पाेखरामा फोटो पत्रकारबीच अनुभव आदानप्रदान

समाधान संवाददाता २०७६ माघ ९ गते १२:४७

समाधान संवाददाता
पोखरा

पाेखराका फोटो पत्रकार र अस्ट्रेलियाबाट पोखरा घुम्न आएका पत्रकारबीच अनुभव आदानप्रदान गरिएको छ । अस्ट्रेलियाका पत्रकार टोलीको स्वागतमा नेपाल फोटो पत्रकार संघ कास्कीले पोखरामा बुधबार आयोजना गरेको छलफलमा २ देशको फोटो पत्रकारिताको अवस्था र चुनौतीबारे छलफलसहित अनुभव आदानप्रदान भएको हो ।

उनीहरुले पोखराको विभिन्न ठाउँको भ्रमणको क्रममा खिचेका तस्बिर अस्ट्रेलियाका सञ्चार माध्यममा स्थान दिइने बताए । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्दै आफ्ना नागरिकलाई नेपाल घुम्न जान प्रेरित गर्ने जेसिका पविनले बताइन् । उनले पोखरा आफूलाई निकै राम्रो लागेको र यहाँका तस्बिर संकलन गरेको सुनाइनत् । अर्का फोटो पत्रकार चन्तल रोबर्टस्ले भोलिका दिनमा २ देशबीचका फोटो पत्रकारबीच फोटो र प्रविधिबारे छलफल गर्ने बताइन् ।

Advertisement

नेपाल फोटो पत्रकार संघ कास्की अध्यक्ष प्रदीप पौडेलले यसप्रकारको कार्यक्रमले क्यामरासँगै विकसित प्रविधिबारे बुझ्न सहज भएको बताए ।

नेपाल फोटो पत्रकार महासंघ गण्डकी अध्यक्ष राम गुरुङले फोटोको महत्व जहाँतहीँ रहेको बताए ।
महासंघ गण्डकी सचिव कृष्णमणि बरालले नेपालको फोटो पत्रकारिताका समस्या र चुनौतीबारे प्रष्ट्याएका थिए । पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष अशोक पालिखेले व्यवस्थापन गरेको कार्यक्रममा संघ कास्कीका सल्लाहकार सुदर्शन रञ्जित, उपाध्यक्ष नारायण आचार्य, सचिव दुर्गाप्रसाद पौडेल, सहसचिव उमेश पुन, कोषाध्यक्ष सुरज श्रेष्ठ लगायत बोलेका थिए ।

Advertisement

अस्ट्रेलियाबाट २ साताअघि विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी २२ सदस्यीय टोली नेपाल आएको थियो । टोलीले बन्दीपुरमा हेल्थ क्याम्प, पोखराका स्कुलमा स्टेसनरी सामान वितरण गरेको थियो । टोलीले फेवाताल, बेगनास, सराङकोट लगायत यहाँका पर्यटकीयस्थल अवलोकन गरेको हो ।

तपाईको प्रतिक्रिया