शौचालयको बिजोग हेर्न मन्त्रीलाई भनेपछि…

समाधान संवाददाता २०७६ माघ १६ गते ११:३५

मन्त्री नरदेवी पुन प्रयोगशाला परिसरको दुर्गन्ध फैलिएको क्षेत्रमा सफाइ गर्न कर्मचारीलाई निर्देशन दिँदै । तस्बिरः समाधान

समाधान संवाददाता
पोखरा

केही साताअघि मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले ‘स्वास्थ्य क्षेत्रको अवस्था देख्दा आफू सिसडोल (काठमाडौंको डम्पिङ साइड) मै डेरा गरी बस्ने डेरावाल’ भएको सुनाएका थिए । उनी आफैंले जिम्मेवारी सम्हालेको मन्त्रालयको अवस्था र समग्र मातहतका निकायको हातल उनले भनेजस्तै छ । त्यसमध्येको १ नमूना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) पनि हो । जनशक्ति र अत्यावश्यक सेवा दिने उपकरणको अभावमा ‘रिफर सेन्टर’ बनिरहेको उक्त अस्पतालमा शौचालयको सामान्य सफाइमा सुधार हुन सकेको छैन ।

Advertisement

बुधबार गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुन प्रयोगशालामा स्वास्थ्य परीक्षणका क्रममा पुगिन् । उनको नजिकै रहेका सेवाग्राहीले अस्पतालको हालतबारे मन्त्रीलाई गुनासो पोखे । प्रयोगशालामै रहेकी मन्त्री पुनलाई ती सेवाग्राहीले शौचालयको दुर्दशा हेरिदिन आग्रह गरे । शौचालयबाट अत्यधिक दुर्गन्ध फैलिएपछि असह्य भएको भन्दै सेवाग्राहीले सुधार गर्नुपर्ने भन्दै प्रत्यक्ष सुझाव दिएका हुन् ।

उक्त अस्पताल संघीय सरकार मातहत भए पनि आफैं परीक्षणमा गएकी मन्त्री पुनले गुनासो सम्बोधनका लागि तत्कालै अस्पतालका कर्मचारीलाई बोलाइन् । प्रयोगशालाको शौचालय भोरिएको थियो भने, सेफ्टी ट्यांकी बाहिरबाट मलमुत्र बगिरहेको थियो । परिसरमा उत्तिकै दुर्गन्ध थियो । प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्य लगायत कर्मचारीलाई शौचालयको बिजोग सुधार्न निर्देशन दिइन् । स्वास्थ्य सेवा प्रदान गर्ने संस्था आफैं पनि संवेदनशील हुनेहुँदा आवश्यक सफाइ गरिराख्न भनिन् । मन्त्रीले निर्देशन दिँदै गर्दा कर्मचारीले असहज महशुस गरे । तर, उनले सफाइ भए नभएको हेर्न निरन्तर अस्पताल आइरहने पनि सुनाइन् । ‘स्वास्थ्य संस्थामा पर्याप्त सरसफाइ हुनुपर्छ । सरसफाइमा सुधार भए नभएको हेर्नकै लागि पनि म पटकपटक आइरहन्छु,’ उनले भनिन् ।

Advertisement

निर्देशन पाएका कर्मचारीले केहीबेरमै सेफ्टी ट्यांकी सफाइ गर्ने ट्यांकर बोलाएर सफाइ गरेका गरे । साँझपख मन्त्रीका प्रतिनिधि पुनः प्रयोगशाला परिसर पुग्दा शौचालय सफाइ भइसकेको जानकारी दिए ।

शौचालयको सेफ्टी ट्यांकी भारिएपछि मात्र थाहा पाइने भएकाले मन्त्री पुगेकै बेला परेको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए । टेलिफोन सम्पर्कमा असहज मान्दै प्रतिक्रिया दिएका उनले भने, ‘ट्यांकी पटकपटक भरिन्छ अनि निकाल्ने हो । मन्त्री आएको बेला परेको मात्र हो ।’ बुधबार नै सफाइ गरिएकाले दुर्गन्ध नरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया