मनाङेका उजुरीकर्ता मीलन गुरुङः आफैं बैंक, आफैं खाता, आफैं चेक !

समाधान संवाददाता २०७६ माघ १० गते १३:४६

विकास रोकामगर
पोखरा

प्रदेश सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ कास्की अध्यक्ष मीलन गुरुङमाथि मंगलबार हातपात गरे । पोखरा भण्डारढिकमा जारी पहिलो मुख्यमन्त्री कपमा खेलाडीलाई वेवास्ता गरेको र कमजोर व्यवस्थापनसहित मुख्यमन्त्रीकै बेइज्जत गरेको आरोप लगाउँदै सांसद गुरुङ मैदानमै मीलनमाथि जाइलागेका हुन् ।

मैदानमै आफूलाई झापड हानेको भन्दै एन्फा अध्यक्ष मीलनले जिल्ला प्रहरी कार्यालयमा बुधबार फौजदारी मुद्दा जाहेरी दर्ता गरेका छन् । उनले जाहेरी दर्ता गरेको भोलिपल्ट बिहीबार लेकसाइडमा रहेको होटल प्याराडाइजबाट सादा पोसाकमा खटिएका प्रहरीले मनाङेलाई पक्राउ गरिसकेको छ तर जाहेरीकर्ता मीलनसमेत विवादित छन् ।

Advertisement

०७४ माघ २ मा मीलन एन्फा कास्की अध्यक्ष निर्वाचित भएका थिए । हाल उनी गण्डकी प्रदेश एन्फा उपाध्यक्ष र जारी मुख्यमन्त्री कपको कोषाध्यक्षसमेत हुन् । अपशब्दसहित मैदानमा उत्रिने र भनेको नमान्दा हातै हाल्ने उनको बानीबाट एन्फा पदाधिकारीसमेत आजित छन् ।

‘उहाँको यो पुरानो बानी हो । अध्यक्ष भएर पनि सबै कारोबार आफैं गर्न खोज्नुहुन्छ, हामी त निष्क्रियजस्तै हो,’ एन्फा कास्कीकै १ पदाधिकारीले भने, ‘उहाँ आफैं बैंक, आफैं खाता, आफैं चेक हो । व्यक्तित्वबारे त हावा नचली कहाँ पात हल्लिन्छ र ?’ उनले कार्यक्रम गर्ने तर, पैसा समयमै भुक्तानी नगर्दा एन्फा कास्कीकै साख गिरेको दाबी गरे ।

Advertisement

पोखरामा भइरहेको मुख्यमन्त्री कप ४ गतेबाट हुने तय भए पनि बिना जानकारी ७ गते सारेको र टाइसिट बनाउँदासमेत कुनै पनि जिल्लाका प्रतिनिधिलाई नबोलाएको आरोप मीलनमाथि छ । सोही आरोपमा सांसद राजीवले मुक्का प्रहार गरेका हुन् ।

व्यवसायीलाई मुक्का, ढुंगा !
सांसद मनाङेको झापड खाएको २ दिनअघिमात्रै मीलनले पोखराका १ व्यवसायीले बक्यौता रकम माग गर्दा हातपात गरेका थिए । पोखरा नयाँबजारस्थित पोखरा क्रियटिभ अवार्ड हाउस सञ्चालक रामकृष्ण पौडेलले १ वर्षअघि एन्फा कास्कीले गरेको मनकामना केबलकार कपमा बाँकी रहेको रकम माग गर्दा हातपातमात्रै होइन, ढुंगा प्रहार गर्न खोजेको भिडियो सार्वजनिक भएको थियो ।

भिडियोमा उनले पहिले पसल सञ्चालक पौडेललाई धक्काउँदै ढुंगा प्रहार गर्न खोज्दा तेस्रो व्यक्तिले रोकेको देखिन्छ । पसलमै आएर आफूमाथि हातपात गरेपछि पौडेलले जिल्ला प्रहरी कार्यालय कास्कीमा ठाडो उजुरी दिइसकेका छन् । आफूविरुद्ध उजुरी परेको भोलिपल्टै उनले सांसद मनाङेविरुद्ध फौजदारी जाहेरी दिएका हुन् । पौडेलले एन्फाबाट १२ लाख रुपैयाँ बक्यौतामध्ये १० लाख रुपैयाँ लिन बाँकी रहेको बताए ।

