वारागुङले पन्छायो सडकको हिउँ

समाधान संवाददाता २०७६ माघ १० गते १५:४५

कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध भएपछि घोडा चढेर यात्रा गर्दै तीर्थालु । तस्बिरः समाधान ।

एसके थकाली
जोमसोम

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथतर्फ जाने कागबेनी—मुक्तिनाथ सडकको हिउँ स्थानीय तहले पन्छाएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सडकको हिउँ डोजर लगाएर पन्छाएको हो ।

Advertisement

वारागुङ मुक्तिक्षेत्रले डोजर खर्च व्यहोर्ने गरी मंगलबार र बुधबार कागबेनीदेखि मुक्तिनाथ रानीपौवा बसपार्कसम्मको १२ किमी कालोपत्रे सडकको हिउँ पन्छाएको अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । उनका अनुसार मुक्तिनाथ जाने सडक आवागमन सुचारु गर्न स्थानीय प्रशासन र पालिकाले संयुक्त पहल गरेको बताए । वारागुङ मुक्तिक्षेत्रले गतवर्ष पनि मुक्तिनाथ सडकको हिउँ पन्छाएको थियो । पालिकाले हिउँ पन्छाएपछि जोमसोम–मुक्तिनाथ सवारी आउजाउ बुधबार साँझदेखि सहज हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘मुक्तिनाथ जाने धार्मिक तीर्थालुले सिधा सवारी नचल्दा सास्ती भएको महशुस गर्‍यौं । बाटो रोकिँदा तीर्थालुले महँगो शुल्क तिरेर घोडा चढ्नुपर्ने वा लामो दूरी पैदल हिँड्न बाध्य भए ।’

यो सिजनमा ३ पटकसम्म हिउँ पर्दा पटक पटक मुक्तिनाथ सडकखण्ड अवरुद्ध हुँदै आएको थियो । मुस्ताङमा तेस्रो पटक गत बिहीबार भएको हिमपातले कागबेनीदेखि मुक्तिनाथ जोड्ने सडक लगातार ६ दिनसम्म सवारी आवागमन ठप्प भएको थियो । सडकमा ३ फिटसम्म हिउँ जमेकाले मुक्तिनाथका लागि सवारी उकालो उक्लन कठिन परेको थियो ।

Advertisement

यसअघि हिमपातले कागबेनी—मुक्तिनाथ सडक लगातार ६ दिनसम्म सवारी साधन चल्न सकेनन् । कागबेनीबाट माथि मुक्तिनाथ जान तीर्थालुले पैदलै वा घोडा चढ्न बाध्य भएका थिए । सडक अवरुद्ध भएपछि कागबेनी, मुक्तिनाथ, झारकोट र खिंगाका घोडावाला स्थानीयले तीर्थालुलाई शुल्क लिएर सेवा दिएका थिए । उनीहरुले मुक्तिनाथ जाने तीर्थालुलाई दोहोरो आउजाउ शुल्क ५ हजार लिएका थिए । आर्थिक रुपमा घोडा सवार गर्न नसक्ने तीर्थालु पैदल हिँड्नुपर्ने अवस्था थियो ।

तपाईको प्रतिक्रिया