चितुवाको निशानामा बालबालिका

समाधान संवाददाता २०७६ माघ २६ गते १३:१३

सुरेशराज अधिकारी
पोखरा

पोखरा महानगपालिका ३२ कोठेगाउँकी १ बालिकाको चितुवाको आक्रमणमा परी ज्यान गएको छ । बिहीबार साँझ साथीसँग खेलेर घरतर्फ फर्कंदै गरेकी पूजालाई बीच बाटोमा नै चितुवाले आक्रमण ग¥यो । बेलुकासम्म घर नफर्केपछि खोज्ने क्रममा उनको घरमा जाने बाटोसँगैको जंगलमा शव भेटियो । विभिन्न ठाउँमा रगत पनि देखियो । बालिकाको शव एउटा खुट्टा छुट्टिएको र घाँटीमा चिथोरेर क्षतविक्षत अवस्थामा घरभन्दा ३ सय मिटर तल जंगलमा भेटिएको थियो ।

‘भर्खरै स्कुलबाट आएर खाजा खाएपछि खेल्न जान्छु भनेर निस्केकी थिई, श्रीमान् पनि कामबाट फर्किसक्नुभएको थियो, आएपछि सानी छोरी (पूजा) सपना दिदीकोमा टिभी हेरेर बसेकी छे, अहिले आउली नि भन्नुभयो, अबेरसम्म नआएपछि गाउँभरि सोधखोज गर्यौं । पछि यस्तो अवस्थामा भेटियो,’ आमा अप्सराले रुँदै भनिन् ।

Advertisement

स्थानीय दुर्गा विकले उक्त गाउँ वरपर पहिलादेखि नै चितुवा कराउँदै हिँड्ने गरेको बताइन् । ‘यस्तो घटना होला भनेर सोचिएको थिएन,’ उनले भनिन्,‘यो घटनाले गाउँमा त्रास छाएको छ ।’ पछिल्लो समयमा गाउँ नजिकै जंगल बढ्दै गएका कारण डर बढ्दै गएको उनको भनाइ छ । गाउँमा ढुक्कसँग बस्न सक्ने वातावरण बनाउन सरकारले नै चितुवा नियन्त्रण गर्नुपर्ने दुर्गा बताउँछिन् । चितुवाबाट त्रसित स्थानीयले बस्ती नजिकैको झाडी फाँड्न पाउनुपर्ने माग गरेका छन् ।

गाउँको वरपर जंगल रहेकाले घटना दोहोरिन सक्ने भन्दै गाउँले त्रासमा रहेका वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए । नरभक्षी चितुवालाई नियन्त्रणमा लिन वन कार्यालय र प्रहरी प्रशासनसँग स्थानीयले आग्रह गरेका छन् ।

Advertisement

‘गाउँका बालबालिका जंगलको बाटो भएर नै विद्यालय जाने गर्छन्,’ डिल्लीराम विक भन्छन्, ‘विद्यालय पनि जंगलको बीचमा छ ।’ कोठेगाउँका ३५ जनाभन्दा बढी छन् । दिनभर बाबुआमा काम गर्न घरबाहिर निस्केको समयमा र बालबालिका विद्यालय आउने जाने क्रममा पनि असुरक्षित भएको उनी बताउँछन् ।

जंगली जनावरको आक्रमणबाट ज्यान गुमाउनेको परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ सरकारले उपलब्ध गराउने कानुनी प्रावधान छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख रामकाजी श्रेष्ठले पीडित परिवारका लागि शुक्रबार नै ५० हजार रुपैयाँ प्रदान गरेका छन् । मुचुल्का गरेपछि प्रक्रियामा गएर बाँकी ९ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने उनले जानकारी दिए । श्रेष्ठले नरभक्षी चितुवा तनहुँबाट आएको हुनसक्ने बताए । उनका अनुसार चितुवालाई नियन्त्रणमा लिन कर्मचारी र सुरक्षा निकायलाई खटाइएको छ ।

