‘पुरातन संस्कृतिले नारीलाई मान्छे मान्दैन’

समाधान संवाददाता २०७६ माघ ८ गते १४:२०

समाधान संवाददाता
पोखरा

देशमा १ सदीमै अनेक राजनीतिक परिवर्तन भए पनि सांस्कृति भने रुढिग्रस्त नै रहेको औंल्याइएको छ । समाज, जाति, संस्कार र भूगोलपिच्छे फरक फरक खालका विकृति रहेकाले त्यसमा समय, युग र जीवनसापेक्ष परिवर्तन हुनुपर्नेमा उनीहरुले जोड दिए ।

रुपान्तरण अभियान कास्कीले आयोजना गरेको कार्यक्रमका वत्ताले यस्तो बताएका हुन् । वाम वुद्धिजीवी झलकपाणि तिवारीले नेपालको हिन्दु समाजमा विद्यमान १६ संस्कार कठिन अवस्थामा सघाउनेभन्दा थप पीडा दिने खालका भएको बताए । उनले भने, ‘संवेदनाको खास घडीमा फाइदा उठाउने माध्यम बनेका छन् हाम्रा संस्कार ।’ तिवारीले समाजलाई सहज र समृद्ध बनाउन समाजवाद चाहिने उल्लेख गर्दै नेपालको संस्कार, संस्कृति भने अझ भद्दा, खर्चिलो र अव्यवहारिक बन्दै गएको तर्क गरे ।

Advertisement

अनेक व्यवधान चिर्दै राजनीतिक आन्दोलनले लैंगिक समानता स्थापित गरे पनि संस्कारका कारण त्यो कानुनमै सिमित भएको उनको भनाइ छ । तिवारीले भने, ‘१६ संस्कारले नारीलाई कतै मान्छेको व्यवहार गरेको छैन । अझै बुझेका महिलाले पनि त्यसलाई त्याग्न सकेका छैनन् ।’ उनले सभ्यताको सुरुआती बेलामा केही थाहा नहुँदा मानिसले सर्वशक्तिमान प्रभु कल्पना गरेको तर्क गर्दै उनले विज्ञानले त्यस्ता भ्रम चिरिसकेको उल्लेख गरे ।

अर्का वक्ता रामराज रेग्मीले अहिलेका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्रीहरुले पूर्वराजाकै बिँडो थामेको आरोप लगाए । उनले नेपालमा पुँजीवाद आए पनि भौतिकवादी नआएको तर्क गरे । रेग्मीले भने, ‘नेताहरुले कुरै बुझेनन् । पूर्वराजाकै सिको गरी पशुपति दर्शन गर्न पो थाले । सामन्दवादलाई पछ्याए ।’

Advertisement

रेग्मीले रुपान्तरणकै कुरा गर्नेहरुको बोली र व्यवहारमा एकरुपता नभएकोमा असन्तुष्टि जनाए । भने, ‘बोल बम भन्नेहरु हाम्रा सांस्कृति रुपान्तरणका अगुवा छन् । राज्य सबैको हुनुपर्ने हो, अझै भएको छैन ।’ उनले जनयुद्धताका सुरु भएको सांस्कृतिक रुपान्तरण युद्ध समाप्तिपछि हराउन थालेकोमा चिन्ता जनाए ।

साहित्यकार डा कृष्णराज अधिकारीले वामपन्थी नेतृत्वको सरकारले पनि सांस्कृतिक रुपान्तरणका लाग केही कदम नचालेको गुनासो गरे । अधिकारीले भने, ‘संस्कृति सहज जीवनका लागि होइन, फाइदाका लागि प्रयोग विकृत बनाएर प्रयोग भइरहेको छ ।’

मंगलबार भएको कार्यक्रममा रुपान्तरण अभियानको घोषणापत्र पनि सार्वजनिक गरियो । २०७३ मा स्थापना भएको अभियानले सांस्कृतिक रुपान्तरणका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । घोषणापत्रमा जन्मदेखि मृत्युसम्मका संस्कार भिन्न, नवीन र प्रगतिशील तवरबाट गर्नेलाई सहयोग र प्रोत्साहन गर्ने उल्लेख छ । विकृत र उपभोक्तावादी संस्कृतिविरुद्ध छलफल चलाउँदै सभ्य समाज निर्माणमा योगदान गर्ने घोषणापत्रमा उल्लेख छ । अभियानले सबै परम्परागत संस्कार निषेधकारी नभएको जनाउँदै असल संस्कारलाई संरक्षण र विकृतलाई परिवर्तन गर्न सबैसँग आग्रहसमेत गरेको छ ।

सोही अवसरमा बाटुलीदेवी रानाभाटको प्रथम स्मृति दिवस पनि मनाइयो । अभियानका सदस्यसमेत रहेका बाटुलीका छोरा भीम रानाभाटले जन्म, मृत्यु, विवाह जस्ता संस्कारमा परिवर्तनका लागि समाज, राजनीतिको नेतृत्व गर्नेहरुले सुरुआत गर्नुपर्नेमा जोड दिए । भीमले आफ्ना आमाबाको मृत्युपछि परम्परागत तवरले काजकिरिजा गरेका थिएनन् ।

तपाईको प्रतिक्रिया