बेनी–जोमसोम बाटोमा ३५ पुल

समाधान संवाददाता २०७६ माघ १३ गते १४:३१

एसके थकाली
जोमसोम

आर्थिक वर्ष २०७४ देखि निर्माणाधीन मुस्ताङको उत्तरी कोरला नाका जोड्ने बेनी–जोमसोम–सडकमा ३५ पुल बन्दै छन् । कालिगण्डकी करिडोरको जोमसोम कार्यालयले कोरला सडकमा ३५ पुल चाहिने जनाएको छ ।

करिडोर कार्यालयका अनुसार बेनी–जोमसोम राजमार्गमा २३ र जोमसोम–कोरला राजमार्गमा १२ आवश्यक पर्ने देखिएको हो । गत आर्थिक वर्षदेखि पर्वतको मालढुंगादेखि म्याग्दीको बेनी जोड्ने साविक सडकको स्तरोन्नतिको थप जिम्मा करिडोरले पाएपछि थप ३ वटा पुल गाभिएको करिडोर सडकका इन्जिनीयर अश्विनीकुमार यादवले जानकारी दिए । कोरला सडकको ३५ पुलमध्ये २८ पुल निर्माण गर्ने अख्तियार आएको यादवको भनाइ छ ।

Advertisement

सडकका २८ वटा पुल निर्माण गर्न चालु वर्षसम्म ४४ करोड ८० लाख बजेट बिनियोजन भइसकेको छ । तर, बेनी बजारको पुरानो पुलसहित ३ पुलको करिडोरलाई अख्तियारी आउन बाँकी छ । स्याङ खोला पुल र लुप्रा–पान्डाखोला पुलको जिम्मा पछिल्लो समय करिडोर सडकले लिएको थियो । हाल जोमसोम माथिको लुप्रा–पान्डा खोला पुल करिडोरलाई हस्तान्तरण भइसकेको छ भने स्याङ खोलामा संम्पन्न गर्ने चरणमा रहेको आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए ।

वारागुङ मुक्तिक्षेत्रको छुसाङ–चैले पुल लोकल रोड ब्रिज प्रोग्रामले बनाइसकेको छ भने जोमसोम बजार जोड्ने पुल भारतीय राजदुतावासले निर्माण गरेको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको तिप्ल्याङ पुल पुल सेक्टर पाल्पा, सोही पालिकाको पोखरेबगर पुल सेक्टर पाल्पा र बेनी बजारको पुलको अख्तिायारी प्राप्त नभएको आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।

Advertisement

आर्थिक वर्ष २०७४ देखि हालसम्म करिडोरले १७ पुलको काम थालेको छ तर कुनै पनि निर्माण सकिएको छैन । आर्थिक वर्षदेखि घरपझोङ २ मार्फाको राजखोला र वारागुङ मुक्तिक्षेत्र ३ को नरसाङ खोलामा पुल निर्माण सुरु भएको आयोजनाले जनाएको छ । अख्तियारी आइसकेका थप ११ पुलको टेन्डर भई ठेक्का लगाउन बाँकी नै छन् । यसअघि आयोजनाले थालेको घरपझोङ ३ को स्याङ खोला पुल र म्याग्दीको अन्नपूर्ण ३ दानाको घट्टे खोला पुल यसै आर्थिक वर्षभित्र सम्पन्न हुने जनाइएको छ ।

सरकारले २०७२ सालपछि भूकम्प र भारतीय नाकाबन्दी भएको २ वर्षपछि उत्तरी कोरला सडक आयोजना सुरु गरेको हो । बेनी÷जाृमसोम ११ मिटरको कालोपत्रे सडक र जोमसोम–कोरला ११ मिटर चौडा ग्राभेल सडकका लागि ६ अर्ब ५२ करोड लागत लाग्ने जनाइएको छ । हालसम्म करिडोर जोमसोम–कोरला ग्राभेल सडक ८५ प्रतिशत र जोमसोम–कोरला ५५ प्रतिशत प्रगति भएको छ । जोमसोम–कोरला सडकको तेस्रो पटक म्याद थप भएको छ भने बेनी–जोमसोमको गत मंसिरमा पहिलो म्याद सकिएको हो ।

तपाईको प्रतिक्रिया