दूर्घटना न्यूनीकरणका लागि विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने, एफएम रेडियोबाट सचेतनामूलक सूचना प्रसारण गर्ने उनले बताए । अन्य समयभन्दा साँझको समयमा चितुवाले बढी आक्रमण गरेको पाइएको श्रेष्ठले सुनाए । बस्ती नजिकैको वनमा धेरै झाडी भएका कारण चितुवा लुक्न सजिलो भएको उनको भनाइ छ । झाडीको फँडानी गर्न लागि पहल गर्ने बताउँदै उनले चितुवा नियन्त्रणका लागि काम गरिने आश्वस्त पारे ।

चितुवा दिनमा कम्तीमा ४÷५ किलोमिटर हिँड्ने भएकाले जोडिएको जिल्लामा चितुवा आउजाउ भएको हुनसक्ने उनले बताए । घटनाको अघिल्लो दिनमात्रै सोही वडाको तल्लो गगनगौंडास्थित हिमालय आधारभूत विद्यालयमा पसेर आतंक मच्चाएकोे चितुवालाई वन कार्यालयले नियन्त्रणमा लिई चितवन राष्ट्रिय निकुञ्जमा लगेर छाडेको थियो । स्थानीय, जनप्रतिनिधि र प्रहरी मिलेर चितुवाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले बताए ।

तनहुँमा १३ जनामाथि आक्रमण
हालसम्म तनहुँमा चितुवाको आक्रमणबाट ७ जनाको ज्यान गएको र ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता डिएसपी लीलाराज लामिछानेले जानकारी दिएका छन् ।

२०७४ फागुन १३ गते भानु नगरपालिका ३ दोरदोरटारमा ७ वर्षीय विशाल श्रेष्ठ, २०७५ कात्तिक २९ गते भानु नगरपालिका ४ चिसापानीका४ वर्षीया अस्मिता लम्साल र मंसिर १५ गते भानु नगरपालिका २ ढलेबरकी १० वर्षीय अमृत गुरुङले ज्यान गुमाए।

२०७६जेठ २४ गते भानु २ भकुन्थोककी ९ वर्षीया पुष्पा अधिकारी, असोज २१ गते भानु१ जामुनै गैह्राका ४ वर्षीय आशिक बानिया, कात्तिक ११ गते भानु २ फुस्रेटारका ७ वर्षीय ऋतिक रोका, पुस २० गते आबुखैरेनी गाउँपालिका १ रानागाउँका ७ वर्षीय पुनम सिंजालीमगर र माघ १३ गते बन्दीपुर गाउँपालिका ४ लोहरीपाखाका १० वर्षीय इस्क सुनारको चितुवाको आक्रमणबाट नै ज्यान गएको थियो ।

तनहुँमा हालसम्म चितुवाको आक्रमणबाट ५ जना घाइते भएका छन् । २०७५ मा भानु११ का४८ वर्षीय भीमबहादुर तामाङ, मंसिर ७ गते भानु नगरपालिका २ थप्रेकडाँडाका सञ्जय नेपालीलाई चितुवाले घाइते बनायो ।

२०७६साउन १२ गते भानु नगरपालिका २ ठूलोबगैंचाका ७ वर्षीय हेमराज सुनार, भदौ १२ गते भानु नगरपालिका २ दाहालटारका ५ वर्षीय सुलभ दाहाल र कात्तिक २ गते भानु २ तल्लोडिहीकी १२ वर्षीयासोनिया अछामी चितुवाको आक्रमणबाट घाइते भएका थिए ।

कास्कीमा चितुवाले आक्रमण गरेको यो पहिलो घटना हो । यसभन्दा अघि कास्कीमा चितुवाले आक्रमण नगरे पनि मंगलबार बेलुकादेखि निगरानी बढाएर बुधबार पोखरा ३२ मा नै १ चितुवालाई नियत्रणमा लिएको थियो । तनहुँमा पनि विभिन्न ठाउँबाट चितुवा नियत्रणमा लिइएको भए पनि चितुवा आक्रमण रोकिएको छैन ।

तपाईको प्रतिक्रिया