‘नेपाल युद्धभूमिमा परिणत हुन सक्छ’

समाधान संवाददाता २०७६ माघ १९ गते १४:१६

समाधान संवाददाता
पोखरा

होसियार, होसियार एसिया घोर्लान्
देश बन्ला रुवान्डा इरान

संगम सांस्कृतिक मञ्चका कलाकारले शनिबार यस्तै यस्तै भावका आधा दर्जन गीत सुनाए । पोखराको पृथ्वीचोकमा भएको कार्यक्रममा संगमका कलाकारले से नो एमसिसी, यही हो साम्राज्यवादी सैन्य रणनीति जस्ता गीत सुनाएका हुन् । सरकारले अमेरिकी परियोजना मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसिसी) पारित गर्ने योजना बनाइरहेका बेला जनस्तरबाटै यसको विरोध भएको हो ।

वाम वुद्धिजीवी रामराज रेग्मीले परियोजनामा ठूलो राशि अनुदान आउने भनिए पनि त्यो देखावटी भएको दाबी गरे । उनले भने, ‘यो सरासर राष्ट्रघात हो । अनुदान देखावटीमात्र हो ।’ कसैसँग मागेर देशको समृद्धि नहुने औंल्याउँदै उनले सम्झौता भएको लामो समयसम्म यो विषय गुपचूप राखिनुले ठूलो आशंका जन्माएको बताए । रेग्मीले भने, ‘सम्झौता भएपछि कि गोप्य राखियो ? अरु परियोजनालाई संसदको अनुमोदन नचाहिने एमसिसीलाई चाहिने किन ?’

Advertisement

नेकपा नेतासमेत रहेका रेग्मीले एउटा ठूलो तप्काले कमिसनको चक्करमा देश वर्वाद बनाइरहेको आरोप लगाए । प्रोजेक्टको बौद्धिक सम्पत्ति अमेरिकाको हुने, केही पूर्वाधार बनाउनु भरे भारतको स्वीकृति लिनुपर्ने जस्ता प्रावधानले देशलाई साम्राज्यवादको गुलाम बनाउने उनको भनाइ छ । रेग्मीले थपे, ‘असंलग्न परराष्ट्र नीति अंगालेको देश अमेरिकी शैन्य परियोजना आइपिएसमा कसरी आवद्ध हुन मिल्छ ? संविधानसँग बाझिएका प्रावधान एमसिसीकै अनुसार हुने व्यवस्थाको अर्थ के हो ?’ उनले यो सरकारले एमसिसी पारित गरे सत्तामा गएपछि सकिएका भारतीय कम्युनिस्टकै हालतमा नेकपा पुग्ने उनले चेतावनी दिए ।

अर्का वाम विश्लेष झलकपाणि तिवारीले एमसिसीलाई राष्ट्रघाती परियोजनाको संज्ञा दिए । उनले आफ्नै बजेट ५० प्रतिशत खर्च गर्ने नसक्नेले पैसाकै लागि देशको सम्प्रभुतामाथि सम्झौता गर्न खोज्नु अनौठो भएको औंल्याए । उनले भने, ‘नेपालको समस्या पैसा होइन, भिजन हो । हामीलाई रुपैयाँ चाहिए रुपैयाँ, लाख चाहिए लाख, अर्ब चाहिए अर्ब जनताले दिन्छन् । इतिहासले यो पुष्टि गरिसकेको छ ।’ तिवारीले एमसिसी पारित भए नेकपा विभाजन हुने खतरा औंल्याउँदै देशमा नयाँ खालको क्रान्ति चाडै हुने दाबी गरे । उनले भने, ‘चाडै अर्काे आँधी आउँछ । नेकपाले यथास्थितिमा यसलाई पारित हुन नदेला भन्ने अझै आशा छ ।’

Advertisement

संस्थाका अध्यक्ष काजी गाउँलले शनिबार दिउँसो १ बजे पृथ्वीचोकमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित एमसिसी अध्यन गरेका विज्ञहरुले धारणा राख्ने जानकारी दिए । उनले भने, ‘विभिन्न राजनीतिक दलका नेताहरु, बुद्धिजीवी, सर्वसाधारणलाई सहभागिताका लागि अनुरोध गर्दछौं । नेपाली भूमिलाई युद्धभूमि बन्न दिँदैनौं ।’

कार्यक्रममा डा. कृष्णराज अधिकारीले एमसिसीका प्रावधानहरुबारे प्रकाश पार्दै यथास्थितिमा यो पारित भए देश वर्वादीको दिशामा जाने औंल्याए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी गण्डकी सेक्रेटरी केशबहादुर परियार, देशभक्त गणतान्त्रिक मोर्चाका प्रदेश अध्यक्ष नेत्र रानाभाट, नेकपा मालेका टेकनाथ भण्डारी, नेपालका लागि नेपाल कास्की अध्यक्ष नारायणहरि तिवारी, इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष परशुराम कोइराला, साहित्यकार सुरज उपाध्याय लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया