पोखरा आर्ट ग्यालरीः पखेटा काटिएको चराजस्तो !

समाधान संवाददाता २०७६ माघ १७ गते १३:०८

विकास रोकामगर
पोखरा

पोखरा महानगरको गत साता सकिएको छैटौं नगर सभाले ‘पोखरा प्रज्ञा प्रतिष्ठान ऐन’ पारित गरेको छ । ऐनमा उल्लेख भएअनुसार यसले महानगरभित्रका भाषा, सहित्य, संगीत, कलालाई संरक्षण र प्रवद्र्धन गर्नेछ ।

तर, कला संरक्षण गर्ने भन्दै प्रज्ञा प्रतिष्ठान ऐन पारित गरे पनि आफ्नै क्षेत्राधिकारभित्र भएको पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालयलाई भने बेवास्ता गरिरहेको आरोप महानगरलाई लागिरहेको छ ।

Advertisement

पोखरा महानगरको गत चैत १ गते बसेको २८ औं नगर कार्यपालिका बैठकले एउटा निर्णय ग¥यो, ‘महेन्द्रपुलबाट पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय अन्यत्र सार्ने ।’ त्यतिबेला महानगरले ती सार्वजनिक महत्वका भवनलाई न्युरोडस्थित प्रदेश संग्रहालयमा सार्ने बताएको थियो ।

पुस्तकालय र आर्ट ग्यालरी रहेको भवन पुरानो भइसकेको छ । त्यसमाथि त्यहाँ अनावश्यक भीड र होहल्ला पनि हुने भएपछि हटाउने निर्णय भएको हो,’ महानगर कार्यपालिका बैठकको निर्णय थियो, ‘अब यसलाई प्रदेश संग्रहालयमा स्थानान्तरण गर्ने भएका छौं ।’ योजनाअनुरुप महानगरले आर्ट ग्यालरीमा भएका चित्र तथा तस्बिरहरु त्यहाँबाट हटाइसकेको छ । तर, काम त्यसभन्दा अघि बढ्न सकेको छैन ।

Advertisement

फोटो र चित्र नै प्रदर्शन गर्ने उद्देश्यले बनाइएको भवन पोखरा आर्ट ग्यालरीबाहेक अन्यत्र छैनन् । त्यसैले पोखरामा हुने साना र ठूला प्रदर्शनी त्यहीं हुन्थे । महानगरले त्यहाँबाट ग्यालरी सारेर व्यवस्थित ढंगले अन्यत्र सार्ने भनेपछि सुरुमा कलाकार खुसी भए । तर, लामो समय भइसक्दा पनि महानगरले कुनै कदम नचाल्दा अहिले कलाकार निराश छन् ।

‘आर्ट ग्यालरी बनाउन पोखराका साना ठूला सबै कलाकारको मेहेनत र श्रम लागेको छ । महानगरले सुरुमा अन्तै राम्रो ठाउँमा सार्छौं भन्दा खुसी लागेको थियो,’ कलाकार मीलन शेरचन भन्छिन्, ‘त्यहाँ भएका सबै सामान पनि हटाइसक्यो । ग्यालरी त अहिले शरीर भएर पनि निष्प्राण उभिएको छ जस्तो लाग्छ ।’

भएको एउटा आर्ट ग्यालरी बन्द भएपछि धेरै कलाकारका क्रियाकलाप बन्द भएको मिलनको दाबी छ । प्रश्न गर्छिन्, ‘हामी त पखेटा काटेका चराजस्तै भयौं । प्रदेशको राजधानी भन्ने अनि एउटा ग्यालरी पनि बनाउन नसक्ने ?’ उनले दिवंगत कलाकार किरण रञ्जितको सम्झनामा चित्रकला प्रदर्शनी गर्न लागिएको तर, ठाउँ अभावले योजना नै अन्यौलमा रहेको सुनाइन् ।

