पाेखरामा पहिलो नर्सिङ अस्पतालः ३ सय शैया, अर्बभन्दा बढी लागत

समाधान संवाददाता २०७६ माघ १७ गते १२:४६

समाधान संवाददाता
पोखरा

मुलुकमै पहिलोपटक ३ सय शैयाको नर्सिङ अस्पताल पोखरामा खुल्ने भएको छ । त्रिभुवन विश्व विद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पसले रामघाटमा नर्सिङ शिक्षण अस्पताल खोल्न लागेको हो ।

नेपालमा कुनै नर्सिङ क्याम्पसले अहिलेसम्म अस्पताल चलाएका छैनन् । पोखरा नर्सिङ क्याम्पसले गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन र सेवा दिने उद्देश्यसहित अस्पताल चलाउन लागेको हो ।

Advertisement

अस्पताल निर्माण सुरु गर्न गण्डकी प्रदेश सरकारले यो आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । ३५ रोपनी जग्गामा बन्ने अस्पताल निर्माण सम्पन्न गर्न १ अर्ब २६ करोड लागत अनुमान गरिएकोे छ ।

‘गण्डकी प्रदेश सरकारले छुट्याएको रकमलाई बिउ पुँजी मानेर अस्पताल निर्माणको थालनी भएको छ । प्रदेशले अर्को वर्ष थप रकम विनियोजन गर्ने छ,’ पोखरा नर्सिङ क्याम्पस प्रमुख नीता ताम्राकारले भनिन् । संघीय सरकार, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, विद्यालय अनुदान आयोग उच्च शिक्षा सुधार परियोजना लगायतबाट बाँकी बजेट जुटाइने ताम्राकारले जानकारी दिइन् ।

Advertisement

३ सय शड्ढयाको नर्सिङ अस्पतालमा ओपिडी, प्रयोगशाला, फार्मेसी, अक्सिजन प्लान्ट, ब्लड बैंक शवगृह, लगायतको भौतिक संरचना बन्नेछ । ५ वर्षमा अस्पताल निर्माण सकिने प्रमुख ताम्राकारले जानकारी दिइन् । ‘दक्ष र गुणस्तरीय नर्सिङ जनशक्ति उत्पादन र सेवा दिने यो नेपालमै पहिलो नर्सिङ अस्पताल हुनेछ,’ ताम्राकारले भनिन्, ‘अरु नर्सिङ क्याम्पसले शिक्षण अस्पताल चलाएका छैनन् ।’

दक्ष नर्सिङ जनशक्ति उत्पादन तथा स्वास्थ्य संस्थामा ती जनशक्तिले गुणस्तरीय नर्सिङ सेवा प्रदान गर्न आफ्नै अस्पताल हुनुपर्ने नेपाल सरकारको नीति अनुसार अस्पताल स्थापना गर्न लागिएको ताम्राकारले बताइन् ।

अस्पातलको बिहीबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका छन् । शिलान्यासपछि बोल्दै अर्थमन्त्री गुरुङले प्रदेश सरकारको सहयोगमा अस्पताल निर्माण हुने बताए । अस्पताल निर्माण सम्पन्न गर्न प्रदेश सरकारले समन्वयको भूमिका निर्वाह गर्ने प्रतिवद्धतासमेत उनले व्यक्त गरे ।

‘दक्ष जनशक्ति उत्पादन गरेर गुणस्तरीय नर्सिङ सेवा दिने गरी अस्पताल निर्माण गर्न गण्डकी प्रदेश सरकारले यसै वर्ष पनि १ करोड रुपैयाँ बिनियोजन गरेका छौं,’ गुरुङले भने, ‘अर्को आर्थिक वर्षमा अझ बजेट वृद्धि हुने छ भने हामीले समन्वय पनि गर्ने छौं ।’

२०३९ साल फागुनमा सिएमए कार्यक्रमअन्तर्गत ४० जना विद्यार्थी लिएर अध्यापन सुरु भएको पोखरा नर्सिङ क्याम्पसमा अहिले २ सय ३८ नर्सिङ विद्यार्थी अध्ययनरत छन् । २०४१ सालदेखि नर्सिङ कार्यक्रम अन्तर्गतका प्रवीणता प्रमाणपत्र तहका कक्षाहरु सुरु भएको थियो ।

०६२ मा नर्सिङ क्याम्पसले २० जना विद्यार्थीबाट स्नातक तहका कक्षाहरु सञ्चालन थालेको थियो । हाल स्नातक तहमा ४० जनाको कोटा छ । २०७४ सालदेखि चाइल्ड हेल्थ नर्सिङ, एडल्ट नर्सिङ र वुमन्स हेल्थ एन्ड डेभलपमेन्ट गरी ३ विषयमा स्नातकोत्तरको कक्षा सुरु भएको थियो । अहिले १५ जना स्नातकोत्तरमा अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया