उत्कृष्ट पदमार्गमा हिमपहिरो डर

समाधान संवाददाता २०७६ माघ ८ गते १३:५८

रासस, पोखरा

अन्नपूर्ण क्षेत्रको पदयात्रा विश्वकै १० उत्कृष्टमध्येमा पर्छ । हिमाल आरोहणको इतिहासमा जेठो अन्नपूर्ण आधार शिविरसम्म पुग्ने सपना बोकेका विश्वका पदयात्री बर्सेनि ठूलो संख्यामा आउने गरेछन् । पदयात्रा पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित भइसकेको यस क्षेत्रको पदयात्रामा पछिल्ला केही वर्षयता हिंकु क्षेत्रमा गइरहेको पहिरो चुनौतीपूर्ण बन्दै गएको छ ।

पदयात्रा मार्गको हिमालयबाट माथि देउरालीको बीच करिब ३ हजार २ सय मिटर उचाइमा रहेको हिंकु आसपासमा यही माघ ३ गते बिहान १० बजे आएको हिमपहिरोमा बेपत्ता भएका ४ कोरियालीसहित ३ नेपाली अहिलेसम्म पनि सम्पर्कविहीन छन् । यो पहिरोबाट केही नेपाली तथा केही विदेशी पर्यटक भने जोगिन सफल भए ।

Advertisement

हिमपहिरो गइरहने हिंकु आसपासको क्षेत्रमा यस वर्ष पनि ठूलो पहिरो गएको अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले बताए । ‘हिमपहिरोका कारण हराइरहेका व्यक्तिको खोजीमा उद्धार टोली पुगे पनि मौसमको प्रतिकुलताका कारण समस्या भइरहेको छ,’ उनले भने ।

धेरै स्वदेशी एवं विदेशी पदयात्री पुग्ने यस पदयात्रा मार्गमा बर्सेनि जाने हिमपहिरोका कारण यस क्षेत्रको पदयात्रा पर्यटनलाई प्रभावित बनाएको छ । ‘हिङ्कु आसपासमा पहिरो जान थालेपछि यसको जोखिमबाट बच्न र पर्यटकलाई सुरक्षित आधार शिविरसम्म पु¥याउन विकल्प खोज्नुपर्ने देखिन्छ,’ उनले भने, ‘यस क्षेत्रमा अत्यन्त साँघुरो ठाउँ भएका कारण पहिरो छलेर तत्काल आसपासबाट अर्को वैकल्पिक पदमार्ग निकाल्न पनि समस्या छ ।’

Advertisement

साँघुरो भूगोल र भौगालिक अवस्थालाई दृष्टिगत गरी देउरालीबाट हिंकुसम्म रोपवे राख्न सकिने विकल्पबारे छलफल थाल्नुपर्ने उनले सुझाव दिए । पहिरोको समस्या र अन्य विकल्प नभएकाले करिब ७ सय मिटरमा बढी जोखिम छ । पदयात्रा पर्यटनको आकर्षक गन्तव्य यस ठाउँको पदयात्रालाई बचाइराख्न सबैले सोच्नुपर्ने बेला आएको ट्रेकिङ एजेन्सिजज एसोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ अध्यक्ष हरि भुजेल बताउँछन् । अन्नपूर्ण क्षेत्र र आसपासमा हिमपहिरो खस्ने समस्या बढ्दै जानु पदयात्रा पर्यटनका लागि चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।

अन्नपूर्ण क्षेत्रमा हेलिकप्टरको बढ्दो प्रयोगसँगै हुने गरेको कम्पन पनि हिमपहिरोको कारण हुनसक्ने उनी औंल्याउँछन् । ‘अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टर प्रयोगले पर्यावरणीय सन्तुलनलाई प्रभाव त पारेको छ नै, पछिल्ला समयमा यसको प्रभावका कारण हिउँपहिरो खस्ने क्रम पनि बढेको छ,’ उनले थपे, ‘हेलिकोप्टरको प्रयोग लगायत प्रकृति विरोधी गतिविधि बढ्दै जाने र यसको नियन्त्रणमा बेवास्ता गरिएमा निकट भविष्यमा अन्य ठूला विपत्ति पनि नआउला भन्न सकिँदैन ।’

हिंकु क्षेत्रमा गएको पहिरोसँगै हराइरहेका व्यक्तिको खोजीका लागि टानले सरोकारवाला सबैसँग सहकार्य गर्दै खोजी कार्यमा सक्रियता देखाएको उनी बताउँछन् । हिमपहिरो गएको क्षेत्रमा घटनालगत्तै उद्धार टोली खटिएकोमा कोरियाको प्राविधिक टोली पनि आइतबारदेखि खोजीमा लागेको उनले जानकारी दिए ।

खोजीका लागि नेपाली सेनाको अर्को टोली मंगलबार त्यसतर्फ गएको छ । भुजेलले मौसमको प्रतिकूलताका कारण खोजीमा अझै पनि कठिनाइ भइरहेको जनाए । घटनास्थलमा बाक्लो हिउँ जमेको तथा हिउँ पर्ने क्रम पनि कायमै रहेकाले बेपत्ताको अवस्था पत्ता लाग्न नसकेको उद्धारमा संलग्नले बताएका छन् ।

भौगोलिक विकटता सञ्चार, सडकलगायतका पूर्वाधार नभएकाले पनि खोेजी कार्यमा अप्ठ्यारो छ । पछिल्ला दिनमा मौसमको न्युनचापीय प्रणालीका कारण यस क्षेत्रको मौसममा फेरबदल भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो याममा पश्चिमको न्यूनचापीय प्रणाली आउनु स्वभाविक भए पनि यसवर्ष छोटो छोटो समयमा यो प्रणाली देखिएको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । हिमाली क्षेत्रमा यही प्रणालीकै कारण हिमपात भइरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया