जिप फ्लायरमा त्यो डेढ मिनेटको उडान

समाधान संवाददाता २०७६ माघ २० गते १२:५९

विष्णुकान्त घिमिरे

अघिल्लो दिनको झरीले खुलेको नीलो आकाश ।

उत्तरतर्फ लहरै हाँसेका हिमाल । बिहानी किरणले रंगाउँदै गरेको फेवाको पानीसँगै मन पनि चन्चल अनि तरंगित भयो ।

सराङकोट उक्लने अनि माछापुच्छ्रेसँग आमनेसामने नजर जुधाउने इच्छा मनमा त छँदै थियो । घुमन्ते जीवन अनि विभिन्न एड्भेचनर्स खेलको पारखी म, यसअघि पनि पोखरा नआएको भने होइन तर शुक्रबार भने संसारकै उत्कृष्ट मध्येको एक जिप फ्लायरमा हुइँकिने अभिलाषाले त्यहाँ पु¥यायो ।

हाइ ग्राउड एडभेन्चर प्रालि (बन्जी पोखरा र जिप फ्लायर नेपालको सञ्चालक कम्पनी) का चिफ अपरेटिङ अफिसर दिनेश महर्जनको पुरानो निम्तो पनि त थियो ।

लागें हाइ ग्राउन्डको लेकसाइड अफिसतिर । छ जना ताइवानी पाहुनासँगै म पनि भ्यानमा बसें सराङकोट उक्लन । सराङकोटको शिरबाट उत्तरमा माछापुच्छ्रे अनि दक्षिणमा फेवा र पोखरा नियाल्ने मौका,हामी सबै रोमान्चित थियौं जिपलाइनको एडभेन्चर अनुभव गर्न ।

सराङकोट उक्लने नागबेली बाटो आफैंमा अर्को एडभेन्चर । पहिले भ्यु पोइन्ट मात्र रहेको सराङकोट अहिले प्याराग्लाइडिङको देशकै उत्कृष्ट थलो बनेको छ अनि दस वर्षदेखि सन्चालित नेपालकै पहिलो जिप फ्लायर पनि यहीँ छ । दर्जनौं प्याराग्लाइडिङ कम्पनीले दैनिक हजारौं रकम पोखरेली माटोमा सिञ्चित गरेका छ्न् । तर दुर्भाग्य, यिनै एडभेन्चर गर्न निस्कने बाटो सरकारको प्राथमिकतामा परेन । कठै !

नागबेली बाटो काट्दै करिब ४५ मिनेटको यात्रामा हामी सराङकोटको टुप्पोमा पुग्यौं । जिप फ्लायरको टप स्टेसन सराङकोटको टुप्पोमै रहेछ । अघिल्लो वर्ष अन्नपूर्ण बेस क्याम्प जाँदा दायाँ फन्को मारेको माछापुच्छ्रे बादलुको घुम्टो फ्याकेर हामीलाई देखेर मुस्कानसहित स्वागत गरिरहेको जस्तो भान भयो ।

यता शान्त फेवाको आकाशमाथि दर्जनौं ग्लाइडरहरू सलबलाउन थालिसकेका थिए । चराजस्तै स्वतन्त्ररूपमा आकाशमा उडिरहेका थिए । प्रकृतिको अनुपम सिर्जना अनि पर्यटन प्रेमीको ढुक्कको लगानीले नै आज पोखरा देशकै पर्यटकीय राजधानी बनेको छ ।

राइड सुपरभाइजर हरि चापागाईं, राइड असिस्टेन्ट मनोज र विष्णुले मुस्कानसहितको आत्मीय सत्कार गरे । जिप फ्लायरअघि हरिले ब्रिफिङ गरे । हार्नेसमा बस्ने तरिका र सुरक्षा सावधानीका कुरा बताएपछि मन अलि ढुक्क भयो । आत्तिनेहरूलाई ‘एड्भेन्चर क्रु’को हौसलाले एडभेन्चरमा थप ऊर्जा दिन्छ ।

कसैले प्ल्याटफर्मबाट फर्कन खोजे दस वर्षदेखिको शून्य दुर्घटना र उच्च सुरक्षा सतर्कताको कुरादेखि जिप फ्लाइ नगरेमा आफूले ‘अमेजिङ भ्यु’ हेर्ने मौका गुमाउने भन्दै हौस्याउँदा रहेछ्न् क्रु मेम्बरले ।

