१८ औं आहा रारा गोल्डकप फागुन २२ देखि

समाधान संवाददाता २०७६ माघ २० गते १२:२३

समाधान संवाददाता
पोखरा

सहारा क्लबले गर्दै आएको आहारारा गोल्डकपको १८ औं संस्करण फागुन २२ बाट सुरु हुने भएको छ । चैत २ गतेसम्म चल्ने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १० टिम सहभागी हुने आयोजकले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा कम्तीमा २ विदेशी टिम ल्याउने आयोजकको लक्ष्य छ । ‘भुटान, भारत लगायतका राष्ट्रसँग कुरा भइरहेको छ । कम्तीमा २ विदेशी टिम ल्याउने गरी गृहकार्य गरिरहेका छौं,’ क्लब अध्यक्ष केशव थापाले भने । अखिल नेपाल फुटबल संघ एन्फाले १० दिनभित्र सबै खेल सञ्चालन गरिसक्न भनेकाले यस पटकको संस्करणमा १० टिममात्रै सहभागी गराउन लागिएको उनले जानकारी दिए ।

Advertisement

प्रतियोगिताका लागि १ करोड १८ लाख आम्दानी र ९९ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । क्लबले खेल मिति सार्वजनिक गरे पनि पुरस्कार रकम सार्वजनिक गरेको छैन । ‘एन्फाको नयाँ नियमले मोफसल क्लबका लागि पुरस्कार रकम बाँडफाँट गरेको छ । पुरस्कार रकम केही समयपछि घोषणा गर्छौ,’ अध्यक्षले थापाले भने ।

प्रतियोगिताले पोखरालाई स्पोर्टस् हबका रुपमा पनि चिनाउने विश्वास क्लबका महासचिव रामजीप्रसाद अधिकारीले दाबी गरे । ‘पोखरालाई यस प्रतियोगिताले स्पोर्टस् हबका रुपमामात्रै चिनाउने छैन । यसले भ्रमण वर्षलाई पनि सघाउने विश्वास लिएका छौं,’ उनले भने । सहारा क्लबले सञ्चालन गरिरहेको सहारा फुटबल एकेडेमीमा हाल १५ जिल्लाका २४ जना बालबालिका आश्रित छन् । क्बलले पोखरा–१७ दोबिल्लामा फुटबल एकेडेमी स्थापना गरेको छ ।

Advertisement

तयार छैन पोखरा रंगशाला !
१८ औं आहा रारा गोल्डकप पोखरा रंगशालामा हुने आयोजकले घोषणा गरेको छ । तर, निर्धारित खेलहरु त्यहाँ हुनेमा शंका छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पोखरामा भएका खेलपश्चात अहिले रंगशालामा कुनै पनि खेल हुन सकिरहेका छैनन् ।

सागपछि रंगशालाका फुटबल मैदान लगायत अन्य भौतिक पूर्वाधार पुनर्निर्माणकै क्रममा छन् । सागमा समेत रंगशाला पूर्ण तयार भएको थिएन । तर, पूर्व घोषित तालिका अनुसार मैदानको दुबो फेर्दै प्रतियोगिता सञ्चालन गर्नु परेको थियो । सागमा महिला फुटबल प्रतियोगिता पोखरा रंगशालामा भएको थियो । जसमा अधिकांश प्रशिक्षकले रंगशाला खेलका लागि उपयुक्त नभइसकेको प्रतिक्रिया दिएका थिए ।

रंगशाला तयार नभएकै कारण केही दिनअघि भएको गण्डकी प्रदेश मुख्यमन्त्री कपसमेत भण्डारढिकमा गर्नु परेको थियो । मुख्यमन्त्री कप रंगशालामा नभई भण्डारढिकमा सञ्चालन गरिएको विषयमा प्रदेश सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ र एन्फा कास्की अध्यक्ष मिलन गुरुङबीच विवाद पनि भएको थियो ।

रंगशाला पुनर्निर्माणको जिम्मा भारतको ग्रेट स्पोर्टस् इन्फ्रा (जिएसआई) र नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीले लिएका छन् । रंगशालामा करिब १० हजार सिट क्षमताको प्यारापिट बनाउने जिम्मा ठेकेदार कम्पनीले लिएका छन् । गत १३ औं सागमा ३९ सय सिट क्षमताको प्यारापिट जडान गरिसकेको थियो ।

सहारा क्लब अध्यक्ष केशव थापाले भने प्रतियोगिता १ महिनापछि खेल सुरु हुने भएकाले त्यतिबेलासम्म रंगशाला तयार भइसक्ने दाबी गरे । ‘पोखरा रंगशालामै खेल सञ्चालन गर्न सरोकारवाला निकायलाई पत्राचार गरिसकेका छौं । आशा छ सबैबाट सकारात्मक सहयोग पाउने छौं,’ उनले भने ।

रंगशाला निर्माण पूरा नभएसम्म कुनै क्रियाकलाप नगरिदिनुहोस्ः निर्माण कम्पनी
पोखरा रंगशालामै १८ औं आहारारा गोल्डकप सञ्चालन गरिने आयोजक सहारा क्लबले बताएपनि रंगशाला पुनर्निर्माणको जिम्मा पाएको कम्पनीले भने विरोध गरेको छ ।

नेपाली कम्पनी एमए कन्स्ट्रक्सन जेभीका दीपक बराल भने रंगशालामा पुनर्निर्माण पूरा नभएसम्म कुनै क्रियाकलाप नगरिदिन आग्रह गरेका छन् । उनले निर्माणाधीन रंगशालामा खेलकुद कार्यक्रम गर्दा निर्माण जिम्मा लिएको कम्पनीसँग सल्लाह लिइदिन पनि आगह्र गरे ।

‘निर्माण काम सकिएकै छैन । यसअघि १३ औं साग पनि हामीले बाध्य भएर आयोजना गर्न दिएका थियौं । त्यसले अहिलेसम्म काम प्रभावित भएको छ,’ बरालले समाधानसँग फोन सम्पर्कमा भने, ‘राखेपलाई पनि हामीले पत्राचार गरेका थियौं । तर, रंगशाला पूरा निर्माण नहुँदै उहाँहरुले स्वीकृति दिनु भएछ ।’ उनले रंगशाला निर्माण भइरहेकै बेला पनि विभिन्न कार्यक्रम गर्न ‘प्रेसर’ आउने गरेको दुखेसो पोखे ।

‘रंगशालामा खेल भए भइरहेका अरु काम पनि रोक्नु पर्छ,’ बरालले भने, ‘रंगशाला तयार छ कि छैन भन्ने कुरामा कम्तीमा हामीसँग पनि सल्लाह त लिनु पर्‍यो । यसले काममा ढिलाइ हुन्छ कि रोकिएको समयको म्याद थप हुनुपर्‍यो ।’ उनले रंगशालामा पिचको काम निरन्तर वर्षातका कारण ढिलाइ हुन पुगेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया