कोरोना संक्रमणले पर्यटनमा धक्का

समाधान संवाददाता २०७६ माघ २० गते १५:२०

समाधान संवाददाता
काठमाडौं

सरकारले चीनमा देखिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्न सक्ने प्रभावलाई मध्यनजर गरी वेकल्पिक पर्यटन बजार खोजी गर्ने भएको छ । प्रमुख पर्यटकीय स्रोत बजारका रुपमा रहेको चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा प्रभाव पार्ने सम्भावित जोखिम नियन्त्रण र वैकल्पिक पर्यटन बजारको खोजी गर्न लागिएको हो ।

कोरोनाको प्रभावका कारण चीनबाट नेपाल आउने पर्यटकको कमी पूर्ति गर्न अन्य बजारको खोजी गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १ समिति गठन गरी कामअघि बढाएको छ । यो प्रयोजनका निम्ति मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मी रहेको समिति बनाइएको छ । समितिलाई ३ दिनभित्र संक्रमण व्यवस्थापनका लागि वैकल्पिक बजारका लागि प्रस्तावसहितको प्रतिवेदन मन्त्रालयसमक्ष पेश गर्न निर्देशन दिइएको छ ।

Advertisement

चीनबाट हुन सक्ने पर्यटकको कमीलाई पूर्ति गर्न वैकल्पिक बजार खोजी भइरहेको पर्यटनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए । कोरोना भाइरसको प्रकोपले नेपालको पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिम न्यूनीकरणका विषयमा आइतबार सरोकारवालासँगको छलफलमा उनले वैकल्पिक बजारका रुपमा खाडी मुलुक लगायतका गन्तव्यमा पर्यटन प्रवद्र्धनको काम तत्कालअघि बढाउन आग्रह गरे ।

चिनियाँ पर्यटक कम आउने तथा होटल, एयरलाइन्सले पनि आफ्ना सेवामा कटौती गर्न थालेका सन्दर्भमा वैकल्पिक बजार खोज्नु नेपालका लागि अपरिहार्य भइसकेको छ । सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष अभियानका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्षको औपचारिक शुभारम्भ गरी प्रवद्र्धनात्मक गतिविधि सञ्चालन भइरहेका छन् । भ्रमण वर्ष अवधिमा चीनबाट मात्रै ५ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य थियो ।

Advertisement

तर, यो लक्ष्यलाई अहिले चीनमा देखापरेको कोरोना भाइरसको प्रकोपले प्रत्यक्ष असर पुग्ने देखिएको छ । चीनमा फैलँदै गएको कोरोना भाइरसको प्रत्यक्ष प्रभाव नेपालको पर्यटन क्षेत्रमा पर्न जाने सम्भावना औंल्याउँदै सरोकारवालाले पनि वैकल्पिक बजार खोजी गर्न आग्रह गर्दै आएका छन् ।

नेपालको प्रमुख पर्यटकीय स्रोत बजार चीनबाट वार्षिकरूपमा २ लाखभन्दा बढी पर्यटक नेपाल आउने गरेका छन् । पछिल्ला ४ वर्षको आँकडा हेर्दा चिनियाँ पर्यटकको संख्यामा निरन्तर बढोत्तरी भइरहेको छ । पर्यटन बोर्डका अनुसार चीनबाट सन् २०१६ मा १ लाख ४ हजार ५, सन् २०१७ मा १ लाख ६ हजार र सन् २०१८ मा १ लाख ५३ हजार ६ सय ३३ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । अध्यागमन विभागको प्रारम्भिक तथ्यांक अनुसार सन् २०१९ मा झण्डै १२ लाख पर्यटक नेपाल आएका छन् ।

यीमध्ये चीनबाट सर्वाधिक १ लाख ६९ हजार पर्यटक नेपाल भित्रिएका छन् । सन् २०१८ मा १२ लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । मन्त्री भट्टराईले भ्रमण वर्ष मनाइरहेका बेला चीनबाट हुन सक्ने पर्यटकको कमीलाई अन्य गन्तव्यबाट पूर्ति गर्ने गरी बजार पहिचान र प्रवद्र्धनको कामलाई प्रभावकारी रुपमा अघि बढाइने बताए । उनले भ्रमण वर्षको अवधिमा चीनबाट बढीभन्दा बढी पर्यटक भिœयाउन चीनले माथिल्लो निकायदेखि तल्लोतहसम्म चासो दिएको जानकारी गराए । ‘नेपाल अहिले पनि पर्यटनका हिसाबले सुरक्षित छ, सरकार सजग र संवेदनशील भएर लागेको छ’, उनले भने।

पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले चीनबाट हुने पर्यटकीय क्षतिलाई पूर्ति गर्न अन्य पर्यटकीय गन्तव्य बजार खोजी र प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए । पर्यटन विभागका महानिर्देशक घिमिरेले चीनसँग सीमा जोडिएका नाकामा स्वास्थ्य कक्ष खडा गरी निरन्तर अनुगमन भइरहेको जानकारी दिए । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अध्यागमनमा कुनै समस्या नरहेको तर कोरोनाको अनावश्यक प्रचार भइरहेको गुनासो गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले कोरोनाको सम्भावित जोखिम न्यूनीकरणका लागि विमानस्थलले विशेष सतर्कता अपनाएको बताए । नेपाल वायु सेवा निगमका निर्देशक जनकराज कालाखेती निगमका गन्तव्यमा कोरोना भाइरसको प्रकोप नरहेको र सम्भावित जोखिम नियन्त्रणका लागि आन्तरिक प्रयास गरिएको उल्लेख गरे । हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले चीनका केही गन्तव्यमा छोटो अवधिका लागि उडान सेवा स्थगन गरिएको बताए ।

होटल एसोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले होटल क्षेत्रमा अहिलेसम्म प्रभाव नपरेको र सदस्य होटललाई सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खोमबहादुर सुवेदीले सरकारी निकायबाट कोरोनाको प्रकोप नरहेको सन्देशसहितको विज्ञप्ति जारी गरिनुपर्नेमा जोड दिए ।

चीनमा रहेका नेपाली सुरक्षित रहेको र कोरोना भाइरसको प्रकोपबाट चीनमा रहेका नेपाली सुरक्षित रहेको पर्यटन मन्त्रालयले जनाएको छ । नेपालस्थिति चिनियाँ दूतावास र चीनस्थित नेपाली दूतावासको समन्वयमा जानकारी लिइरहेको र हालसम्म कुनै समस्या नरहेको पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया