जोमसोम–कोरलाखण्डको ३ प्याकेज सम्पन्न

समाधान संवाददाता २०७६ माघ ९ गते १२:२९

उत्तरी कोरलानाका जोड्ने करिडोरलाई हस्तान्तरण भएको ताङ्वे–चैले ग्राभेल सडक । तस्बिरः एसके थकाली ।

एसके थकाली
जोमसोम

कालीगण्डकी करिडोर सडकको उत्तर दक्षिण जोड्ने बेनी–जोमसोम–कोरला १ सय १० किमी सडकको ७ प्याकेजमध्ये ३ प्याकेज सम्पन्न गरी करिडोरलाई हस्तान्तरण गरिएको छ । बाँकी ४ वटा प्याकेज पनि अन्तिम चरणमा छन् ।

Advertisement

जोमसोम–कोरला ३ प्याकेज सम्पन्न भइसक्दा औसत प्रगति ८५ प्रतिशत देखिएको करिडोरले जनाएको छ । करिडोरको उत्तरी कोरला नाकासँग सीमा जोडिएको छोसेर –कोरला २५ किमी, ताङ्बे–चैले ११ किमी र जोमसोम–ताङ्बे १८ किमी ग्राभेल सडक गरी ३ प्याकेज सकिएको हो । दिवा रौटाहा एपेक्स जेभी, दिवा डाँफे एपेक्स जेभी र बज्रगुरु खड्गकृष्ण जेभीले कोरलाको ३ वटा प्याकेज तोकिएकै समयमा पूरा गरेको आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सम्पन्न हुन बाँकी ४ प्याकेजको अवधि सकिएकाले म्याद थपको प्रक्रियामा छ ।

हालसम्म कञ्चनजंघा लामा मोतीदानको झैते–चराङ १९ किमी सडक ६८ प्रतिशत , सप्तकोशी जलाधार कन्ट्रक्सनले पछिल्लो समय जिम्मा लिएको चराङ–छोसेर २५ किमी सडक ५५ प्रतिशत र कञ्चनजंघा लामा बिरुवा जेभीको भेना–झैते १२ किमी सडकको ९५ प्रतिशत काम पूरा भएको करिडोरले जनाएको छ । उपल्लो मुस्ताङको भेना–झैते १२ किमी सडक अन्तिम चरणमा छ । सम्झौता अवधिमा सम्पन्न नभएका प्याकेजको चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी विभागमा म्याद थप प्रक्रिया अघि बढेको आयोजना प्रमुख अधिकारीले बताए । म्याद थप भएपछि फागुनदेखि सडकको कामले तीव्रता पाउने करिडोरको विश्वास छ ।

Advertisement

तेस्रो पटक सम्झौता अवधि सकिएको बेनी–जोमसोम ७६ किमी सडकखण्डको म्याद असारमा सकिँदै छ । बेनी–जोमसोम खण्डमा ४ वटा प्याकेज छन्, जसको औसत प्रगति ५५ प्रतिशत भएको जनाइएको छ । शर्मा युनाइटेडले म्याग्दीको राहुघाटदेखि तातोपानीसम्म ५३ प्रतिशत, शर्मा गजुरमुखी जेभीले तातोपानीदेखि मुस्ताङको कोवाङसम्मको २ प्याकेज ५२ प्रतिशत सम्पन्न गरेको छ भने सप्तकोशी जलाधार कन्ट्रक्सनले कोवाङ–जोमसोम ५५ प्रतिशत सकेको करिडोरको भनाइ छ ।

उत्तरी कोरलानाका जोड्ने लक्ष्यसहित सरकारले २०७३ असारदेखि आयोजना सुरु गरेको हो । आर्थिक वर्ष २०७४ असोजबाट जोमसोम–कोरला सडक सुरु भएको आयोजनाले बताएको छ । बेनी–जोमसोम ७६ किमी सडक २०७४ असारबाट सुरु भएको हो । राष्ट्रिय गौरवको बेनी–जोमसोम र जोमसोम–कोरला सडकलाई ६ अर्ब ५२ करोड विनियोजन भएको आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए । आर्थिक वर्ष ०७५÷०७६ सालमा बेनी–जोमसोम, जोमसोम कोरला सडकमा मालढुुंगा–बेनी सडक स्तरवृद्धि गर्न १० करोड विनियोजन भए पनि फ्रिज भएको आयोजनाले बताएको छ ।

बेनी–जोमसोम सडकखण्डमा बर्खायामको वर्षाले सडक निर्माणमा बाधा पुगेको छ । निर्माण कम्पनी र ठेकेदारको ढिलासुस्तीका कारण पनि अपेक्षाअनुसार सडकको प्रगति नभएको आयोजना प्रमुख अधिकारीले बताए । बेनी–जोमसोम खण्डको २ प्याकेज र जोमसोम–कोरला खण्डको २ प्याकेजमा ढिलासुस्ती भएको हो । उपल्लो मुस्ताङ जोड्ने जोमसोम–कोरला सडक नियमित काम भएको खण्डमा आगामी आर्थिक वर्ष कालोपत्रे गर्न योग्य हुने करिडोरको भनाइ छ ।

तपाईको प्रतिक्रिया