कोरोनाभाइरसः स्वरुप परिवर्तन गरेर मानिसबाट मानिसमा सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण

समाधान संवाददाता २०७६ माघ ८ गते १५:४७

बीबीसी

चीनमा देखा परेको नयाँ भाइरस स्वरूप परिवर्तन गरेर फैलन सक्ने चिनियाँ अधिकारीहरुले चेतावनी दिएका छन् । उक्त भाइरस फैलन नदिने प्रयास भइरहेका बेला चिनियाँ अधिकारीहरूले त्यस्तो चेतावनी दिएका हुन् ।

चिनियाँ सरकारका अनुसार उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । सङ्क्रमित हुनेको सङ्ख्या पनि ४४० पुगेको बताइएको छ ।

Advertisement

राष्ट्रिय स्वास्थ्य आयोगका एक अधिकारीले चीन रोकथाम र नियन्त्रणको ‘सबैभन्दा महत्त्वपूर्ण चरण’मा रहेको स्वीकार गरेका छन्।

श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरस पहिलो पटक आफ्नो भूमिमा फेला परेको अमेरिकाले पुष्टि गरेको छ । द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार पहिलो पटक चीनमा फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको हो ।

Advertisement

चीनको वुहान सहरबाट उक्त भाइरस फैलन सुरु भएको हो । एकजना पर्यटन व्यवसायीका अनुसार उत्तर कोरियाले पनि अस्थायी रूपमा विदेशी पर्यटकहरूका लागि आफ्नो देशको सीमा बन्द गरेको छ।

सीडीसीका अनुसार उक्त भाइरसबाट सङ्क्रमित अमेरिकी पुरुष गत ज्यानुअरी १५ तारिखमा वुहानबाट फर्केका थिए।

“ती बिरामी वासिङ्टनस्थित एउटा स्वास्थ्य सेवा केन्द्रमा उपचारका लागि पुगेका थिए,” विज्ञप्तिमा भनिएको छ, “उनले यात्रा गरेको स्थान र रोगको लक्षण हेरेपछि उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको अनुमान गरिएको थियो।”

त्यो भाइरसको सङ्क्रमण रहेको पुष्टि ज्यानुअरी २० तारिखमा भएको थियो।

गत हप्ता वुहानबाटै फर्किएका एक नेपाली विद्यार्थीलाई पनि भाइरसको सङ्क्रमण रहेको शङ्का गर्दै चिकित्सकहरूको निगरानीमा राखिएको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले जनाएको थियो।

के हो कोरोनाभाइरस?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो।

नयाँ प्रकारको कोरोनाभाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन। कोरोनाभाइरस जूनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो।

पहिचान भएका थुप्रै प्रकारका कोरोनाभाइरस जनावरहरूमा देखिए पनि मानिसहरूलाई तिनले सङ्क्रमित बनाएका छैनन्।

लक्षण के हुन्?

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरुमा ज्वरने आउनु, छिटाेछिटाे सास फेर्नु, श्वासप्रश्वासमा कठिनाइ हुनु हाे । सङक्रमण गम्भिर भएमा निमाेनिया पनि हुन सक्छ। र मिर्गाैलाले काम गर्न छाेड्छ र मृत्युसमेत हुन सक्छ ।

कसरी जोगिन सकिन्छ?

यो भाइरसको सङ्क्रमणबाट जोगिन विश्व स्वास्थ्य सङ्गठनले निम्न प्रकारका सुझाव दिएको छः

  • नियमित रूपमा हात सफा गर्ने
  • खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने
  • मासु र अण्डा राम्रोसँग पकाएर खाने
  • कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने


तपाईको प्रतिक्रिया