मलाई कसैले ‘ब्रो’ नभनून….

समाधान संवाददाता २०७६ माघ १४ गते १३:४०

रीना थापा ‘तानी’

लामो कपाल, सर्लक्क परेको शरीरमा उठेका २ स्तनका बिम्ब । सायद यही शारीरिक बनावटले मलाई ‘केटी हुँ’ भन्ने पहिचान दिन्छ होला !

कपाल, स्तनको आकारले मेरो सारा अन्य पहिचान लुकाएर सिर्फ ‘एउटी केटी’ मा उभ्याइदिने ? खैर कहिलेकाहीं बडो ताज्जुबमा बाँच्छु । यदि मेरो कपाल छोटो, स्तनको आकार सानो, आँखामा गाजल, ओंठमा लाली, र शरीरमा ‘महिलामैत्री पोसाक’ नभइदिएको भए ?

Advertisement

सायद उनीहरु फेरि भन्दा हुन्, कस्तो लाज पचेकी । केटा जसरी हिँड्छे ! हुन त यस्ता टिप्पणी सुनिरहन्छौं । अलिक शरीर बनाए, नखरमाउली । नबनाए, छाडा… । दोष अरुको मात्रै छैन । कहिलेकाहीं हामी स्वयं पनि यस्तै सामान्य कुरामा अल्झिरहेका हुन्छौं – यो कपाल, यो स्तनको आकार, यो लिपिस्टिक, गाजल, नङपालिस आदिआदिमा ।

हुन त हामी त्यही समाजमा हुर्केका जो छौ – जहाँ स्त्रीको सुन्दरता कपालको लम्बाइमा निर्भर हुन्छ । मलाई पनि यही समाजले सिकायो, ‘महिलाले कपाल लामो पाल्नुपर्छ । स्याहार्दै हिँड्नु पर्छ ।’

Advertisement

सानैदेखि लामो कपाललाई यसरी स्याहार गरें कि मानौं यसमै मेरो सारा इज्जत लुकेको छ । तर, लाग्दैछ कि आजभोलि म फेरिँदै छु । मेरो कपालको लम्बाई मलाई नै मन परिरहेको छैन । आजभोलि हरेक केटीको कपाल लामो हुनुपर्छ भन्ने मलाई विश्वास लाग्दैन ।

भर्खरै सकिएको १३ औं साग अन्तर्गतको महिला फुटबल पोखरामा भयो । खेलाडीहरु छोटो कपालमा छन्, कुनै शृंगार छैन । छ त खेलप्रतिको लगाव र परिश्रम । रंगशालाकै एक कुनाको प्यारापिटमा बसेर उनीहरुलाई हेर्दै थिएँ अचानक एउटा आवाज मेरो कानमा ठोक्किन आइपुग्यो ।

‘कस्तो केटाजस्तो हौ । होइन, होइन केटा नै हुन् । केटी भएको भए त …. त्यो पनि ठूलै हुनुपर्ने ! केटी भनेर …. लाई खेलाएछन् हाहा ..’

त्यो शब्दले मेरो मनमा आँधी चल्यो । सायद नसुनेको भए पनि हुन्थ्यो ! हुन त हाम्रो समाजले स्त्रीको सोचमा समेत लगाम लगाएर राखेको छ । पुरुषवादी समाजमा त्यो सोच त ‘पाच्य’ परिभाषित भइसक्यो । नारी र पुरुष सिर्फ शारीरिक बनावटले फरक हुनुपर्ने हो । तर, यहाँ त्यसका पनि आकार प्रकार बनाइएको छ । कति उदेक लाग्दो !

