राजीव गुरुङलाई सांसदको हैसियतले काम गर्न कानुनी बन्देज

समाधान संवाददाता २०७६ माघ १० गते १२:१३

सुरेशराज अधिकारी
पोखरा

संसदको हिउँदे अधिवेशन चलिरहेका बेला गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) बिहीबार पक्राउ परेका छन् । अधिवेशन आह्वान भएपछि अन्त्य नभएसम्म सांसदलाई सामान्यतया पक्राउ गर्न पाँइँदैन । फौजदारी अभियोगमा कुनै सदस्यलाई कानुन बमोजिम पक्राउ गर्न भने कानुनी बन्देज छैन । संविधानको धारा १८७ को उपधारा ६ टेकेर कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।

संसद अधिवेशन चलिरहेका बेला सांसद पक्राउ गरेको खबर तत्काल प्रदेश सभालाई दिनुपर्ने प्रावधान अनुसार कास्की प्रहरीले तत्काल सभामुखलाई जानकारी गराइसकिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । प्रहरी हिरासतमा रहेको अवस्थामा राजीवले प्रदेश सभाको सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राउने छैनन् । गण्डकी प्रदेश सभा नियमावली २०७४ को नियम २०५ यो बारेमा प्रष्ट्याएको छ ।

Advertisement

राष्ट्रिय सभाको निर्वाचन बिहीबार बिहान १० बजेदेखि कास्की निर्वाचन कार्यालयमा जारी थियो । सांसद राजीव बिहीबार बिहान ११ बजे राष्ट्रिय सभा सदस्यलाई मत दिन जिल्ला निर्वाचन कार्यालय कास्की पुगेका थिए । अनौपचारिक पोसाकमा पुगेका उनलाई देख्नेहरु अचम्म मानिरहेका थिए । कारण, उनले पोखराकै भण्डारढिकमा मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मीलन गुरुङलाई झापड हानेर चर्चामा थिए ।

झापड प्रकरण बुधबार मीलनले मनाङे विरुद्ध कास्की प्रहरीमा जाहेरी दिने पत्रकार सम्मेलन गरेरै घोषणा गरे । सोही दिन दिउँसो जिरो किलोमिटरस्थित न्यू एरा पार्टी प्यालेसमा निर्वाचन सम्बन्धी प्रशिक्षणका लागि प्रदेश पार्टी कमिटीले भेला बोलाएको थियो । उक्त भेलामा उपस्थित भएका मनाङेले त्यहीँ ४ बजे पत्रकार सम्मेलन गरेर एन्फा अध्यक्ष मीलनलाई झापड हानेको स्वीकारे । ‘जाहेरी दिएर केही हुन्न, उसलाई नै ५० वटा मुद्दा हाल्दिन्छु’ भन्दाभन्दै उता मीलनले कास्की प्रहरीमा जाहेरी दर्ता गरिसकेका थिए ।

Advertisement

जाहेरी दर्तापछि प्रहरीले के गर्छ कसो गर्छ भन्दाभन्दै बिहीबार सांसद मनाङेलाई पक्राउ पुर्जी जारी हुने नहुनेबारे दिनभर जसो चर्चा र चासो चलि नै रह्यो । त्यहीँ क्रममा ११ बजे उनी मतदान गर्न जिल्ला निर्वाचन कार्यालयमा पुगे । मतदान गरिसके पछि मनाङेलाई केही समय त्यहीँ वरिपरि गफिन रहर हुँदाहुँदै एउटा सूचना पुग्यो, ‘तपाईं आएको बाटो नआउनु, एयरपोर्टको बाटो निस्कनु,’ उनका सहयोगीले पुर्‍याएको जानकारी कानमा पर्ना साथ उनी केहीबेरमा निर्वाचन कार्यालयबाट बाहिरिए । प्रहरीको कडा सुरक्षा देखेर उनले पक्राउ पुर्जी जारी भइसकेको शंका पाएका थिए । उनले मतदान केन्द्रमा आधा घन्टा मात्र बिताए । निर्वाचन कार्यालय जाँदा पर्यटन बसपार्क हुँदै गएका मनाङे फर्किदा पत्रकार महासंघको भवनलाई दाहिने पारेर निस्कए । यति एअरलाइन्सको अफिस अगाडिबाट उनलाई आफ्नै सवारीले पिकअप गर्‍यो ।

उता कास्की प्रहरी प्रमुख दानबहादुर कार्की र सिडिओ रमेशकुमार केसीबीच छलफल चलिरहेको थियो । पक्राउ पुर्जी जारी नहुँदै राजीवले जिल्ला छाड्छन् भन्ने हल्ला सुनिएपछि प्रहरी निगरानी बढाइएको थियो । राजीव २ नबज्दै लेकसाइडको होटल प्याराडाइज पुगे । स्रोत भन्छ, ‘प्रहरीले निगरानी गरेकै कारण कास्की बाहिरिने सम्भावना नदेखेर राजीव होटलमा बसेका थिए ।’ कास्कीका सिडिओ केसीले सांसद राजीवलाई दिउँसो ३ बजे पक्राउ अनुमति दिए । पक्राउ पुर्जी जारी भएको आधा घन्टा बित्दा नबित्दै लेकसाइडस्थित होटल प्याराडाइज इन्बाट प्रहरी निरीक्षक दीपक केसी नेतृत्व टोलीले उनलाई नियन्त्रणमा लियो । उनलाई सिधै जिल्ला प्रहरी कार्यालय पुर्‍याइयो ।

कास्कीका एसपी कार्कीले भने, ‘अस्तिको घटनामा मीलन गुरुङ समेतका व्यक्तिहरुले उहाँ विरुद्ध उजुरी दिएपछि कानुन बमोजिमको आदेश लिएर पक्राउ गरिएको हो,’ उनले भने । पक्राउलगत्तै प्रहरीले उनीसँग सामान्य सोधपुछ गरेको छ । शुक्रबार म्याद थप गरी अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।

सांसद राजीव उनीविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीत कसुर गरेको आरोप छ । सार्वजनिक स्थानमा बल प्रयोग गरी अभद्रपूर्ण व्यवहार गरेको आरोपमा उनीमाथि कारवाही माग गरिएको छ । उक्त कसुरमा १ वर्ष सम्म कैद सजाय र १० हजार रुपैयाँ जरिवाना वा दुवै हुने सजाय हुने व्यवस्था छ ।

‘नेपालको कानुन नै ठीक छैन’
सांसद राजीव गुरुङले गल्ती नगरेकोलाई पनि नियन्त्रणमा लिएर प्रहरीले गलत गरेको प्रतिक्रिया दिए । नेपालको कानुन नै यस्तो भएकाले गल्ती नगरी पक्राउ गरिने उनको भनाइ थियो । ‘पहिला अनुसन्धान गरेर पक्राउ गनुपर्ने हो,’ सांसद राजीवले भने, ‘विदेशमा पक्राउ गरेर अनुसन्धान गरिन्छ नेपाल विदेशमा जस्तो हुँदैन ।’ साचो बोल्ने पक्राउ परेको ठगी गर्ने मान्छे बाहिर रहेको उनको भनाइ थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मीलन गुरुङका विरुद्ध अब आफूले पनि ठगीको जाहेरी दिने उनले बताए । ‘चिनेजानेको केटा भनेर म मुद्दामा गइनँ, १÷२ पटक झापड हान्नु सामान्य कुरा हो,’ उनले भने ।

तपाईको प्रतिक्रिया