बदलिएको बालश्रम

समाधान संवाददाता २०७६ माघ १२ गते १३:०५

नेपालमा बालश्रमिकको संख्या घट्दो ग्राफमा रहे पनि प्रकृति भने फेरिएको छ । घरेलु बालश्रमिक घटिरहँदा ससाना होटेल रेस्टुरेन्ट, इट्टा भट्टा र अन्य जोखिमपूर्ण काममा संलग्न बालबालिका भने अचम्मैसँग बढिरहेका छन् । २० वर्षअघिसम्म ठूला घरानाका मानिसले बालश्रमिक राख्नुलाई गर्व ठान्थे । अहिले त्यही विषय लाज महसुस हुन थालिएको छ । अहिले आएर चिया पसल, ससना व्यापार, सीमापार अवैध व्यापार, गाडी मर्मत केन्द्रमा पनि बालश्रमिक बढेका छन् । परिवारै संलग्न हुने कार्पेट उद्योग र ढुंगा, बालुवा गिटीको काममा पनि बालश्रमिक बढ्नु यो क्षेत्रमा क्रियाशील सरकारी र गैरसरकारी क्षेत्रका लागि ठूलो चुनौती बनेको छ । यति हुँदा हुँदै पनि समग्रममा नेपालमा बालश्रमिक घटिरहेका छन् । सरकारी, गैरसकारी संस्थाहरुको सक्रियता, सबै बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने मान्यता जस्ता कारणले बालश्रम घटेको सरोकारवालाको अनुभव छ ।

अमेरिकी श्रम विभागको सहयोगमा गरिएको व्यवहार परिवर्तनका लागि सञ्चार कार्यक्रमको नेपालमा बालश्रम न्यूनीकरणको प्रभाव अध्ययन प्रतिवेदन हालै सार्वजनिक भएको छ । युनिसेफले नगरपालिकामार्फत् सञ्चालन गरेको परिवर्तनका लागि सञ्चार कार्यक्रमको नगरपालिकाकै सहभागितामा नोट्रेडम विश्वविद्यालयले ४ वर्ष लगाएर प्रभावकारिता मूल्यांकन गरेको हो । बालश्रम तथा वाध्यकारी श्रमका विषयमा नयाँ तथ्य थाहा पाउन बालश्रम न्यूनीकरण गर्न सञ्चालित कार्यक्रमको रेन्डमाइज्ड कन्ट्रोल ट्रेल विधिले गरिएको यो मूल्यांकन प्रभावकारी सावित भएको पाइएको छ ।

मूल्यांकनका लागि पोखरा र भरतपुर महानगरपालिका, वीरगन्ज र नेपालगन्ज उपमहानर पालिका, राजविराज र तुलसीपुर नगरपालिका छनोट गरिएको थियो । बालश्रम र कारकतत्वका बारेमा ३ हजार १६ घरबाट ५ देखि १५ वर्ष उमेरका बालबालिकासँग अन्तर्वार्तामार्फत तथ्यांक संकलन गरिएको थियो । अध्ययनको नतिजा अनुसार २.९४ प्रतिशत बालबालिका श्रमिकको रुपमा काम गर्छन् । १४–१५ वर्ष समूहका बालबालिका श्रममा धेरै संलग्न रहेको पाइएको छ । आफ्नै घरको काममा संलग्न बालबालिकको संख्या उच्च छ । करिब ८ प्रतिशत बालबालिका आफ्नो घरको काममा संलग्न छन् । त्यसमा पनि बालिकाको संख्या बढी छ । धेरैजसो मानिसलाई काम गर्न पाउने उमेरका बारेमा नै थाहा नभएको पाइएको छ । ६६ प्रतिशत उत्तरदातालाई बालश्रम प्रयोग गर्दा कानुनी दण्ड सजायको भागिदार हुनुपर्छ भन्ने थाहा नै छैन ।

Advertisement

बालबालिकालाई श्रममा लगाउन कानुनले निषेध गरे पनि थोरै पैसा दिए पनि पुग्ने र बढी भन्दा बढी काममा लगाउन पाइने भएकाले होटेल तथा रेस्टुरेन्टमा बालबालिकको प्रयो बढी हुने गरेको पाइएको छ । बालश्रममा लगाउनेलाई ३ महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । बालश्रम नियमित र निषेधित गर्न बनेको ऐनले बालश्रमलाई निषेध गरेको छ । उक्त ऐनले होटेल रेस्टुरेन्टलाई कामदारको लागि कठीन क्षेत्र भनी परिभाषित गरेको छ । कठीन क्षेत्रमा काम लगाउनेलाई उक्त ऐनको दफा १९ अनुसार १ वर्षसम्म कैद वा ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) का अनुसार नेपालमा करिब २६ लाख बालबालिका श्रममा संलग्न छन् । कृषि क्षेत्रमा सक्दो काम गर्नुलाई श्रम शोषण नै भन्न नसकिए पनि कतिपय संस्थागत फार्महरुले बालबालिकलाई कम ज्याला दिएर श्रममा लगाइरहेका छन् । बालश्रममा लगाउने क्रम गाउँ भन्दा सहरमै बढी छ । बालश्रम न्यूनीकरणका काममा यति धेरै संस्था क्रियाशील रहँदा पनि बालश्रमिकको अवस्था भयावह हुनु चुनौतीकै विषय हो ।

Advertisement

तपाईको प्रतिक्रिया