२०५६ सालमा स्थापना भएको एकमात्रै सार्वजनिक ग्यालरीछेउमा सार्वजनिक पुस्तकालयसमेत छ । पहिले खुलेर बन्द भएको पोखरा सार्वजनिक पुस्तकालय २०४८ सालदेखि पुन सञ्चालन गरिएको थियो । प्रदेश संग्रहालयमा सार्ने कार्यपालिकाले निर्णय गरेपछि हाल ग्यालरी बन्द छ ।

महानगरले लामो समयसम्म ग्यालरीको टुंगो नलगाइदिँदा कलाकार हेमकान्ती गुरुङ पनि रुष्ट छिन् । ‘त्यही आर्ट ग्यालरीको भर परेर संस्था पनि चलाइरहेका थियौं । अहिले त्यो पनि बन्द भएपछि त संस्था नै छिन्नभिन्न भइसक्यो,’ उनले दुखेसो पोखिन्, ‘प्रदर्शनी गर्न पनि कहिले सपिङ मल त कहिले होटल रेस्टुरेन्टसँग हात जोड्दै हिँड्नुपर्ने बाध्यता भयो । ग्यालरी नभएपछि हामी पनि अपांगजस्तै भएका छौं ।’

कलाकार सुनील सिग्देलको गुनासो पनि त्यस्तै छ । ‘महानगरले भत्काउने भनेको थियो । तर, भत्काइसकेको छैन । अर्को ठाउँ सारेको पनि छैन,’ उनी भन्छन्, ‘कलाकारलाई गाह्रो भइसक्यो । महानगरले सही निर्णय लिन नसक्दा हामी अहिले अन्योलको स्थितिमा छौं ।’ उनी चाँडोभन्दा चाँडो आर्ट ग्यालरीबारे निर्णय ठोस निर्णय लिन जरुरी रहेको बताउँछन् ।

ग्यालरी र लाइब्रेरी हटाएर पार्किङस्थल
महानगरले साविक ठाउँबाट आर्ट ग्यालरी हटाउने निर्णय गर्दा भनेको थियो, ‘महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्र अत्याधिक ट्राफिक हुने क्षेत्र हुन् । त्यस क्षेत्रमा ठाउँ अभावले गर्दा पार्किङ समस्या आइरहेको छ । ग्यालरी हटाएर पार्किङस्थल बनाउँछौं ।’ तर, न अहिले त्यहाँ ग्यालरी छ, न पार्किङस्थल ।

‘व्यस्त ठाउँ भएकाले पार्किङस्थल बनाउने र दुर्घटना न्यूनीकरण गर्ने मेयर साबको योजना हो,’ महानगर सूचना अधिकारी भरतराज पौडेलले भने, ‘केही गर्नुपर्छ पर्छ भन्ने त हामीलाई पनि फिल भएकै कुरा हो । तर, कुनै निर्णय लिन सकिरहेका छैनौं ।’ उनले न्युरोड क्षेत्रमा पार्किङस्थल तयार भइसकेको र चाँडै महेन्द्रपुलमा पनि पार्किङस्थल बनाइने जानकारी दिए ।

जग्गा प्राप्तिको समस्या छः प्रवक्ता नेपाली
ग्यालरी हटाएको लामो समय भइसक्यो, नयाँ ठाउँमा कहिले सार्ने ? पोखरा महानगर प्रवक्ता धनबहादुर नेपाली भन्छन्, ‘यस विषयमा हामी प्रदेश संग्रहालयसँग कुरा राखिसकेका छौं । जग्गा प्राप्तिमा टुंगो लाग्न नसकेर ढिलाइ भइरहेको हो ।’

प्रवक्ता नेपालीले आर्ट ग्यालरी र सार्वजनिक पुस्ताकालयलाई संग्रहालयमा राख्दा संग्रहालयले आफ्नो मातहतमा राख्ने भएमात्रै जग्गा उपलब्ध गराउने शर्त राखेको बताए । ‘प्रदेशको मातहतमा राखेर चलाउन सकिन्छ कि सकिँदैन भन्ने नै अहिलेको समस्या हो,’ उनले भने, ‘योजना बनाए पनि प्रगति केही भएको छैन ।’

तपाईको प्रतिक्रिया