स्की खेलाडीलाई प्रशिक्षण

समाधान संवाददाता २०७६ माघ १९ गते १३:२१

स्की च्याम्पियनसिप अभ्यास गर्दै खेलाडी । तस्बिरः एसके थकाली ।

एसके थकाली
जोमसोम

मुस्ताङको मुक्तिनाथमा तेस्रो राष्ट्रिय स्की च्याम्पियनसिपको तयारीका लागि प्रशिक्षण तथा अभ्यास सुरु भएको छ । २ दिनसम्म चल्ने स्की प्रशिक्षणका लागि ३६ खेलाडीलाई नेपाल स्की संघले हिउँले ढाकिएको सेताम्मे पाखोमा उतारेको छ ।

Advertisement

संघले तालिम दिएका दोलखा, रसुवा, सोलु र काठमाडौं आसपासका २१ पुरुष र १५ महिला खेलाडीले च्याम्पियनसिपमा भाग लिने स्की संघका सचिव वसन्तराज कार्कीले जानकारी दिए । उनका अनुसार यसपटक अधिकांश पुराना र केही नयाँ खेलाडी प्रतिस्पर्धामा सहभागी हुनेछन् ।

वारागुङ मक्तिक्षेत्र गाउँपालिका १ मुक्तिनाथ रानीपौवा खेल मैदानमा अल्पाइन स्की र नोडिक स्कीको तालिम दिइएको छ । रानीपौवा बजारको पूर्वतर्फ करिब ३ सय मिटर लामो २ वटा थुम्का भएको हिउँले भरिएको पाखोमा क्रस कन्ट्री स्की खेल तालिम दिइएको प्रशिक्षक रामप्रसाद गुरुङले जानकारी दिए । ३ वटै विधाको स्की खेलका लागि रामबहादुर गुरुङ, शेरबहादुर गुरुङ र ध्रुव सेन लगायत प्रशिक्षक छन् ।

Advertisement

नेपालमा स्की खेलको विकास तथा अन्तर्राष्ट्रिय स्तरको स्की प्रमोसन गर्न कार्यक्रम गर्न लागेको सचिव कार्कीले खुलाए । उनका अनुसार स्की प्रशिक्षण तथा च्याम्पियनसिप गर्न करिब २७ लाख बजेट खर्च हुनेछ । उनले भने, ‘खर्च सबै स्की संघले गर्ने हो, खर्च मेन्टेन गर्न पर्यटन मन्त्रालय, प्रदेश सरकार र पर्यटन बोर्डसँग प्रस्ताव गरेका छौं ।’

संघले नेपाली खेलाडीलाई अनुकूल तालिम दिन सकेमा अन्तर्राष्ट्रिय इभेन्टमा खेल्न सक्छन् भन्ने म्यासेज यसप्रकारको च्याम्पिनसिपले सीपले दिने संघका महासचिव विजय श्रेष्ठले बताए । उनले स्की तालिममा स्थानीय युवायुवतीलाई समेत अल्पाइन तथा नोडिक स्कीमा सहभागी गराइने बताए । हिउँदे खेलकुदको रुपमा रहेको स्की खेलकुदले सहर–बजारका युवाहरु प्रमोसन गर्दै हिउँ खेल्न र हेर्न मुस्ताङ आउने वातावरण बनाउने महासचिव श्रेष्ठको दावी छ ।

बर्खायाममा मुस्ताङमा धार्मिक तथा अन्य पर्यटक आउने गरेको भए पनि हिउँदयाममा चिसोका कारण पर्यटक उपस्थित न्यून हुन्छ । स्की प्रमोसन भए मुक्तिक्षेत्रमा बाह्रै महिना पर्यटकको चहलपहल बढ्ने संघको विश्वास छ । अभ्यास सकिए लगत्तै सोमबार सुरु हुने स्की च्याम्पियनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने तय भएको छ ।

तपाईको प्रतिक्रिया