रोटरी सम्मेलनको तयारी पूरा

समाधान संवाददाता २०७६ माघ २४ गते १३:३३

समाधान संवाददाता
पोखरा

पोखरामा शुक्रबारदेखि सुरु हुने रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ को १२ औं डिस्ट्रिक्ट सम्मेलनको तयारी पूरा भएको छ । सम्मेलन पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा माघ २६ गतेसम्म हुनेछ । सम्मेलनका लागि पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा टेन्ट हालेर ३ हजार मानिस अटाउने कन्फरेन्स हल बनाइएको छ ।

रोटरी सम्मेलनका कार्यक्रम संयोजक गोपाल ध्वजूले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनले भने, ‘अब आएका पाहुनालाई स्वागत गर्ने र शुक्रबार उद्घाटन गर्नमात्र बाँकी छ ।’

Advertisement

डोममा भने देशका सबै रोटरी क्लबले गरेका कामको प्रदर्शनी गर्ने व्यवस्था मिलाइएको कार्यक्रम संयोजक ध्वजूले जानकारी दिए । दमौलीदेखि कार्यक्रम स्थल पोखरा प्रदर्शनी केन्द्र स्थलसम्म १० वटा स्वागतद्वार निर्माण गरिएको छ । कार्यक्रम स्थलमा सुरक्षा व्यवस्था चुस्त बनाइएको छ । कार्यक्रम स्थल सुरक्षित बनाउन १२ वटा सिसी क्यामरासमेत जडान गरिएको उनले बताए ।

सम्मेलनको रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहताले उद्घाटन गर्ने आयोजक क्लब गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार सम्मेलनमा रोटरी इन्टरनेसनलका प्रतिनिधि एन् विसेट एस्बोल, नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतले सम्बोधन गर्नेछन् ।

Advertisement

सम्मेलनमा करिब २ हजार ५ सय रोटरीयन सहभागी हुने आयोजकको अनुमान छ । नेपालका १ सय २४ र भुटानको एउटा रोटरी क्लबका सदस्य सम्मेलनमा सहभागी हुन आउने सचिव डिल्लीप्रसाद शर्माले बताए ।

सम्मेलनमा रोटरी क्लब र रोटरियनले गरेका कामको समीक्षा, अनुभव आदानप्रदान र आगामी वर्ष गरिने कामबारे छलफलसहित योजना बनाइने रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का १२ औं डिस्ट्रिक्ट गभर्नर श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया