विषादी प्रयोग मुक्त सप्ताह सुरु

समाधान संवाददाता २०७६ माघ १० गते १४:०४

समाधान संवाददाता
पोखरा

Advertisement

गण्डकी प्रदेशमा पहिलोपटक विषादी प्रयोग मुक्त सप्ताह सुरु भएको छ । ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने नारासहित बिहीबारदेखि बाली संरक्षण प्रयोगशालाको आयोजनामा सप्ताह मनाउन लागिएको हो ।

पहिलो दिन सरोकारवाला सम्मिलित जनचेतनामूलक ¥याली निकालियो । ‘विषादी विष हो, औषधी होइन, अनावश्यक रुपमा विषादी प्रयोग नगरौँ, विषादीको प्रयोगबाट बचौँ’ लगायतका सन्देशमूलक प्लेकार्डसहितको ¥याली पोखराको विरौटा, मुस्ताङचोक, ड्यामसाइड हुँदै प्रयोगशाला परिसरमा पुगेको थियो । खाद्य उत्पादनमा प्रयोग गरिने विषादीले मानव स्वास्थ्य तथा वातावरणमा समेत समस्या निम्त्याउने भएकाले यसको कमभन्दा कम प्रयोग तथा नकारात्मक असरबारे चेतना जगाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम गर्न लागिएको निर्देशनालयका प्रमुख एवं बाली संरक्षण अधिकृत सुष्मा मरहठ्ठा बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले विषादी मुक्त कृषि उत्पादनका लागि सर्वप्रथम कृषक नै जिम्मेवार हुने भएकाले उत्पादन वृद्धि गर्नका लागि अनावश्यक विषादी प्रयोग गर्न नहुने बताए । कृषि उत्पादनमा आवश्यक र ठीक ढंगले मात्र विषादी प्रयोग गरिनुपर्नेमा जोड दिँदै मन्त्री थापाले प्रांगारिक खेतीमा जोड दिनुपर्ने खाँचो औँल्याए ।

मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालले नेपालमा बर्सेनि ८० करोडको ६ सय ३० मेट्रिक टन विषादी भारत र चीनबाट आयात हुने गरेको तथ्यांक प्रस्तुत गरे । २४ प्रकारका विषादी नेपालमा प्रतिवन्ध गरिएको उनले बताए । उत्पादनमा विषादीको मात्रा मिलाउन र विषादी छरेपछि कति दिनपछि त्यसलाई टिप्ने भन्ने कृषकलाई सिकाउनु आवश्य रहेकोमा उनको भनाइ छ ।

Advertisement

कृषि विकास निर्देशनालयका निर्देशक नीलकण्ठ पोखरेलले न्यूनतम विषादी प्रयोगबाट उत्पादन वृद्धिका बारेमा खोजीनीति हुनुपर्ने र प्रांगारिक मल तथा आइपिएम प्रविधि अनुसरण गर्नुपर्नेमा जोड दिए । कारितास नेपालका तेजबहादुर बस्नेतले उत्पादनमा विषादी मुक्त बनाउने सरकारी अभियानलाई साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया