुुद्र थिए’ भन्ने उल्लेख भएको पाइन्छ । नेपालमा पहिलेदेखि नै छुवाछुतको प्रभाव रहँदै आए तापनि मुलुकी ऐन १९१० ले यसलाई वैधानिकता दिने काम गर्यो । यसले पानी नचल्ने र छोइछिटो हाल्नुपर्ने जातिका रुपमा दलितलाई अपमान गर्यो । वि.सं. २००७ सालको अन्तिरिम शासन विधानमा ‘कानुनका दृष्टिमा सबै समान रहने र धर्म र जातका आधारमा कसैमाथि कुनै भेदभाव नगरिने’ भनेर उल्लेख गरिएपछि छुवाछुत वैधानिक रुपमै अस्वीकृत भयो ।
यसपछिका सबै संविधानहरुमा जात वा छुवाछुतको आधारमा विभेद गर्न नपाइने संवैधानिक व्यवस्था गरिएको छ । नेपालको संविधान २०७२ को धारा २४ को छुवाछुत तथा भेदभाव विरुद्धको हकमा लेखिएको छः ‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन” । त्यस्तै जातीय भेदभाव तथा छुवाछुत ऐन (कसूर र सजाय) २०६८ मा ‘कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय वा पेसाका आधारमा भेदभाव वा छुवाछुत व्यवहार गरेको कुनै काम गरे वा गराएमा जातीय भेदभाव तथा छुवाछुत गरेको मानिनेछ’ भन्ने कुरा उल्लेख छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ‘तीन महिनादेखि तीन वर्षसम्म कैद वा १ हजार रुपैयाँदेखि २५ हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुन सक्ने’ व्यवस्था समेत यसमा गरिएको छ ।
वर्तमान अवस्था
आज पनि दक्षिण एसियाका करिब बीस करोड मानिस दलितका रुपमा अपमान, उत्पीडन र शोषण सहेर बाँच्न बाध्य छन् । यो सङ्ख्या संसारकै जनसङ्ख्याको तीन प्रतिशत हुन आउँछ । नेपालमा करिब साठी लाखको सङ्ख्यामा अर्थात् १३ प्रतिशत दलितहरु छन् । दलितभित्र कति जातजाति छन् भन्ने सम्बन्धमा पनि विभिन्न तथ्याङ्कहरु छन् । समय अनुसार दलित जातिको सङ्ख्या थपिदैँ गएको देखिन्छ । उपेक्षित, उत्पीडित, दलित उत्थान विकास समितिका अनुसार २३ जातिलाई दलित अन्तर्गत समावेश गरिएको छ । राष्ट्रिय दलित आयोगका अनुसूचीमा उल्लेख गरिए अनुसार नेपालमा २६ जात दलितको सूचीमा छन् । अधिकांश दलितहरु नेपालको तराई भुभागमा छन् । नेपालमा भएका अधिकांश दलितहरु भूमिहीन, गरिब किसानका रुपमा जिउन बाध्य भएका छन् । तराईमा ४४ प्रतिशत, पहाडमा २३ प्रतिशत दलित परिवार शुद्ध भूमिहीन छन् । तराईमा ९० प्रतिशतभन्दा बढी र पहाडमा ७७ प्रतिशत दलितसँग परिवार पाल्ने जमिन छैन । हिन्दु वर्णाश्रम व्यवस्थाको सुरुवातसँगै उनीहरु भूमिहीन भएका हुन् जुन स्थिति आज पनि विद्यमान छ ।
दलितका पक्षमा वा विभेदका विरुद्धमा संविधान र कानुन त बने तर पनि व्यावहारिक रुपमा विभेद अन्त्य हुन सकेन । हिन्दू वर्णव्यवस्थाका आधारमा चलाइएको दलितमाथिको विभेदको नीति आज पनि विभिन्न रुपमा कायमै छ । दलाल पूँजीवादी व्यवस्थामा यसले आफ्नो रुप बदलेको छ, तर पनि सारमा विभेदकै नियत राखेको छ । इतिहास हेर्ने हो भने दलितहरुले नेपालमा कहिल्यै राज्यको नीति निर्माणमा भाग लिन पाएनन् । आफ्नो इतिहास रच्ने तिनलाई अवसर दिइएन । दलितहरु गरिबी र अशिक्षाको दुष्चक्रमा घुमिरहे र घुमाउनेहरुले घुमाइरहे । शासक वर्गले दलितलाई सधैँ कमारा, हलिया वा मजदुरकै रुपमा राख्न चाहिराख्यो ।
