मुख्यमन्त्री कपः लमजुङ विजेता

समाधान संवाददाता २०७६ माघ १५ गते १३:३६

समाधान संवाददाता
पोखरा

गण्डकी प्रदेशको मुख्यमन्त्री कप लिग च्याम्पियन लमजुङ बनेको छ । लमजुङकोे त्रिवेणी युथ क्लब गण्डकी प्रदेश च्याम्पियनको विजेता भएको हो ।

लिग च्याम्पियन लमजुङले ५ लाख रुपैयाँ, मेडल, प्रमाणपत्र र सिल्ड हात पारेको छ । उपविजेता कास्कीले ३ लाख रुपैयाँसहित मेडल, प्रमाणत्र, सिल्ड प्राप्त गरेको छ । फाइनल खेलमा त्रिवेणी युथ क्लबले कास्कीको आदर्श युवा क्लबलाई २–० गोल अन्तरले पाखा लगाउँदै च्याम्पियन बनेको हो । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी कास्कीका सुमीत श्रेष्ठ घोषित भए । उनले उत्कृष्ट मिडफिल्डर उपाधिसमेत हात पारे ।

Advertisement

उत्कृष्ट डिफेन्स लमजुङका अञ्जन देवकोटा, उत्कृष्ट गोलरक्षक लमजुङका आकाश रानाभाट, उत्कृष्ट स्ट्राइकर लमजुङका नवराज गुरुङ घोषित भए । सर्वाधिक गोलकर्ता कास्कीका सुलेमान थापामगर, लमजुङका नवराज गुरुङ र स्याङ्जाका शरद क्षेत्री घोषित भए । उनीहरुले लिग प्रतियोगिताभरमा समान ४ गोल गर्दै समान ५ हजार रुपैयाँका साथमा ट्रफी हात पारे । प्रतियोगिताको अनुशासित टिम गोरखा घोषित भयो ।

लमजुङको जितमा अश्विन गुरुङ र नवराज गुरुङले गोल गर्दै टिमलाई च्याम्पियन बनाउन सफल भए । अश्विनले खेलको १५ औं मिनेटमा गोल गर्दै लमजुङलाई अग्रता दिलाए । पहिलो हाफमा १ गोलको अग्रता लिएको लमजुङले दोस्रो हाफको सुरुमै अग्रता दोब्बर बनाएको हो । खेलको ४९ औं मिनेटमा नवराज गुरुङले गोल गर्दै कास्कीलाई स्तब्ध बनायो ।

Advertisement

पहिलो हाफमा १ गोलले पछि परेको कास्कीले अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो । कास्कीका २ अवसर गोल घेरा नजिकै रहँदा लमजुङका डिफेन्सले क्लियर गर्दै बाधक बने । कास्कीलाई निकै दबाबमा राखेको लमजुङले पाएको अवसर सदुपयोग गर्दा च्याम्पियन बन्यो । खेलको म्यान अफ दि म्याच लमजुङका गोलरक्षक आकाश रानाभाट घोषित भए ।

लिग चरणमा कास्की समूह ‘ए’ को विजेता हुँदै अन्तिम ४ मा प्रवेश गरेको थियो । लमजुङ समूह ‘ए’ कै उपविजेता हँुदै अन्तिम ४ मा प्रवेश गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रतियोगिता राम्रोसँग सम्पन्न भएको बताए । उनले गण्डकी प्रदेशका खेलाडीलाई राष्ट्रिय लिगमा खेल्ने ढोका खुलेको उल्लेख गरे । गुरुङले राष्ट्रिय लिगमा खलाडीलाई राम्रोसँग प्रदर्शन गर्न शुभकामना दिए ।

अखिल नेपाल फुटबल संघ केन्द्रीय अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फा कास्कीमा भ्रष्टाचार भएको बाहिर आएको बताएका छन् । उनले उक्त विषयमा एन्फाले गहिरिएर छानबिन गरी अघि बढ्ने जानकारी दिए । उनले आगामी फागुनभित्र सबै प्रदेशका लिग खेल सक्ने र चैत्रभित्र राष्ट्रिय लिग प्रतियोगिता सम्पन्न गर्ने योजना सुनाए ।

गण्डकी प्रदेश संसद् विकास समिति अध्यक्ष दीपक कोइरालाले लिगले फुटबलमात्र नभएर खेलकुद क्षेत्रको विकास हुने बताए ।

तपाईको प्रतिक्रिया