६ हजार धरौटीमा छुटे सांसद राजीव

समाधान संवाददाता २०७६ माघ १३ गते १२:४१

सुरेशराज अधिकारी
पोखरा

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) आइतबार धरौटीमा रिहा भएका छन् । कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले उनलाई ६ हजार धरौटीमा छाड्न दिएका हुन् । सांसद राजीवलाई फागुन १३ गतेको तारेख तोकिएका छ । जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला सरकारी वकिलमार्फत आइतबारै जिल्ला प्रशासनमा ‘अभद्र व्यवहार’ मुद्दा गरेको थियो ।

माघ ७ गते पोखराको भण्डारढिकामा एन्फा कास्की अध्यक्ष मीलन गुरुङलाई गालीगजोद गर्दै सांसद राजीवले हातपात गरेका थिए । त्यसको भोलिपल्ट मीलनले जिल्ला प्रहरी कार्यालयमा सांसद राजीवविरुद्ध जाहेरी दिएका थिए । सांसद राजीवविरुद्ध मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीत कसुर गरेको आरोप छ । सार्वजनिक स्थानमा बल प्रयोग गरी अभद्रपूर्ण व्यवहार गरेको आरोपमा उनीमाथि कारवाही माग गरिएको छ । यो कसुरमा १ वर्षसम्म कैद सजाय र १० हजार रुपैयाँ जरिवाना वा दुवै हुने सजाय हुने व्यवस्था छ । माघ ९ गते बिहीबार पक्राउ परेका सांसद राजीवलाई थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार अनुमति दिएको थियो ।

Advertisement

पोखरामा माघ ७ मा सुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका लागि मनाङबाट आएका खेलाडीको खानपान र बसोबासमा बेवास्ता गरेको भन्दै सांसद मनाङले मीलनलाई कुटेका हुन् । एन्फा कास्की अध्यक्ष मीलन मुख्यमन्त्री कप फुटबल प्रतियोगिता आयोजक समिति कोषाध्यक्ष हुन् । अनियमितता गर्नेलाई कारवाही स्वरुप झापड हानेको सांसद गुरुङले पत्रकार सम्मेलन गरी स्वीकार गरिसकेका छन् ।

धरैटीमा रिहा भएका सांसद राजीवले मनाङको टिमले मुद्दा हाल्नुपर्ने ठाउँमा उल्टै एन्फा कास्कीको अध्यक्षले मुद्दा हालेमा आश्चर्य व्यक्त गरे । मीलनविरुद्ध मुद्दा हाल्नेको अहिले लाइन लागेको उनले बताए । उनले भने, ‘यो सामान्य केस हो, यसलाई राजनीतिकरण गरिएको मात्र हो ।’ मनाङका खेलाडीको अभिभावक भएर आफूले काम गरेको राजीवले सुनाए ।

Advertisement

‘कास्कीको हिरासत राम्रो रैछ’
कास्की प्रहरीको हिरासतमा ३ रात बिताएका सांसद राजीवले त्यहाँ बस्दा आनन्द आएको बताए । ‘काठमाडाैंको भन्दा कास्कीका हिरासत राम्रो रहेछ, काठमाडाैंमा उडुसले टोक्थ्यो, यहाँ त उडुस देखिएन,’ उनले भने । शान्त भएका कारण पनि आफूलाई आनन्द भएको उनले प्रतिक्रिया दिए । माघ १ गतेदेखि ७ गतेसम्म आफूले खेलाडीसँग तालिम गर्दा लागेको थकाइ हिरासमतमा बसेर मरेको उनले सुनाए । धरौटीमा छुटेपछि उनलाई समर्थकले जिल्ला प्रशासन कार्यालय भित्रै खादा लगाइदिएका थिए ।

तपाईको प्रतिक्रिया