मुस्ताङमा पर्वतीय तेश्रो राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न

समाधान संवाददाता २०७६ माघ २० गते १६:२३

नेपाल स्की सघते मुस्ताङमा आयोजना गरेको तेश्रो राष्ट्रिय स्की च्याम्पिनसीपका सहभागी खेलाडीहरु । तस्विरः एसके थकाली ।

एसके थकाली
जोमसोम

हिउँ पर्यटक प्रर्वद्धन, स्की खेलको विकास तथा सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० बर्ष सफल पार्न हिमाली जिल्ला मुस्ताङको मुक्तिक्षेत्रमा यसपटक पनि सोमबार तेश्रो राष्ट्रिय स्की च्याम्पियनसीप भयो । नेपाल स्की संघले आयोजना गरेको स्की च्याम्पियनसीपमा ४ जिल्लाका कुल ३३ खेलाडीले सहभागीता जनाए ।

Advertisement

स्कीका ३ बिधालाई मुख्य आधार बनाएर खेलाईएको च्याम्पियनसीपमा हिउँमा खेल्ने अभ्यासरत खेलाडीलाई एकआपसमा प्रतिस्पर्धा गराईएको थियो । खेलको क्रस कन्टी बिधातर्फ महिला खेलाडी सुजता नामपुर च्याम्पियन भईन् भने ईशा तामाङ दोश्रो भईन् । यसका अतिरिक्त क्रस कन्टीमा थुप्तेन लामा र चिनार तामाङ तेश्रो र चौथो भए । यस्तै, स्नो बोडिङ स्कीतर्फ बिशाल तामाङ प्रथम, नविन तामाङ दोश्रो र छिरिङ तामाङ तेश्रो भए ।

अल्पाईन स्कीतर्फ सिनियर र जुनियर गरी २ समुहमा पुरुष र महिलाबीच अलग–अलग प्रतिस्पर्धा गराईएको थियो । स्की कोअर्डिनेटर अर्जुन महर्जनका अनुसार अप्लाईन स्कीको सिनियर पुरुष तर्फ साहसराम श्रेष्ठ प्रथम, सुकदेव थापा र प्रगुन महर्जन तेश्रो भए । महिला सिनियर अल्पाईन तर्फ गौरीमाया तामाङ प्रथम, संगिता लामा दोश्रो र लक्ष्मी राई तेश्रो भईन् । अप्लाईन स्कीको जुनियर पुरुष तर्फ सागर तमाङ प्रथम, उमङ्ग रञ्जित दोश्रो र किरण रञ्जित तेश्रो भए । महिला तर्फ लाक्पा डोल्मा शेर्पा प्रथम, आरसी महर्जन दोश्रो र उजला मुनिकार तेश्रो भईन् ।

Advertisement

च्याम्पियनसीपका लागि मुक्तिक्षेत्रको सेताम्मे हिउमा २ दिन सम्म खेलाडीहरुलाई प्रशिक्षण गराईएको स्की संघका सचिव बशन्तराज कार्कीले बताए । उनका अनुसार स्की संघमा आवद्ध स्की खेलाडीलाई बिहान ८ बजे देखि साझ ४ बजे अभ्यास गराई च्याम्पियनसीपमा सहभागी गराईएको सचिव कार्कीले जानकारी दिए । स्की अभ्यासका लागि क्याप्टेन बुद्धिप्रसाद गुरुङ, रामबहादुर गुरुङ, शेरबहादुर गुरुङ र क्याप्टेन धुब्र सेन खटिएका थिए । स्की प्रशिक्षण लिनेमा केही ओलम्पिक खेलमा भाग लिएका खेलाडी छन् ।

सोमबार स्कीका ३ वटै बिधाका च्याम्पियन तथा बिजेता टोलीलाई ओलम्पिक कमिटी तथा स्की संघका अध्यक्ष एवं संघिय सांसद जिवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, प्रदेश सांसद महेन्द्रबहादुर थकाली लगायतले संयुक्त रुपमा मेडल तथा प्रमाणपत्रले पुरस्कृत गरे । स्की च्याम्पियनसीपको समापन समारोहमा बोल्दै स्की संघ अध्यक्ष एवं सांसद जिवनराम श्रेष्ठले नेपाली खेलाडीहरुलाई माउन्टेन अनुकुल खेलको तालिम संञ्चालन गरी अन्तराष्ट्रिय प्रतियोगिता सहभागी गराउने संघको मुख्य उद्देश्य रहेको बताए । राखेपका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाले बेमौसमे सिजनमा हिउसंग जोडेर खेलाईने खेलको विकासले नेपालको पर्यटनक्षेत्रलाई योगदान पुग्ने बताए । कार्यक्रममा गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली, स्की संघका महासचिव विजय श्रेष्ठ, वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ, प्रजिअ बेदप्रसाद अर्याल र संघका उपाध्यक्ष माधव अर्याल लगायतले नेपालमा स्की खेलको संम्भावना,पर्यटन बिकास र यसको चुनौतिका विषयमा आ–आफ्ना धारण राखे ।

नेपाल स्की संघले मुस्ताङमा संम्पन्न गरेको स्की च्याम्पियन २०७६ संगै ३ वटा संस्करण पुरा गरेको छ । संघले पहिलो स्की रसुवाको क्यान्जेन भ्यालीमा गरेको थियो भने दोश्रो र तेश्रो मुस्ताङमा भएको हो । संघले मुक्तिक्षेत्रको रानीपौवा बजारको पाखोमा स्की खेलाएको थियो । हिउँदयाममा स्की प्रमोसन गर्नसके बजारक्षेत्रका युवाहरु स्की खेल्न उत्प्रेरित हुने संघको भनाई छ । नेपालमा अरु खेल जस्तै स्कीको नियमित अभ्यास गर्न सके अन्तराष्ट्रिय ईभेन्टमा नेपालको संम्भावना बलियो हुने उपाध्यक्ष बशन्तराज कार्कीले दावी गरे । संघले हिउसंगै लुकामारी खेलिने यस्ता ईभेन्टलाई राज्यले संम्वोधन गर्नुपर्ने जनाएको छ । मुस्ताङमा यसपटक भएको स्की च्याम्पियनसीपमा स्थानीय युवायुवतीले समेत स्कीको अनुभव लिएका छन् ।

तपाईको प्रतिक्रिया