पाेखरा महाेत्सवमा प्यानल हाउस बुझ्दै दर्शक

समाधान संवाददाता २०७६ माघ १० गते १४:२७

समाधान संवाददाता
पोखरा

पोखराको अमरसिंहचौरमा जारी पोखरा महोत्सवमा राखिएको कोरियन प्रविधिबाट निर्मित प्यानल हाउसका बारेमा बुझ्ने दर्शकको भीड लागेको छ । सानो जग्गामा थोरै खर्चमा निर्माण गर्न सकिने प्यानल हाउसबारे दर्शक उत्सुक देखिए ।

यो कोरियन प्रविधिबाट १ आना जग्गामा समेत २ कोठा भएको घर सजिलै बनाउन सकिन्छ । प्रति स्क्वायर फुट २ हजारको दरले निर्माण गर्न सकिने भएकाले महोत्सवमा आउने दर्शकले कोरियन प्यानल हाउस मन पराएको साइ प्यानल नेपाल पोखरा शाखा सारु ट्रेडिङका बजार व्यवस्थापक राजु थापाले बताए ।

Advertisement

मुख्य कार्यालय चितवनमा रहेको साई प्यानल नेपालले २ वर्षदखि गण्डकी प्रदेशमा काम गर्दै आएको छ । अहिले १५ भन्दा बढी ठाउँमा कोरियन प्यानल हाउस निर्माण गरिसकेको थापाले बताए । प्यानल हाउस भूकम्प प्रतिरोधी भवन निर्माणका लागि उत्कृष्ट, चिसो तातो मुक्त, अत्यन्तै कम वजन भएकाले निर्माण र व्यवस्थापनमा सहज, कम आर्थिक भार, चलन चल्तीका निर्माण सामग्री जस्तै टिकाउ, उच्च गुणस्तरको कोरियन कच्चा पदार्थबाट उत्पादित, रङरोगन गर्नु नपर्ने खालको छ ।

जडानका लागि सहज, आवश्यकता अनुसार लामो बनाउन सकिने वातावरण मैत्री, साउन्ड प्रुफ, आगो प्रतिरोधात्मक, ५ देखि ६ हप्तामा घरमा बस्नेगरी तयार हुने खालको छ । यो सजिलै जडान गर्न र फुकालेर अन्यत्र लैजान पनि सकिन्छ । महोत्सवमा औधोगिक क्षेत्रमा उत्पादित औद्योगिक सामग्रीका बारेमा समेत दर्शकले जानकारी लिएका छन् ।

Advertisement

महोत्सवमा दर्शकको घुइचो बढ्दै गएको आयोजकले जनाएको छ । पोखरा क्षेत्रमा यो सिजनको अन्तिम महोत्सव भएकाले पनि दर्शकको चाप देखिएको हो । बिहीबार लोकदोहोरी गायक राजु परियारले दर्शकलाई मनोरञ्जन दिए । महोत्सवमा चोलेन्द्र पौडेल, सुरेन्द्र गुरुङ, मञ्जु विक, टेक क्षेत्री, अमर धिताल, रमा राना, पूजा गुरुङ, प्रकाश बराल, विनोद रामदाम लगायतले लोकदोहोरी प्रस्तुति राखे । हास्य कलाकार राजा राजेन्द्रको हास्यव्यंग्य र लाइभ कन्सर्टमा सविन राइ एन्ड फारोह र स्थानीय आत्मसर्गको प्रस्तुति रह्यो ।

शुक्रबार लोकदोहोरीतर्फ पशुपति शर्मा, प्रजापति पराजुली, सरला पाण्डे, राजन कार्की, राजेन्द्र सापकोटा, तुलसा क्षेत्री, निशा पौडेल, रमेश निर्दोश, चन्द्रा क्षेत्री, टेक क्षेत्री, प्रेम बस्याल, सुरेश भुर्तेल लगायतको प्रस्तुति रहनेछ । विद्यालय स्तरीय लोक नृत्यमा सूर्योदय बोर्डिङ स्कुल, युनिभर्स इङलिस स्कुल, कुमुदिनी होम्स्, राइजिङ स्टार, लेखनाथ विभूति, बहादुरे मावि र कास्की मोर्डनाइज्डबीच फाइनल हुने भएको छ । साँझको पप कन्सर्टमा भिटेनका प्रस्तुतिसँगै स्थानीय स्पर्श ब्यान्डले युवालाई मनोरञ्जन दिनेछ ।

तपाईको प्रतिक्रिया