सांसदसँग झगडा, स्वयंसेवकलाई अपशब्द !
१३ औं साग अन्तर्गत पोखरामा भएका खेलमा साग स्थानीय व्यवस्थापन समिति सदस्य तथा गण्डकी प्रदेश विधायन समिति सभापतिसमेत रहेका मोहन रेग्मीसँग उनले रंगशालामै झगडा गरेका थिए । उनले त्यतिबेला सांसद रेग्मीलाई देखाउँदै आफूलाई कुकुरको हड्डी सम्झेको भन्दै जंगिएका थिए । ‘हामीलाई कुकुरको हड्डी सम्झेको हो ?’, उनले सांसद रेग्मीसँग झगडा गर्दै भनेका थिए, ‘हाम्रो यहाँ काम छैन ? तपाईं यहाँ बढार्न सक्नुहुन्छ ? ल कुच्चो लगाउनुस् ।’

विवाद बढ्दै गएपछि रोक्न प्रहरीले अग्रसरता लिनुपरेको थियो । सागमा खटिएका स्वयंसेवकमाथि अपशब्द बोल्दै उनले दुव्र्यवहार गरेको घटनासमेत बाहिरिएको थियो ।

हिसाबकिताब हिनामिना, १ वर्षसम्म रकम बक्यौता !
गत माघ २७ गते सकिएको मनकामना कपको पुरस्कारसमेत उधारो भएको भन्दै एन्फा कास्कीको चर्को आलोचना भयो । खेल सकिएको ४ महिनासम्म पुरस्कार पूरा नपाएपछि विजेता र उपविजेताले मिडिया गुहारे । बल्ल एन्फाले पुरस्कार रकम दियो । एन्फा कास्की तथा मनकामना कपको हिसाबकिताब हिनामिना गरेको आरोप पनि उनीमाथि छ ।

गत वर्ष भएको पोखरा मनकामना केबुलकार कपका बेला एन्फाले आवासका लागि प्रयोग गरेका होटल तथा भौतिक पूर्वाधार प्रयोग गरेवापत तिर्नुपर्ने रकम अझै नतिरेको होटल सञ्चालकहरुले बताउन थालेका छन् । बुधबार पोखरामा सांसद दीपक गुरुङसमेत पत्रकार सम्मेलनमै मीलनले दिएको बाउन्स चेकको नमुना लिएर उपस्थित भएका थिए ।

गुण्डा शैलीमा आक्रामक रुपमा उपस्थित हुने मीलन गुरुङ बुधबारको पत्रकार सम्मेलनमा पनि ‘मीलन गुरुङलाई कसैले केही गर्दैन’ भन्दै आएका थिए । ‘राजीवविरुद्ध उजुरी दिनुहुन्छ त’ भन्ने सञ्चारकर्मीको प्रश्नमा पनि उनले भनेका थिए, ‘मीलन गुरुङ पछि हट्दैन । जहाँ जानुपरे पनि जान्छु । त्यसलाई (मनाङे) लाई हान्न नसक्ने हो र ? सांसद भनेर पो मान दिएको हो ।’

१५ दिनमा पैसा दिन्छु भन्नुभा’छः व्यवसायी
मीलन गुरुङबाट पीडित १ व्यवसायीले एन्फा कास्की अध्यक्ष मीलन र प्रशिक्षक कृष्ण थापाले २ हप्ताभित्र बक्यौता रकम दिने बाचा गरेको बताएका छन् । ‘यो कुरा मिडियामा नल्याइदिनुस्, तपाईंको पैसा आउनेबित्तिकै फस्ट लटमा दिन्छौं भन्नुभा’छ,’ नाम नबताउने सर्तमा ती व्यवसायीले भने, ‘१५ दिनसम्म कुर्छु । त्यसपछि पनि बाँकी रहेको पैसा पाइनँ भने कानुनी रुपमै जान्छु ।’ उनले एन्फाबाट करिब २ लाख रुपैयाँ पाउन बाँकी रहेको सुनाए । एन्फाले बक्यौता राखेका अन्य व्यवसायी भने उनीविरुद्ध बोल्न हच्किचाए । ‘भोलि पैसा उहाँबाटै ल्याउने हो । आज बोलेर तलमाथि भयो भने के गर्ने ?।’ उनीहरुले प्रश्न गरे, ‘विस्तारै दिन्छु भन्नु भएको छ । दिनुहोला नि !’

तपाईको प्रतिक्रिया