हामी समुन्द्री सतहदेखि एक हजार पाँच सय पचास मिटरको उचाइमा थियौं । भर्टिकल ड्रप छ सय मिटरमा एक हजार आठ सय ५० मिटर दूरी पार गर्नु थियो । औसत गति १२० किमी प्रतिघण्टा रहेको जिप फ्लाइ पूरा गर्न बढीमा पनि २ मिनेट लाग्ने रहेछ ।

३५ देखि १२० किलोसम्मका व्यक्तिले खेल्न सक्ने जिप फ्लायर १३ वर्षदेखि माथिका व्यक्तिले गर्न सक्ने रहेछन् । ब्रिफिङ सकेर प्ल्याटफर्म उक्लेपछि अचानक मुटुको ढुकढुकी बढ्न थाल्यो । यसअघि रोमान्चक मानिने खेलहरू रक क्लाइम्बिङ,क्यानोनिङ,बन्जी, जिप लाइनको अनुभव लिइसके पनि मनमा एक किसिमको डर भने हुँदो रहेछ ।

एकातिर माछापुच्छ्रेको दृश्यले लोभिँदै थिएँ भने अर्कोतर्फ तल हेम्जा फाँटको ग्राउण्ड स्टेसन हेर्दा मनै सिरिङ हुने । सुरूमा पालो आयो ताइवानी साथीहरूको । कोही एक्साइटेड हुँदै झरे । कोही नर्भस हुँदै । अरु डराएको देखेर हाँसिन्छ, आफ्नो पालोमा हालत के होला? मनमा यी अनि यस्ता कुरा खेल्दै थिए । त्यस्तैमा मेरो पालो आयो ।

हरिले सिटसहितको हार्नेसमा बसाले । गोडालाई ‘भि सेप’मा राखेर अगाडिको स्टिल बारलाई धकेल्दै गर्दा मेरो भार फलामे तारमा अड्काइएको घिर्नीले थेगिरहेको थियो ।

मनमा डर अनि खुसी दुवैले डेरा जमाएको थियो । डर यसकारण कि १२० किमी प्रतिघण्टामा एक हजार आठसय ५० दूरी पार गर्नु थियो अनि खुसी यसकारण कि माछापुच्छ्रेसँग जिस्कँदै जिप फ्लायरको अनुभव संगाल्दै थिएँ ।

जब हरिले थ्री टु वान गनेर स्टिल बार खोले अनि म हुत्तिएँ डोरीको सहायताले हावामा । आखिर हामीलाई खाने मनको बाघले न हो । डर हरायो ।

म निस्फिक्री हावामा कावा खाँदै थिएँ । १२० किमी प्रतिघन्टाको गतिमा हुत्तिँदै थिएँ । एकैछिन त संसारै भुलेजसो भो । माछापुच्छ्रेको चिसो झोका मेरा गालामा स्पर्श गर्दा मन पुलकित भइरहेको थियो । त्यो डेढ मिनेटको उडान वास्तवमै स्वर्गीय आनन्दको रह्यो । आफ्नै संसारमा रमाउँदै, आफैंमा हराउँदै अनि माछापुच्छ्रेलाई जिस्काउनु मज्जा शब्दमा वर्णन गर्न सकिँदैन ।

नेपाली चाडपर्वका बेला आन्तरिक पर्यटक र अन्य समय विदेशी बढी यहाँ आउँदा रहेछ्न् । नेपालीलाई चार हजार पाँच सय रुपैयाँ र विदेशीलाई आठ हजार पाँच सय रहेको जिप फ्लाइको फोटो भिडिओ एक हजार आठ सय तिरेर लिन सकिन्छ ।

जिपलाइनकै ग्राउन्ड स्टेसनमा ६० मिटर अग्लो बन्जी समेत छ । क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको टावरमा कैयौं पर्यटक जिप फ्लाइ सकेर बन्जी गर्दा रहेछ्न् । हाल बन्जी र जिप फ्लायर सञ्चालन गरिरहेको कम्पनीले हेम्जामा छिट्टै अर्को एडभेन्चर प्रोडक्ट एटिभी बाइक सुरू गर्दैछ । हेम्जादेखि लेकसाइड छोड्ने व्यवस्था पनि कम्पनीले नै गर्छ । प्राकृतिक सुन्दरतासँगको साक्षात्कार, थ्रिल सहितको उडान र कर्मचारीको आत्मीयपनले यो यात्रा अविस्मरणीय रहिरहनेछ ।

तपाईको प्रतिक्रिया