चितवनमा एकै दिन दुई गैँडा मरे

समाधान संवाददाता २०७६ माघ १५ गते १४:४१

समाधान संवाददाता, चितवन

 चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा अन्दाजी १८/२० वर्षको पोथी गैँडा मृतावस्थामा फेला परेको हो । अर्को एक गैँडा सुखीभार क्षेत्र नजीक मृतावस्थामा फेला परेको छ । उनका अनुसार सो गैँडा ३० वर्षको पोथी हो ।

Advertisement

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठका अनुसार तमासपुरमा भेटिएको गैँडा विषाक्त खानाका कारणले मरेको प्रारम्भिक अध्ययनमा देखिएको छ । विषाक्त घाँस खाएर गैँडा मरेको हुन सक्ने श्रेष्ठले जानकारी दिए । अर्काे गैँडा मर्नाको कारण खुल्न सकेको छैन ।

विगत केही वर्षयता चोरीसिकारीबाट गैँडा मारिएका छैनन् तर कालगतिले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ता व्यक्त गरिएको छ । यसैगरी माउले छाडेका दुई बच्चालाई उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा राखिएको छ । श्रेष्ठका अनुसार एउटा अन्दाजी तीन हप्ताको पोथी तमासपुर क्षेत्रबाट र अर्को चार महिनाको भाले बच्चा सौराहा नजीकैबाट उद्धार गरी राखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया