स्याङ्जामा ५८ करोडको सुन्तला उत्पादन

समाधान संवाददाता २०७६ माघ १० गते १४:२२

अर्जुन काफ्ले
स्याङ्जा

सुन्तला सुपर जोन जिल्ला स्याङ्जामा आर्थिक वर्ष ०७६÷०७७ मा ५७ करोड ९८ लाख ४० हजार रुपैयाँको सुन्तला उत्पादन भएको छ । यस आवमा ११ करोड १७ लाख १० हजार ९ सय ७६ रुपैयाँको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम अधिकारीले बताए ।

अन्य ठाउँको तुलनामा मीठो र राम्रो फल दिँदै आएको केन्द्र प्रमुख अधिकारीले सुन्तलाको बजारसमेत राम्रो रहेको बताए । स्याङ्जामा १ हजार ९ सय ९० हेक्टरमा सुन्तला बगैंचा रहे पनि उत्पादन भएको १ हजार १ सय ९४ हेक्टर क्षेत्रफलमा १२ हजार ८० मेट सुन्तला उत्पादन भएको उनले जानकारी दिए । गत आर्थिक वर्षमा १४ हजार ६ सय २९ टन सुन्तला उत्पादन हँुदै ४६ करोड ८१ लाख २९ हजार २४ रुपैयाँको कारोबार भएको थियो ।

Advertisement

गत आर्थिक वर्षभन्दा कम सुन्तला उत्पादन भए पनि बजारमा प्रति केजी मूल्य धेरै पर्दा सुन्तलाले मूल्य पाएको हो । सुन्तला सुपरजोन स्याङ्जामा सुपरजोनको कार्य क्षेत्रमा ३८ करोड २१ लाख ४१ हजार ४ सय ४० रुपैयाँको सुन्तला फलेको थियो भने बाँकी कृषि ज्ञान केन्द्रले हेर्ने क्षेत्रमा फलेको हो ।

यहाँको पुतली बजार १, २, ३, ४, ७, १०, ११, १३ र १४, भीरकोट १, २, ३, ६, ७ र ८, अर्जुन चौपारी १ र २, वालिङ ४ सुन्तला सुपर जोनको क्षेत्र मानिन्छ । जिल्लाका अन्य क्षेत्रमा कृषि ज्ञान केन्द्रले हेर्दै आएको छ ।

Advertisement

सुपरजोन क्षेत्रमा पुतलीबजारमा २० करोड ४३ लाख ४५ हजार ६ सय, भीरकोटमा ९ करोड ५८ लाख २८ हजार ६ सय ४०, अर्जुन चौपारीमा ४ करोड १२ लाख ९१ हजार ४०, वानपामा ४ करोड २२ लाख ४६ हजार ७ सय २० रुपैयाँको सुन्तला उत्पादन भएको थियो । सुपर जोनले १ हजार ३ सय ४६ दशमलव २७ हेक्टर र ज्ञान केन्द्रले ६ सय ४३ दशमलव ७३ हेक्टरमा हेर्ने सुन्तला सुपर जोनका प्रमुख मदन कुवँरले बताए । ११ हजार ४ सय ५६ घरधुरी किसानले सुन्तला उत्पादनमा सक्रिय छन् । स्थानीयरुपमा २ हजार ९ सय साना ठूला बगैंचा र ५ लाख ९७ हजार बिरुवा रोपण गरिएको छ ।

स्याङ्जामा उत्पादन भएको सुन्तला मध्ये २० प्रतिशत जिल्लाभित्रै खपत हुने गरेको छ भने बाँकी सुन्तला पोखरा, बुटवल, नारायणगढ र काठमाडौंमा बिक्री हुँदै आएको छ । स्थानीय किसानले सुन्तलाबाट १ वर्षमा ५० हजारदेखि २२ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । भीरकोट ६ का मीनप्रसाद कोइरालाले १३ लाख, पुतली बजार नगरपालिका ११ का बोधराज अर्यालले १९ लाख, अर्जुन चौपारी २ का फणिनारायण अर्यालले २२ लाख रुपैयाँको सुन्तला उत्पादन गरेका थिए ।

२५ रुपैयाँ प्रतिकिलो कात्तिकबाट बिक्री गरिएको बताउँदै कृषि ज्ञान केन्द्र अधिकारीले डेढ सय रुपैयाँसम्म बिक्री भएको जानकारी दिए । उनले औषतमा ४८ रुपैयाँ किसानले प्राप्त गरेको बताए । जिल्लामा राम्रो उत्पादन हुने धेरै ठाउँ सुन्तला सुपर जोनमा नराखिएको बताउँदै अर्जुन चौपारी ३ का भूमिदत्त काफ्लेले सामान्य उत्पादन हुनेलाई सुपर जोनमा राख्दा करोड बराबरको सुन्तला उत्पादन हुने गाउँ नपरेको गुनासो गरे । उनले सुपर जोनमा केही क्षेत्रमात्र परेकाले पहँुच पुग्ने गाउँ र वडा नहेरी जिल्लाका सबै क्षेत्रलाई सुन्तला सुपरजोनमा समेट्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया