मुस्ताङमा १२ हजार स्याउ रोपिँदै

समाधान संवाददाता २०७६ माघ २३ गते १२:३०

एसके थकाली
जोमसोम

मुस्ताङमा बर्सेनि स्याउ खेती हुने क्षेत्रफल बढेको छ । पछिल्लो समय खेतबारी र बाँझो जमिनमा स्याउका बेर्ना लगाउन थालिएको छ । सडक सञ्जालले जोडिएपछि बजारको कुनै समस्या छैन ।

मुस्ताङी स्याउको माग मात्र बढेको छैन, स्याउ बेर्नाको माग पनि बढेको छ । मुस्ताङमा बर्सेनि करिब १२ हजार स्याउका नयाँ विरुवा रोपिन्छन् । पछिल्लो समय मुस्ताङका ५ वटै स्थानीय तहमा स्याउ खेती गर्न थालिएको छ । स्याउबाट मनग्ये आम्दानी लिन सकिने भएकाले किसान स्याउ खेतीमा आकर्षित भएका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वन इकाइ स्याउ जोन मुस्ताङका अनुसार बर्सेनि यहाँ करिब १ सय हेक्टर जमिनमा स्याउका बेर्ना लगाइने गरिएको छ ।

बागवानी विकास केन्द्र मार्फाले याउका बिरुवा उत्पादन गर्छ भने थासाङ १ टुकुचेमा स्याउका विरुवा उत्पादन गर्ने निजी फर्म शेर्पा स्याउ नर्सरी छ । बागवानीले बर्सेनि २३ हजार बेर्ना उत्पादन गर्ने गर्छ । उत्पादन गरिएका बेर्ना ६० प्रतिशत मुस्ताङमै बिक्छन् । बाँकी बेर्ना सिन्धुपाल्चोक, रोल्पा, बाग्लुङ, सोलुखुम्बु लगायतका जिल्ला पठाइन्छन् । शेर्पा नर्सरीले पनि बर्सेनि १० हजार बिरुवा बिक्री गर्ने गरेको सञ्चालक राजन शेर्पाले बताए । तर, गण्डकी प्रदेशले चालु आवमा हिमाली जिल्लालाई दिने भनिएको १ लाख स्याउका बेर्ना मुस्ताङका किसानले अझै नपाएको भीषण थकाली बताउँछन् ।

उनले पालिकाले स्याउ काटछाट र स्याउको रेखदेख तालिम दिए पनि बजारीकरणमा ध्यान नदिएको गुनासो गरे । थकालीले स्याउको आम्दानीमा मात्र ध्यान दिनुभन्दा अब गुणस्तरीय उत्पादनमा पनि सजग हुनुपर्ने औंल्याए ।

मुस्ताङमा १ हजार ३ सय हेक्टरमा स्याउ खेती गरिन्छ । आधा दर्जन बढीले सामुदायिक रुपमा पनि खेती गरेका छन् । उनीहरुले खेर गइरहेका सार्वजनिक जमिनमा स्याउ खेती गरेका हुन् । पछिल्लो समय लगाइएका स्याउमध्ये करिब ५ सय हेक्टरका बोटले फल दिएको स्याउ जोनले जनाएको छ । गत वर्ष १२ हजार स्याउका बेर्ना किसानले लगाएका थिए । सोही मात्रामा यसपालि पनि स्याउका बेर्ना खपत हुने अनुमान छ । आर्थिक वर्ष २०७४÷०७५ मा ५ हजार ३ सय मेट्रिक टन र २०७५÷०७६ मा ५ हजार ८ सय मेट्रिक टन स्याउ उत्पादन भएको थियो । चालु वर्षमा ६५ सय मेट्रिक टन स्याउ फलेको स्याउ जोन कार्यालयले जनाएको छ ।

रोग हटाउन काटछाट
स्याउ उत्पादनमा प्रसिद्ध मुस्ताङमा यतिखेर स्याउका रुख काटछाट गर्ने चटारो छ । बर्सेनि यहाँका किसानले मंसिरदेखि माघसम्म स्याउको बोट काटछाट गर्छन् । काटछाटका क्रममा स्याउमा देखिने विभिन्न संक्रमण नियन्त्रण गर्न औषधी पनि लाइन्छ ।

भदौदेखि पाँक्न सुरु गर्ने यहाँको स्याउ हरिया पातसँगै बोटमा लटरम्म फल्न थाल्छन् । यसरी फलेका ८० प्रतिशत स्याउ ठेकेदारले बोटबाटै टिपेर बजार पुर्‍याउछन् भने बाँकी स्याउ स्थानीय स्तरकै बजारमा खपत हुन्छ । असोजसम्म लटरम्म फलेका स्याउँ मंसिर लागेपछि नाङ्गा हुन्छन् । स्याउ टिपेपछि क्रमश बोटका पात झर्छन् । पात झरेपछि गरिन्छ स्याउ काटछाट ।

स्याउका बोटमा पलाउने अनावश्यक हाँगा नियन्त्रण गर्दा राम्रो उत्पादन हुने शितोष्ण बागवानी विकास केन्द्रका वरिष्ठ अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए । स्याउ काटछाट गर्नाले चोर हाँगा हट्ने, धेरै र गुणस्तरीय फल लाग्नुका साथै बोटको आकार समान र आर्कषण देखिन्छ । यसबाट हावा र घाम बोटको सबै भागमा पुग्न पनि सहयोग मिल्छ । काटछाट गर्ने समयमा बोटमा लाग्ने रोगका विभिन्न औषधी प्रयोग गरिने वरिष्ठ अधिकृत अधिकारीले जानकारी दिए । शितोष्ण बागवानी विकास केन्द्रले बर्सेनि स्याउ काटछाट र विभिन्न रोग नियन्त्रण गर्न किसानलाई तालिमसमेत दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया