हेटौंडाका कृष्णलाई बुद्धिचाल प्रतियोगिताको उपाधि

समाधान संवाददाता
पोखरा
पोखरा महोत्वसका अवसरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौंडाका कृष्ण थापाले जितेका छन् । ५.५ अंक प्राप्त गर्दै थापाले उपाधि हात पारेका हुन् । उपाधिसँगै थापाले नगद २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । एसियन एमेच्योरसमेत रहेका थापा २०५६ देखि २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोस्रो स्थान हासिल गरेका थिए भने हाल इलामको गजुरमुखी चेस क्लबबाट चेस खेल्दै आएका छन् ।
प्रतियोगितामा ५ अंकसहित महेश्वर अधिकारी दोस्रो भए । उनले नगद १५ हजार, मेडल र प्रमाणपत्र हात पारे । बुद्धिराज शर्माले ४.५ अंकसहित तेस्रो स्थान हासिल गर्दै १० हजार, मेडल र प्रमाणपत्र हात पारे । अनील कोइराला ४ अंकसहित चौंथो स्थानमा रहे । उनले नगद ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे भने विनोद नाल्मीले ४ अंकसहित पाँचौ स्थान हासिल गर्दै २ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । बाँकी दशौं स्थानसम्म पर्न सफल सागर साई, विश्व पराजुली, युवराज भण्डारी, रामबहादुर क्षेत्री, वीरबहादुर परियारले जनही १ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
विजेतालाई पुरस्कार वितरण गर्दै युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले युनाइटेड क्लबले आफूले लिएको उद्देश्य अनुरुप खेल क्षेत्रसमेत समेटेर दशौं संस्करणको पोखरा महोत्सवमा बुद्धिचाल प्रतियोगिता आयोजना गरिएको बताए । प्रतियोगिताले नयाँ खेलाडी उत्पादनसँगै कास्की जिल्ला हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष शुक्र प्रधानले युनाइटेड क्लले सामाजिक कामसँगै खेलकुद क्षेत्रसमेत समेटेर बुद्धिचाल प्रतियोगिता आयोजना गरेकोमा खुसी व्यक्त गरे । उनले आगामी दिनमा युनाइटेड क्लबसँग सहकार्य गरी पोखरामा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगितासमेत आयोजना गरिने बताए । प्रतियोगितामा चिफ आर्विटर (मुख्य निर्णायक) श्याम सुन्दर ताम्राकार र आजीवन सदस्य एवं राष्ट्रिय आर्विटर (निर्णायक) नरेन्द्र रानाभाट थिए ।
महोत्सवको नवौं दिन बुधबार महोत्सवमा लोकदोहोरी गायिका ज्योति मगरको प्रस्तुतिमार्फत् दर्शकले भरपुर मनोरञ्जन लिए । ज्योतिसँगै जीवन दाहाल, माया गुरुङ, राजन कार्की, शंकर पन्त, ईश्वर सिंह, लक्ष्मी नेपाली, मधु चापागाईँ लगायतको प्रस्तुति रहेको थियो ।
विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा कास्की मोडर्नाइज्ड र बहादुरे मावि फाइनल चरणमा प्रवेश गरेका छन् ।
महोत्सवमा बिहीबार लोकदोहोरीतर्फ राजु परियार, चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, मन्जु विक, टेक क्षेत्री, अमर धिताल, रमा राना, पूजा गुरुङ, प्रकाश बराल, विनोद रामदाम लगायतको प्रस्तुति रहनेछ भने हाँस्य कलाकार राजा राजेन्द्रको हाँस्यव्यंग्य प्रस्तुति रहनेछ । साँझको लाइभ कन्सर्टतर्फ सबिन राई एन्ड फेरोह र स्थानीय आत्मसर्गको प्रस्तुति रहनेछ ।
तपाईको प्रतिक्रिया