बुद्धको पोखरा विराटनगर उडान

समाधान संवाददाता २०७६ माघ १२ गते १२:३८

समाधान संवाददाता
पोखरा

निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने भएको छ । कम्पनीले प्रादेशिक रूपमा माघ २० गतेदेखि पोखरा विराटनगर उडान थाल्ने भएको हो । माघ १८ गते शनिबारदेखि काठमाडौं राजविराज पनि उडान थाल्ने कम्पनीले जनाएको छ ।

पोखरा विराटनगर उडान अवधि १ घन्टा ५ मिनेटको हुनेछ । यो रुटमा साताको ३ दिन सोमबार, बुधबार र शुक्रबार उडान हुने कम्पनीले उल्लेख गरेको छ । कम्पनीले प्रादेशिक उडानका रूपमा यसअघि पोखराबाट चितवन र भैरहवा उडान गर्दै आएको छ । बुद्ध एयरसँग एटिआर ११ र २ बिजक्राफ्ट गरी १३ जहाज सञ्चालनमा छ ।

Advertisement

बुद्धले काठमाडौं–राजविराज दैनिक उडान गर्नेछ । उडानको समय काठमाडौंबाट ११ः२५ र राजविराजबाट १२ः२० निर्धारण गरिएको विज्ञप्तिमार्फत जनाएको छ । यो गन्तव्यको उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ । राजविराज उडानले सप्तरी, उदयपुर, सिरहा तथा सुनसरीका यात्रुहरूलाई सुविधा पुग्नेछ । दैनिक उडानले पर्यटन प्रवद्र्धनका साथै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई समेत टेवा पुग्ने कम्पनीको विश्वास छ ।

राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण सहर हो । यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ । राजविराज उडानले सीमापारिका सहरसा, सुपौल, निर्मली, वीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडिया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिने र यसबाट दुवै देशका पर्यटकलाई फाइदा पुग्ने जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया