व्यापारीको कब्जामा गोरखाका फुटपाथ

समाधान संवाददाता २०७६ माघ १० गते १४:३७

बुधबार अनुगमनका क्रममा गोरखा नगरपालिकाले नियन्त्रणमा लिएको सामान । तस्बिरः समाधान

मोहसिन अलि मियाँ
गोरखा

गोरखा बजारका अधिकांश फुटपाथ व्यापारीको कब्जामा परेपछि पैदल यात्रु मुलसडकमै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । फुटपाथ व्यापारका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । ‘फुटपाथ त सामान राख्न बनाएको जस्तो भएको छ,’ सडकबाट हिँडिरहेका पैदल यात्रु आकाश थापाले पसललेले सडककै छेउसम्म सामान राखेपछि मुलसडकमै हिँड्नुको विकल्प नभएको बताउँन् ।

Advertisement

गोरखाका मुख्य बजार मानिने अस्पतालचोक, हरमटारी, कालीमाटी लगायत क्षेत्रमा सटर लिएर फुटपाथ कब्जा गर्नेको संख्या बढेको जनगुनासो छ । यस्ता कार्यमा सानादेखि ठूला होलसेल व्यापारीसम्म संलग्न छन् । फुटपाथमा सामान फिँजाउने मात्रै नभई अव्यवस्थित पार्किङ गर्नेको समेत कमी छैन । ‘मान्छे हिँड्न बनाएको बाटोमा कतै सामानै सामान, कतै सवारी साधानको तस्कर’ हरमटारीका ७५ वर्षीया रामकुमारी श्रेष्ठले भनिन्, ‘हामीजस्ता बुढाबुढीलाई त साह्रै सकस रैछ हिँड्न ।’

गोरखा नगरपालिकाले फुटपाथ चेपेर फिँजाइएका पसल हटाउन पटक पटक प्रयास नगरेको भने होइन । गोरखा नगरपालिकाका प्रशासकीय अधिकृत चेतप्रसाद अम्गाई भन्छन्, ‘हामीले बारम्बार ताकेता गरिहेका छाैं, केहीलाई कारबाही पनि गर्‍याैं, अटेरी गर्नेलाई छोड्दैनौं ।’

Advertisement

अव्यवस्थित फुटपाथका कारण दुर्घटनाको जोखिम त छँदै छ, यस्ता पसलले नगरपालिकालाई करसमेत तिर्दैनन् ।

१० पसलका सामान जफत
फुटपाथ अतिक्रमणको गुनासो बढेपछि गोरखा नगरपालिकाले बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा फुटपाथ मिचेर सामान फिँजाउने १० वटा पसलबाट नगरपालिकाले सामान जफत गरेको छ । ‘आज हामीले घ्याम्पेसाल बसपार्कदेखि विपी चौतारासम्म अनुगमन गर्‍याैं,’ कार्यालय अधिकृत अम्गाईले भने, ‘फुटपाथसम्म सामान फिँजाउने १० वटा पसलका सामान नियन्त्रणमा लिएर कारबाही अघि बढाएका छाैं ।’

सडकपेटीसम्म राखिएका तरकारी, मसाला, किराना, भाँडा लगायत सामानका साथै चटपट र सुन्तला व्यापारी रहेको उनको भनाइ छ । उनीहरुलाई ५ सयदेखि ५ हजारसम्म जरिवाना गर्ने तयारी नगरपालिकाले गरेको अम्गाईले बताए । ‘मापदण्ड मिचेर सामान राख्नेलाई कारबाही सुरु गरेका छौं’ उनले भने, ‘कति ठाउँमा त पार्किङ भनिएको ठाउँमा पनि पसल भेटियो ।’

तपाईको प्रतिक्रिया