दलितीकरणको एउटा यस्तो भयानक अस्त्र चलाउन शासक वर्ग सफल भयो, जहाँ स्वयं दलितको अवचेतनमै ‘हामी फरक हौँ वा हामी साना हौँ’ भन्ने मानसिकता तयार गरियो । केही टाठाबाठा र पढेका दलितहरुले दलित मुक्तिका आन्दोलन चलाए पनि आम दलित वर्गमा तिनको कुनै प्रभाव रहेन । आज पनि दलितको अवस्था सन्तोषजनक छैन । ती शिक्षा, स्वास्थ्य, रोजगार, सेना, प्रहरी, कर्मचारी, संसद, नेता, प्राध्यापक, शिक्षक, वकिल आदिका रुपमा तिनको उपस्थिति असाध्यै न्यून छ । ती घरघरमा अपमानित भइरहेका छन्, पँधेरा, विद्यालय, अस्पताल, सार्वजनिक सवारीका साधन जताततै विभेदको मारमा परिरहेका छन् ।
कथित उपल्लो जातका भन्नेहरु आफूलाई जन्मदै फरक भएको भन्ने हिन्दू वर्ण व्यवस्थाले फैलाएका विमर्शहरुका आधारमा दलितमाथि विभेद र अपमानपूर्ण व्यवहार गरिरहेका छन् । एकदमै शिक्षित भनिएका परिवारमा पनि जातीय विभेदको मानसिकता कायमै छ । दलितहरु आर्य मूलका मानिस हुन् । उनीहरु मूलत हिन्दू धर्ममा आस्था राख्ने समुदायका रुपमा चिनिन्छिन् तापनि ती मन्दिरमा पस्न पाउँदै्रनन् । पसे पनि पूजा गर्न पाउँदैनन् । पूजा गरे पनि फरक ढंगले हेरिन्छ । विद्यालयमा दलित छात्रछात्राहरुमाथि शिक्षकहरुकै व्यवहार राम्रो पाइँदैन । कतिपय विद्यालयमा त दलितका विद्यार्थीले छुट्टै बेन्चमा बसेर पढ्नुपरेका यथार्थहरु हाम्रा लागि नौला होइनन् ।
मान्छे जन्मँदा प्राकृतिक रुपमा कुनै जातिका रुपमा जन्मदैन । जन्मकै आधारमा कुन मानिस कुन जातिको हो भनेर छुट्याउन सकिने विषय होइन । छुवाछुत प्राकृतिक विभेद नभई समाज व्यवस्थाले पनि..सिर्जना गरेको विभेद हो । दलित कुनै दृश्य, भाषा, रङ, क्षेत्र, बोली वा कुनै पहिचान गर्न सकिने विषय पनि होइन । कुनै व्यक्तिलाई भेट्ने बित्तिकै दलित भनेर छुट्याउन सकिँदैन । आजसम्मको कुनै विज्ञानले पनि दलितको फरक नश्ल देखाउन सकेको छैन । यति हुँदाहुँदै पनि दलितमाथि किन विभेद हुन्छ ? राज्य व्यवस्था र समाजले दलित भनेर पगरी गुथाएपछि नै विभेदको चक्र चलेको हो । कथित उपल्लो जातका मानिसहरुले धर्मग्रन्थलाई दलित दमनको मुख्य अस्त्र बनाएर हजाराैं वर्षसम्म दलितहरुलाई दासका रुपमा राख्न सफल भए । धर्मग्रन्थ ईश्वरले बनाएको जस्तो गरी प्रचारबाजी गरे ।
आखिर तिनै शासक वा उपल्लो जातिका मानिसहरुले नै मनुस्मृति, वेद, महाभारतभित्रका दलित दमनका भाषिक अस्त्रहरु रचना गरेका थिए भन्ने तथ्य घाम जत्तिकै छर्लङ्ग छ । आज पनि दलितका छोराछोरीले बाहुन, क्षेत्री वा कथित उपल्लो जातिका केटाकेटीसँग प्रेम सम्बन्ध राख्न पाउँदैनन् । यदि निस्वार्थी रुपमा प्रेम गरे पनि तिनीहरुको प्रेम जातीय कारणले दुर्घटित हुन्छ । कथमकदाचित प्रेम विवाहमा परिणत भइहाल्यो भने पनि सम्बन्धित उपल्लो जातिको परिवारको तथा इष्टमित्र र समाजको भयानक दबाबमा ती विवाहहरु समाप्त पारिन्छन् । कतिलाई यसैका कारण आत्महत्यासम्मको बाटो रोज्न बाध्य बनाउँछ । धेरै सभ्य र चेतनशील भनिएकाहरु समेत दलितलाई छोएपछि सुनपानी छर्केर भित्र पस्ने नौटङ्की गरिरहेका हुन्छन् ।
