११ औं क्यान इन्फोटेक फागुनमा हुने

समाधान संवाददाता २०७६ माघ १४ गते १२:४१

निश्चल प्रजापती
पोखरा

कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) कास्कीले गर्ने ११ औं संस्करणको क्यान इन्फोटेक फागुनमा हुने भएको छ । फागुन ११ देखि १५ गतेसम्म हुने इन्फोटेक हुने क्यान कास्कीले जनाएको छ । ११ औं संस्करणको क्यान इन्फोटेकको तयारी तीव्र बनाइएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

क्यान कास्कीले प्रदेश स्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो । प्रदर्शनी केन्द्र नयाँबजारमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको अध्यक्ष रुक्मांगत भण्डारी ‘विश्वास’ले बताए । ‘कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै ग्रामीण क्षेत्रसम्म पहुँच पु¥याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको हो,’ उनले भने ।

Advertisement

मेलामा आइसिटी रोजगारी फर्म वितरण र तालिमसमेत सञ्चालन हुनेछ । आइसिटी सेमिनार, जिल्ला तथा प्रदेश स्तरीय रनिङ सिल्ड आइटी क्विज, टाइपिङ, आइसिटी स्पिच प्रतियोगिता इन्फोटेकमा आयोजना हुनेछन् । ल्यापटप तथा कम्प्युटर निशुल्क मर्मत क्याम्प, रोर्बट प्रतियोगिता, आइसिटी म्युजियम प्रदर्शनी, आइसिटी बिजनेस टक पनि इन्फोटेकका आकर्षण हुन् ।

पत्रकार सम्मेलनमा क्यान गण्डकी अध्यक्ष तुलसीराम पाण्डेले क्यान कास्कीको आयोजनामा हुने प्रदेश स्तरीय इन्फोटेक सफल बनाउन जिल्लातहबाट सहयोग मिल्ने बताए । मेलामा आइसिटीसँग सम्बन्धित १ सय स्टल रहने उपसमिति संयोजक युवराज पौडेलले जानकारी दिए । करिब ५० हजारले मेला अवलोकन गर्ने अपेक्षा छ । मेलामा ३५ लाख आम्दानी र ३० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।

Advertisement

तपाईको प्रतिक्रिया