पन्चेबाजा संरक्षणमा राक्सेका महिला

समाधान संवाददाता २०७६ माघ १० गते १५:०५

महिला उद्यम विकास समितिले आयोजना गरेको माघेसंक्रान्ति मेलामा बाजा प्रस्तुत गर्दै महिलाहरु । तस्बिरः समाधान

राकेश शर्मा
म्याग्दी

झट्ट सुन्दा अचम्म लाग्छ, महिला पञ्चेबाजा बझाउँछन्, त्यसमा पनि ब्राह्मण र क्षत्री समुदायका महिलाले । अहिले पञ्चेबाजा बेनी नगरपालिका ४ सिंगा राक्सेका ब्राह्मण र क्षत्री समाजका महिलाले बजाउन थालेका छन् । परम्परागत रुपमा बाजा बजाउने समुदायले बजाउने क्रम घट्दै गएपछि म्याग्दीका ब्राह्मण र क्षत्री समुदायका महिला पञ्चेबाजा संरक्षण अभियानमा जुटेका हुन् । बेनी नगरपालिका ४ सिंगा राक्सेका जनजागरण आमा समूहका महिला पञ्चेबाजा घन्काउन थालेका हुन् ।

Advertisement

विवाह, व्रतबन्ध, चौरासी र विभिन्न सभा समारोहमा बाजा बजाउने जनशक्ति नपाएपछि आफैं सिकेर बजाउन थालेको मैना खत्रीले बताइन् । ‘बिहान घरको काम सकेर बाजा सिक्न आउछौँ, घरकाले पनि यसमा साथ दिएका छन्,’ खत्रीले भनिन्, ‘घर परिवारको साथ नभएसम्म त हामीले मात्र बजाउँछौं भनेर कहाँ सकिन्छ र ?’ ३ छोराछोरी भएकी खत्रीले बिहान छोराछोरीलाई विद्यालयले पठाएर आफू बाजा बजाउन सिक्न आउने गरेको बताइन् ।

पञ्जेबाजा संरक्षण, परम्परा जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने उनीहरुको भनाइ छ । सीप भएका युवाहरु बिदेशिन थालेपछि शुभ कार्यमा बाजा बजाउने जनशक्तिको अभाव भएका कारण आफूहरुले बाजा बजाउन सिकेको दुर्गा पौडेलले बताइन् । ‘अहिले मैले ढोलकी सिक्दै छु, पहिला मादलसम्म बजाउन जानेकी थिएन, सिक्दै जाँदा सबै बजाउन सकिने रहेछ’ उनले भनिन्, हामी ब्राह्मण समुदायका महिलाले बाजा बजाउन लागेका छौं, यसले समाजमा ठूलो प्रभाव पार्नेछ ।

Advertisement

छिमेकी गाउँबाट बोलाउँदा पालो नपाउने र धेरै खर्च गर्नुपर्ने समस्या भएपछि महिला आफैं बाजा बजाउन अग्रसर भएका हुन् । राक्सेको नवजागरण आमा समूहको आयोजनामा १० जनाले पञ्जेबाजा बजाउन सिकेका छन् ।

समाजको गलत मान्यताको तगारो तोडेर क्षत्री, ब्राह्मण समुदायका महिलाले पञ्चेबाजा बजाउन थालेका हुन् । सहनाई, ढलकी, ट्याम्को, झ्याली, कर्नाल, दमाहा लगायत सबै ९ थरी बाजा महिलाले नै बजाउँछन् ।

भजनमा मादलसमेत नबजाएका भए पनि सामाजिक आवश्यकताका कारण बाध्यताले बाजा बजाउनुपर्ने अवस्था आएको समूहकी सदस्य भगवती सुवेदीले बताइन् ।

उनीहरुले १ महिनादेखि नियमित प्रशिक्षण लिएका छन् । वडा कार्यालयको प्रस्तावमा बेनी नगरपालिकाले महिलालाई पञ्चेबाजा बजाउने तालिम सञ्चालन, बाजा र पोसाक खरिद गर्न १ लाख ५० हजार विनियोजन गरेको थियो । महिलालाई बाजा बजाउन सिकाउन गाह्रो हुने भए पनि महिलाको सक्रियता र इच्छाशक्तिले अप्ठेरो नभएको बाजा प्रशिक्षक प्रकाश परियारले बताए । ‘उहाँहरुको रुचि र उत्साहले सिकाउन सजिलो भएको छ’ उनले भने, पहिला केही बाजासमेत नछोएका आमाहरुले बाजा बजाउन सिक्नु राम्रो कुरा हो । उहाँहरुलाई म एक्लैले १० थरी बाजा बजाउन सिकाएको छु ।’

वडा कार्यालयको प्रस्तावमा बेनी नगरपालिकाले तालिम सञ्चालन, बाजा र पोसाक खरिद गर्न १ लाख ५० हजार विनियोजन गरेको वडा अध्यक्ष गोविन्द पौडेलले बताए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले महिलाको उत्साह र सक्रियताबाट उत्साहित भएको र बाजा समूहलाई प्रोत्साहन गर्ने बताए । राक्सेको बाजा समूहले बेनीमा सञ्चालन गरेको माघे संक्रान्ति मेलामा बाजा प्रस्तुत गरेका थिए । उनीहरुको बाजाले चर्चा र प्रशंसा बटुलेको छ ।

तपाईको प्रतिक्रिया