आज सबैभन्दा बढी यौन अपराध दलित चेलीमाथि हुन्छन् भन्ने कुरा तथ्याङ्कहरुले बताइरहेका छन् । बलत्कारका घटना केलाएर हेर्ने हो भने दलित महिला नै यसको सबैभन्दा बढी शिकार भइरहेको देखिन्छ । दुई चार जना दलितहरु ठूला नेता, सासद, इन्जिनियर, प्राध्यापक हुँदैमा दलितमाथिको विभेद समाप्त भयो भनेर व्याख्या गरिनु भ्रमको खेती मात्रै हो । उपल्लो जातबाट पीडित थुप्रै दलितहरु आज पनि अन्याय सहेर बस्न बाध्य छन् । गरिबीको कारण उपल्लो जातका मानिसहरुकोमा श्रम गर्न जानुपर्ने भएकाले उनीहरु विभेद भए पनि चुप लाग्नु बुद्धिमानी ठान्छन् । दलितमाथिका दुव्र्यवहार भएका धेरै घटना बाहिरै आउँदैनन् । यदि बाहिर आउने स्थिति भयो भने पनि केही टाठाबाठाहरु मिलेर गाउँघरमै पैसाको चलखेल गरी घटना मिलाउनेतिर लाग्छन् । प्रहरीहरु पनि दलितका उजुरी सहजै लिन अस्वीकार गर्छन् । गरिब तथा दलित परिवारका मानिसले अदालतमा सहजै वकिल पाउन सक्दैनन् वा उनीहरुको न्यायको पहुँच कमजोर छ ।
दलितीकरण एउटा प्रवृत्ति हो, यो कुनै जात विशेषको कुरा मात्र पनि होइन । दलितहरुभित्रै पनि आन्तरिक रुपमा छोइछिटो तथा ठूलो र सानोको विभाजन व्यप्त छ । एउटा दलितले छोएको अर्काेले नखाने, एउटा दलित परिवारले अर्काे आफूभन्दा तल्लो मानिने जातमा विवाह सम्बन्ध नराख्ने परम्परा कायमै छ । एकातिर दलितभित्रै यस्तो अवस्था छ भने अर्कातिर बाहुन, क्षेत्रीहरु लगायत कथित उपल्लो जाति पनि दलित विभेदको विरोध गर्ने र समानताको पक्षमा बोल्ने र व्यवहार गर्नेहरु पनि छन् । दलितसँगै पूजापाठ गर्ने, दलितसँग सामूहिक सहभोज गर्ने र परिवर्तनका लागि सच्चा मनले लाग्ने बाहुन, क्षेत्री वा उपल्लो जातिका मानिसहरु पनि समाजमा अद्यावधि छन् । त्यसैले यो जाति विशेषसँग सम्बन्धित हुँदाहुँदै पनि एउटा आम सामाजिक प्रवृत्तिको विषय बनिरहेको छ ।
केही दिन अगाडि सिराहा खिरौनामा जन्मेकी मुसहर परिवारकै पहिलो निजामती कर्मचारी बन्न पुगेकी रुपा सदाको अन्तर्वार्ता मिडियामा आयो । वास्तवमा उनको कथा यति दर्दनाक छ कि जोकोहि पनि त्यसले मर्माहत हुन्छ । मुसहर दलित र गरिब परिवारमा जन्मेर उसले सरकारी अनमि बन्ने बेलासम्म दलितका रुपमा भोग्नुपरेका पीडा र विभेदका आख्यानहरुले आधुनिक सभ्य भनेर छाती फुलाउनेहरुलाई गिज्याइरहेको हुन्छ । नर्स पढ्ने बेलामा उनलाई शिक्षकले दलित भएकै कारण हेप्ने काम गरे । सरकारी जागिरमा नाम निकालेर काममा जाँदा उनलाई बस्ने कोठासमेत दिइएन ।