थोरै बालापनको कुरा जोड्न चाहें । आमाले मेरो कपाललाई धेरै नै स्याहार गर्नुहुन्थयो । हुन त लामो कपालले मलाई सुन्दर देखाउन केही भूमिका पनि त खेलेथ्यो होला । त्यही कारण मैले पनि आफ्नो कपाल काट्ने वा छोट्याउनेबारे कहिले सोचिनँ ।

कक्षा ७ को कुरा हो । त्यतिबेला अगाडिको कपाल केही काटेको थिएँ । घरमा १ दिन स्कुलनै छुट्ने गरी अभिभावकको नमिठो पिटाइँ भेटें । त्यसपछि कपाल काट्ने आँट त झन् कहिल्यै ममा आएन ।

तर, आज मलाई ती कुराको प्रतिवाद हामी आफैं गर्नुपर्छ भन्ने लाग्छ । हामीले प्रश्न नउठाए कसले उठाउने ? मैले कपाल काटें । काटिँनमात्र कन्सिरीतिर रेखा हानिदिएँ । कपाल काट्दै गर्दा केशका रेशा भूइँमा छरपस्ट हुँदैछन् । मैले आफ्नो एकएक कपाललाई हेर्दैछु । लाग्दैछ उनीहरु आजाद भए…. अब दिनदिनै मेरो काइँयोको कठोर स्पर्श महसुस गर्नुपर्ने छैन ।

कुनै स्त्रीलाई कस्तो केटाजस्तो भन्यो भने गर्वानुभूति हुन्छ होला । तर, मलाई हुँदैन । मलाई केटी नै भएर बाँचेको मन पर्छ । शारीरिक बनावटले त ठिकै हो – काममा पनि केटा र केटीको ‘हाइरार्की’ छ ।

यो काम केटीको …. यो काम केटाको ….

कामको शिलशिलामा कुनै समाजले केटाहरुका लागि छुट्याएको काम गर्दा धेैरै भन्छन्, ‘ब्रो ले काम ग¥यो है !’ तर त्यो शब्द मलाई गिज्याएजस्तो लाग्छ । हामी महिला हो । यही त हाम्रो पहिचान हो । छोराले गर्न सक्ने काम गर्दैमा ब्रो हुने र नसक्दैमा सिस्टर भइरहनुपर्ने ? के यो सोच्नुपर्ने विषय होइन ? कपाल छोट्याउँदैमा ब्रो हुनुपर्ने र लामो बनाउँदैमामात्रै छोरी हुनुपर्ने ? के मेरो आफ्नो अस्तित्व छैन ?

मेरो रङ÷शृंगार÷आकार सबैमा मेरो अधिकार छ ।

मलाई सह्य छैन कि कसैले मेरो छोटिएको कपालमा मजाक उडाओस्….कसैले ब्रो भनिदेओस् … । लामो कपालसँग जोडिएको सुन्दरता र त्यो बेइमानी लक्ष्मण रेखामा नाक ठोकाउन पुगेका स्त्री । कठै ! यो समाजको नियम र मान्यता । पुरुष र महिला एक हैन र ? अनि त्यही कपाल पुरुषले काट्दा राम्रो केटीले काटे असुन्दरताको ट्याग ?

खासमा मलाई पनि मेरो लामो कपालप्रति प्रेम थियो । तर, यो समाजले यही कपालको लम्बाईबाट सुन्दरताको मापन गरेको मलाई मन परेन । समाजले कोरेको सुन्दरताको मानचित्र मेरो केशबाट चिच्याइरह्यो ।

एउटा नमीठो गन्ध आउन थाल्यो–जसमा म जल्दै थिएँ । म मेरै केश रेशाबाट मेरो खुट्टामा जञ्जिर लागेको महसुस गरें । र, मैले तोडिदिए यो बेइमानी रेखा ।

कपाल काटिसकेपछि धेरैथरि प्रतिक्रिया आए ।

‘तिमी त मिडिया क्षेत्रकी मान्छे, पढेलेखेकी पनि छौ । यसरी कपाल काट्न हुन्थेन…. आदिइत्यादि..’ । टाउकोमा कपाल हुँदा समाजको नियमले गिज्यायो । काटिसकेपछि त्यही नियमले गिज्यायो । यहाँ सबै युद्ध हामी महिलाले नै हार्नुपर्ने ? मेरो प्रश्न यहींनेर छ ।

कहीं हारे भने छोरी त हो नभन्नू… कहीं जिते भने मेरो छोरा नभन्नू… कपाल पाले पनि फाले पनि म त्यहीं रीना वा तपाईँले चिनेकी तानी हुँ – बिन्ती कसैले मलाई ‘ब्रो’ नभन्नू….

तपाईको प्रतिक्रिया