पिएनमा आन्दोलन चर्कियो, प्रशासनमा लाग्याे ताला

समाधान संवाददाता २०७६ माघ २० गते १२:०६

विकास रोकामगर
पोखरा

पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापकको आन्दोलनका कारण १ हप्तादेखि पढाइ प्रभावित भएको छ । लामो समयदेखि स्नातक तथा स्नातकोत्तर तहमा श्रेणीविहीन रहेर पढाइरहेको र विश्वविद्यालयले त्यसको उचित मूल्यांकन गर्नुपर्ने माग राख्दै १ हप्तादेखि आंशिक शिक्षकले पढाउन बन्द गरेका थिए ।

१४ वर्षदेखि आफूहरुले न्यूनतम ज्यालामा पढाइरहेको र क्याम्पसमा ७० प्रतिशत आंशिक प्राध्यापकलाई विश्वविद्यालयले व्यवस्थापन गर्न आन्दोलनरत प्राध्यापकको माग छ । गत शुक्रबारदेखि समस्या समाधानका लागि त्रिभुवन विश्वविद्यालय उपकुलपतिका प्रतिनिधिको रुपमा पृथ्वीनारायण क्याम्पसमा ३ सदस्यीय कार्यदल खटिएको छ ।

Advertisement

शनिबार उक्त कार्यदलसँग क्याम्पस प्रशासन र आंशिक प्राध्यापकबीच पहिलो चरणको वार्ता भएको थियो । तर, आंशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसका अध्यक्ष सुनील गौतमले तयारी नगरी कार्यदल आएको आरोप लगाए । ‘लामो समयदेखि कम ज्यालामै पढाइरहेका छौं, यसको उचित व्यवस्थापन हुनुपर्छ,’ आंशिक प्राध्यापक संघ पृथ्वी नारायण क्याम्पसका अध्यक्ष सुनील गौतमले भने, ‘वार्ता गर्न टोली गठन गरिए पनि समस्या समाधान होइन, त्यसलाई आलटाल गरेर झन् समस्या थप्न आएको जस्तो देखियो ।’

पृथ्वीनारायण क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट क्याम्पसको उपाधिप्राप्त र विश्वविद्यालय अनुदान आयोगबाट क्युएए सर्टिफिकेट प्राप्त शैक्षिक संस्था हो । क्याम्पसमा करिब १४ हजार विद्यार्थी अध्ययन गर्छन् । आंशिक प्राध्यापकले पढाइ बहिस्कार गरे पनि स्थायी प्राध्यापकले पढाइ निरन्तरता दिएका छन् ।

Advertisement

आंशिक प्राध्यापक विष्णु गौतमले आफूहरुले स्थायी वा करार नमागेको तर श्रमको मूल्यांकन मागेको दाबी गरे । ‘डिग्री गरेर पनि मासिक ६÷७ हजारमै १४ वर्षदेखि टियुको पेन्डुलम भइराख्या छौं । एउटै काम गर्ने अन्य प्राध्यापकले महिनाको ६०÷७० हजार ज्याला बुझ्दा हामी रित्तै हुनुपरेको छ,’ उनले भने, ‘हामीले करार वा स्थायी मागेका होइनौं । हाम्रो काम अनुसारको ज्यालाको सुनिश्चिता होस् भन्ने मागमात्रै राखेका हौं ।’ क्याम्पसमा कार्यरत २ सय १८ जना आंशिक प्राध्यापक सामूहिक राजीनामा दिने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

टियुको समस्या टियुले सम्बोधन गरोस्ः क्याम्पस प्रमुख
पृथ्वीनारायण क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापाले त्रिभुवन विश्वविद्यालयले उब्जाएको समस्या क्याम्पसमाथि थुप्रिएको बताए । उनले समस्याको हल पनि टियुले नै सुल्झाउन सक्ने बताए । ‘यो आंगिक क्याम्पस हो । त्यसकारण पनि यसका हरेक समस्या टियुसँग जोडिन्छन्,’ उनले भने, ‘अहिलेको समस्या पनि टियुले नै सम्बोधन गरोस् ।’

थापाले टियुले समस्या समाधान गर्न ३ सदस्यीय कार्यदल गठन गरेको र उनीहरुले अध्ययन गरिरहेको जानकारी दिए । ‘गठित टोलीले अहिले हरेक डिपार्टमेन्टमा अध्ययन गरिरहेको छ । यसले के रिपोर्ट निकाल्छ त्यसपछिमात्रै यो समस्याबारे थाहा हुन्छ,’ उनले भने । उनले आंशिक प्राध्यापकलाई आफ्नो समस्याका कारण विद्यार्थीको पढाइ नरोकिदिन पनि आन्दोलनरत पक्षसँग माग राखे ।

आन्दोलनरत प्राध्यापकका कारण पढाइ अनियमित भएको र चाँडै त्यसको समाधान गरी पढाइलाई निरन्तरता दिन माग राख्दै विभिन्न विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । उनीहरुले सिर्जित समस्यालाई वार्ताद्वारा समाधान गरी विद्यार्थीको पढाइ अगाडि बढाउन आग्रह गरे ।

अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष राजन शर्माले कुनै पनि बहानामा विद्यार्थीको पढाइ प्रभावित गर्न नहुने बताए । उनले भने, ‘सोमबारदेखि क्याम्पसमा नियमित पढाइ नभए विद्यार्थी आन्दोलनलाई थप सशक्त ढंगबाट अघि बढाउँछौं । त्यसबाट हुने क्षति प्रशासनले बेहोर्नुपर्छ ।’

नेपाल विद्यार्थी संघ क्याम्पस समिति सभापति दीपक शर्माले विद्यार्थीको पढ्न पाउने अधिकारका लागि सबै विद्यार्थी संगठन मिलेर आन्दोलन गर्न तयार रहेको बताएल । ‘भोलि (सोमबार)देखि के नेविसंघ के अनेरास्ववियु सबैले विद्यार्थीको अधिकार रक्षा गर्न प्रशासनसँग आन्दोलन गर्ने तयारी गरेका छौं, आशा गरौं हामी आन्दोलनमा उत्रन नपरोस्,’ उनले भने ।

तपाईको प्रतिक्रिया