‘दलितलाई कोठा दियो भने पृथ्वी भासिन्छ’ भनेर स्वास्थ्य सेवामा समर्पित एउटा अबला युवतीले बास बस्ने कोठा समेत नपाउने भनेपछि हामी कस्तो समाजमा छौँ भन्ने कुराको तस्वीर यसबाट स्पष्ट हुन्छ । हामी सिद्धान्तका वा आदर्शका जतिसुकै फोस्रा नारा लगाए पनि व्यवहारमा कति तल गिरेका छौँ भन्ने कुरा यसले देखाएको छ । रुपा सदा भन्छिन्ः “म सराकारी जागिरे छु, तर मैले अझै छुवाछुतको घटना भोगिरहेकी छु । पढ्न नपाएका दलित समुदायले झन् कति दुःख भोगिरहको होला ?” (नयाँ पत्रिका, २०७६, पौष १९) यस्ता सयौ सयौँ घटनाहरु आज पनि दिनहुँजसो हामीले सुनिरहेका छौँ । सिडियो, डिएसपी, न्यायधीश तथा जिल्ला वा अन्य कार्यालयका प्रमुखहरुले आफ्नो ड्राइभर, भान्से वा सुरक्षाकर्मी राख्दा दलित बाहेकको पठाइदिन अनुरोध गरिरहेका समाचारहरु हाम्रा लागि नौला होइनन् ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाले उहिल्यै ‘मुनामदन’ मा भनिसकेः ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन’ । संसारका सबै ठूला विद्वानहरुले जातिपातिका कुराको विरोध गरेका छन् । वास्तवमै छुवाछुत प्रथा मानवताका लागि ठूलो कलङ्क हो । मानिसले जतिसुकै भौतिक प्रगति गरे पनि समाजमा समानता छैन भने त्यो अर्थहीन हुन्छ । केही जाति विशेष मात्र सक्षम, योग्य र सवृद्ध भएर मुलुक सवृद्ध हुँदैन ।
राज्यले दलितमाथि शताब्दीऔंदेखि विभेद र दमनको नीति लिएकै कारण आज दलितको राज्यमा पहुँच छैन । गणतन्त्र ल्याउनका लागि होस् वा लोकतन्त्र वा समावेशी राज्यका लागि, दलितले गरेको योगदान आफैमा गौरवशाली छ । कथित जनयुद्धमा दलित वर्गको ठूलो हिस्सा नलागेको भए आज पनि प्रचण्डहरु सायद जंगलमै हुन्थे होला । तर दुःखको कुरा दलितको इतिहास कहिल्यै लेखिएन । गणतन्त्र स्थापना भएको दशकौँ पार भइसक्दा पनि दलितको जीवनस्तर परिवर्तनका लागि राज्यले ठोस कुनै कदम चाल्न सकेको छैन । बरु दलितको नाममा राजनीति गर्ने र उनीहरुका नाममा आएको बजेटमा गिद्देनजर लगाउने नेता, एनजिओ आइएनजिओहरुको कमी छैन ।
दलितका नाममा आउने बजेट खास पीडित दलितका हातसम्म पुग्न नदिने अनेक प्रपञ्च गर्नेहरु यत्रतत्र छन् । दलितका छोराछोरीलाई आएको ड्रेस घरमा आफ्ना छोराछोरीका लागि लाने शिक्षकहरुको कमी छैन यहाँ । कतै जागिर खुल्यो भने त्यहाँ दलितलाई सकभर दर्खास्त नै नदिने वातावरण मिलाइन्छ र दर्खास्त दिए पनि तथा योग्य हुँदाहुँदै पनि कथित वर्णाश्रमवादीहरु ज्यान फालेर दलित हटाउने अभियानमा लाग्छन् । दलितलाई देखाएर आफ्नो दुनु सोझ्याउने सामाजिक कार्यकर्ता भनाउँदाहरुको यहाँ कुनै कमी छैन । आरक्षणका नाममा नेपालमा सबैभन्दा उत्पीडित समूह दलितमाथि सबैभन्दा ठूलो षडयन्त्र गरिएको छ ।
जनजातिलाई सरकारी सेवामा २७ प्रतिशत आरक्षण दिँदा दलितलाई ९ प्रतिशत मात्र आरक्षण किन ? के नेपालमा दलितभन्दा जनजाति उत्पीडन बढी हो ? यो सबै हिजोकै शासकहरुको दलितप्रतिको हेपाहा मानसिकता बाहेक केही होइन । जनजातिले सडक तताउन सक्ने भए, उनीहरुसँग पूँजी भयो तर दलित सडकसम्म आउँदा पनि बिहान बेलुकाको छाक नटर्ने भयो । चतुर शासक नेताले यो दलितको समस्यालाई राम्रैसँग बुझेकाले राजनीतिक स्वार्थका लागि दलितलाई आरक्षण कम दिने काम भयो ।
