भेट्रान एट ए साइडमा पहिलो चरण पूरा

समाधान संवाददाता २०७६ माघ ९ गते ११:५१

समाधान संवाददाता
पोखरा

रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट ए साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा पहिलो चरणका खेल सकिएका छन् ।

बुधबार भएको पहिलो खेलमा अभिषेक चर्च ललितपुरले फ्रिडम एफसी ललितपुरलाई २–० ले पाखा लगाएको छ । अभिषेकको जितका लागि शिवकुमार श्रेष्ठ र सुभाष आङ थुपोले समान १ गोल गरे ।

Advertisement

एबिसी पोखराले पश्चिम नवलपरासीलाई ३–० ले पराजित गरेको छ । एबिसीलाई सहज जित दिलाउन विजय गुरुङ, मनकाजी गुरुङ र पूर्णचन्द्र न्यौपानेले समान १ गोल गरे ।

जोरपाटी भेट्रान टिमले पश्चिम चितवनलाई २–० ले पराजित गरेको छ । जोरपाटीको जितका लागि कैलाश डंगोल नायक बने । उनी एक्लैले २ गोल गरे । किङकम काठमाडौंलाई काठमाडौंकै १ अर्को टिम नाइट किङ गौचरनले ३–१ ले पराजित गर्‍यो । नाइट किङका लागि हरिबहादुर महतोले २, मनु गौतमले १ र पराजित टिमका लागि सुबोध डंगोलले १ गोल फर्काए ।

Advertisement

पोखराको संगम एफसी भने चितवन भरतपुरसँग २–१ ले स्तब्ध बन्यो । जितका लागि रवीन्द्र श्रेष्ठ र भरत गुरुङले समान १ गोल गरे भने संगमका लागि पूर्णबहादुर गुरुङले १ गोल गरे । यता मिया सन मिया काठमाडांैका धनवीर चौधरीको १ मात्र गोलले बानेश्वर भेट्रान पराजित भएको छ । टि बर्गर ललितपुरले बुटवल भेट्रानलाई ३–० ले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । जितका लागि शुक्र तामाङले २ र कृष्ण मालाकारले १ गोल गरे ।

प्रतियोगिता अन्तरगत माघ ९ गते आयोजक बगर भाइ खलक सेतो र हेटौंडा भेट्रानबीच पहिलो खेल हुने प्राविधिक संयोजक खगेन्द्र गुरुङले बताए । भनिमण्डल ललितपुर र अभिषेक चर्च ललितपुरबीच दोस्रो, एक्स पोखरा र लेकसाइड भेट्रानकाबीच तेस्रो, हेटौंडा रातो र सानो गौचरन तथा अन्तिम खेल जोरपाटी भेट्रान र मिया सन मियाबीच हुनेछ ।

तपाईको प्रतिक्रिया