भोक र गरीबीले जाडो भन्दैन

समाधान संवाददाता २०७६ माघ १० गते १४:१०

एसके थकाली
मुस्ताङ

हिउँद सुरु भएसँगै मुस्ताङमा जाडो बढेको छ । बाक्लो हिमपातसमेत भएको छ । जिल्लाका अधिकांश स्थानीय जाडो छल्न बेंसी झरेकाले बर्खायाम जस्तो मुस्ताङ गुल्जार छैन । मुस्ताङ भ्रमण गर्ने पर्यटक पनि एकाध छन् ।

शैक्षिक संस्था पूरै बन्द छन् भने जिल्लाका सरकारी कार्यालयमा कर्मचारी र सेवाग्राही भेटिँदैनन् । चिसोले नियमित खेतीपाती तथा विकास पूर्वाधारका कामसमेत ठप्प छन् । जोमसोमको जनहित माध्यमिक विद्यालयको उत्तरतर्फ सय मिटर पर ठूलो पहाडको फेदमुनि भने महिलाहरु व्यस्त छन् । करिब २ दर्जन महिलालाई गिट्टी कुट्न जाडोले छेकेन । उनीहरुसँग स्कुले साना बालबालिकासमेत गिट्टी कुट्दै छन् ।

Advertisement

बर्खायाममा मेलापातमा ज्याला, मजदुरी गर्ने मजदुर हिउँदमा भने अन्य काम नपाएपछि गिट्टी कुट्न खटिएका हुन् । खेतबारी कमाउने, दैनिक ज्याला, मजदुरी गर्ने र विकास, निर्माणका काममा मजदुरी गरी हातमुख जार्नु उनीहरुको दैनिकी हो ।

जोमसोम बजारमा अग्लो चट्टाने भीर छ, जहाँ चिसो सहदै गिट्टी कुट्ने महिला मजदुरका फरक फरक दुखका कथा छन् । बुटवलबाट ३ वर्षअघि ५ जनाको परिवारसहित जोमसोम आएकी देवी घर्तीको कथा बेग्लै छ । बुटबलमा ज्यादै गर्मी हुने भएकाले गर्मी थेग्न मुस्ताङ आएको उनले सुनाइन् । उनी भन्छिन्, ‘दिनभर पसिना नबगाए हातमुख जोड्न धौधौ हुन्छ, २ छाक खान र १ सरो लाउन काम त गर्नै प¥यो ।’ उनका छोराहरु भने ग्यारेज र पसलमा काम गर्छन् ।

Advertisement

मुस्ताङ अन्नपूर्ण संरक्षित क्षेत्र अन्तर्गत पर्छ । यहाँका प्राकृतिक सम्पदामा एक्यापको बैग्लै नियम छ । स्थानीयको घर र टहरा निर्माण गर्न ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्न एक्याप र स्थानीय संरक्षण व्यवस्थापन समितिको अनुमति लिनुपर्छ । यसबारे न त उनीहरुलाई न ज्ञान छ, त अनुमति नै लिएका छन् । मजदुरले बर्सेनि पहाड उत्खनन् गरी गिट्टी निकाल्ने गरेको एक्यापले देखे पनि रोक लगाएको छैन ।

बागलुङ बुर्तिवाङका प्रेम परियार पनि ज्यामी काम गर्छन् । गिट्टी कुट्दा अनुमति लिनुपर्ने थाहा नभएको र कसैले नभनेको उनी बताउँछन् । परियार दम्पतीले गिट्टी कुट्न थालेको ३ वर्ष भएछ । उनले गिट्टी कुटेरै हिउँदको गुजारा चलेको सुनाए । हिउँद यामको ३ महिना गिट्टी कुटेर समय बिताउने र अन्य समय अरुको काम गर्नु उनको बाध्यता हो । परियार दम्पतीले हरेक हप्ता १ ट्याक्टर गिट्टी संकलन गरी ५ हजार आम्दानी गर्छन् ।

बागलुङ मिसीकी जानकी बुढामगर पनि मुस्ताङमा ज्याला, मजदुरी गर्न आएकी हुन् । चिसो भए पनि गुजारा चलाउने बाध्यता रहेको उनी बताउँछिन् । भोको पेटले चिसो र गर्मी नभन्ने र बालबच्चा पढाउन र जीवन निर्वाह गर्न गिट्टी कुट्नैपर्ने उनले सुनाइन् । उनी बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म गिट्टी कुट्छिन् । जोमसोममा गिट्टी कुट्न केही बालबालिका पनि अभिभावकसँगै खटिएका छन् । स्कुल बिदा भएपछि अभिभावकसँगै गिट्टी कुट्न आएको बागलुङकी ९ वर्षीया बालिका कल्पना विकले बताइन् । कानुनले १८ वर्षमुनिका बालबालिकालाई कुनै पनि जटिल काममा लगाउनु अपराध मान्छ । तर उनका अभिभावकलाई बालबालिकालाई यस्तो काममा लगाउन हुन्न भन्ने थाहै छैन ।

तपाईको प्रतिक्रिया