कथित मनुस्मृति वा अन्य धार्मिक ग्रन्थहरु दलितका मामलामा पाखण्ड छन् । यी दलित दमनका लागि उपल्लो जातिले तयार गरेका बलिया हतियारहरु हुन् । यिनले खडा गरेको दलित अपमानको विमर्श अवैज्ञानिक, पाखण्ड, कर्मकाण्डी, मानवताहीन र असभ्य छ । मर्यादा पुरुषोतम रामले अछूत मानिने सबरीले दिएको जुठो बयर खाएर पौराणिक कालमै हिन्दू धर्मसंस्कृतिमा छुवाछुतको भेदभाव स्वीकार्य नहुने सन्देश दिइसकेका हुन् तापनि पछि कर्मकाण्डीहरुले मनुस्मृति लगायतका कृतिहरुमा यसलाई जबर्जस्ती घुसाउने काम गरेका हुन् ।
निष्कर्ष
वास्तवमा भन्ने हो भने सबैभन्दा उपल्लो जात दलित हो किनभने सबैभन्दा बढी श्रममा विश्वास गर्ने समुदाय नै यही हो । दलितले सिलाएका कोट सिउरेर भलाद्मी बन्ने, दलितले बनाएका भाँडामा मीठो मसिनो खाने, दलितले खेत जोतिदिएर ठालू भएर परिवार पाल्ने, दलितले बनाएका हँसियाले घाँस काट्ने अनि उल्टो दलितमाथि उत्पीडन गर्ने पुरातनवादी मानसिकता आफैमा हीन मानसिकता बाहेक केही पनि होइन । इतिहासमा दलितले मानव जातिलाई श्रम गर्न सिकाएका छन् । आफ्नो खुट्टामा उभिएर हिँड्ने सन्देश दिएका छन् । आआफ्नो पेसा गरेर आत्मनिर्भर बन्दै मुलुक सवृद्ध बनाउनुपर्ने उदाहरण प्रस्तुत गरेका छन् । जोसँग सीप र श्रम दुवै छ, त्यही वर्ग वा जातिमाथि दमन हुनु अविकास र असमनातको द्योतक हो ।
श्रम नगर्ने र अर्काको श्रम खानेहरु नै समाजमा ठूलाठालु हुने तर रातदिन पसिना बगाएर धर्ती सिंंगार्नेहरु कसरी साना हुन्छन् ? कसरी तल्लो जातिका हुन्छन् ? वास्तवमा ती त महान् श्रमजीवी तथा कर्मजीवीहरु हुन्, जसलाई राज्यले पूजा गर्नुपर्छ । राज्यले सबैभन्दा बढी सम्मान दिनुपर्छ । इतिहासमा आजसम्मका राज्यले गरेका दलितमाथिका सबै विभेद र कुकर्महरुको क्षतिपूर्तिसहित दलितहरुका लागि सम्मानपूर्ण तरिकाले जीवन जिउने वातावरण तयार गर्नुपर्छ । सरकारी कोटामा महिलापछि दलितले आरक्षण पाउनुपर्छ । दलित सशक्तीकरणका अभियान चलाउनुपर्छ । ‘सवृद्ध नेपालः सुखी नेपाली’ भन्ने राग अलापिरहेको सरकारले सीपका धनी, शिल्पी वा कालिगढका रुपमा राज्यभित्रै हराइरहेका दलितका पेसाहरुको संरक्षण र संवृद्र्धन गर्नुपर्छ । ‘जो अर्काको श्रमको मूल्य खान्छन्, तिनै ठग हुन्, जो श्रममा बाँच्छन् ती महान् हुन्’ भन्ने मान्यता स्थापित गर्नुपर्छ । कथित पढेलेखेका शिक्षितहरुले आफ्नो मक्किएको बुद्धि तिखार्नुपर्छ । तारे होटलमा दलितका नाममा कार्यपत्र प्रस्तुत गरेर लाखौँ कुम्ल्याउने तर घर गएर दलितले छुँदा सुनपानी छर्नेहरु न त पठित हुन् न त बुद्धिजीवी नै । ती नवसामन्तहरु हुन्, नवढोँगीहरु हुन् । समाज बदल्ने शिक्षित वर्ग नै पुरातनवादी मानसिकतामा जकडिएको वर्तमान अवस्था सामन्तवादकै नयाँ पूँजीवादी रुप हो ।
तपाईको प्रतिक्रिया