मानव–वन्यजन्तु द्वन्द्व

समाधान संवाददाता २०७६ माघ २६ गते १५:०२

वुद्धि र विवेकका कारण मानिस अरु प्राणीभन्दा अब्बल दरिएको छ । उसले आफ्नो जीविकाका लागि मात्र नभएर विश्व नै चकित पार्ने गरी नयाँ नयाँ प्रयोग गरिरहेको छ । मानव सभ्यताको सुरुआती अवस्थामा शिकार नै आहारको मुख्य स्रोत थियो मानिसका लागि । व्यवस्थित कृषि प्रणाली सुरु नहुँदासम्म कन्दमुल र जंगलमा पाइने फलफूलकै भरमा जिउनु पर्ने थियो । त्यतिबेलैदेखि मानव वन्यजन्तु द्वन्द्व थियो । मानव जातिले जति नै विकासको फड्को मारे पनि वन्यजन्तुसँगको द्वन्द्व कम हुन सकेको छैन । यसमा मानवीय हस्तक्षेप एउटा पाटो होला । वन्यजन्तुको वासस्थान संरक्षणमा जोड नदिने अनावश्यक हस्तक्षेप गर्ने लगायत कारण हुन सक्छन् । त्योभन्दा पनि महत्वपूर्ण पक्ष त बढ्दो सहरीकरण, ग्रामीण बस्ती रित्तिनु, अनि बस्तीको नजिकैसम्म जंगलले ढाकिनुजस्ता कारणले गाउँ आसपासमै वन्यजन्तुको चहलपहल हुन थालेको छ । जुन चहलपहलको असर मानिसले ज्यानै गुमाउनु परेको छ ।

पछिल्लो समयमा तनहुँ र कास्कीमा चितुवा आतंक निकै बढेको छ । २०७४ यता यी २ जिल्लामा चितुवाकै कारण ८ बालबालिकाले ज्यानै गुमाएका छन् । घाइतेको संख्या त्यो भन्दा पनि बढी छ । अचम्मै त के छ भने चितुवाको निशानामा बालबालिका नै बढी परेका छन् । पाका उमेरका मानिस दौडिन भाग्न र थोरै भए पनि प्रतिकार गर्न सक्षम भएर पनि होला घाइते भए पनि ज्यान भने गुमाउनु परेको छैन । चितुवाबाट सबैभन्दा बढी आतंक तनहुँको भानु नगरपालिकामा देखिएको छ । एउटै नगरपालिकामा डेढ वर्ष यता ६ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवा नियन्त्रणकै लागि भनेर स्थानीयले डिभिजन वन कार्यालयसँगको सहकार्यक्रमा परम्परागत पासो बनाएका छन् । पासोमा चितुवा पर्ने क्रम पनि जारी नै छ ।

भानुपछि तनहुँ र कास्कीका अन्य गाउँमा चितुवाको आक्रमण बढेको छ । चितुवा बस्तीबस्ती पसेर बालबालिकामाथि आक्रमण गरिरहेको छ । समस्या त के भने संरक्षित वर्गमा परेका हुनाले चितुवा मार्न पाइँदैन । तर मानिसको ज्यान नै खतरामा परेपछि के गर्ने भन्ने बारेमा विकल्प खोजिनुपर्ने बेला आएको छ । चितुवा पासोमा पारेर चितवन लगायतका ठाउँमा लगेर छाडिने गरिएको छ । फेरि ती ठाउँ आसपासका गाउँमा पनि त्यस्तै खतरा बढ्ला त्यतिबेला के उपाय अपनाउने ? यो सोचनीय विषय छ । फेरि पारिस्थितिकीय प्रणालीलाई हेर्ने हो भने चितुवा मात्र होइन जुनसुकै प्राणी मानव जीवनको अस्तित्वसँग जोडिएको छ ।

Advertisement

पासो थापेर चितुवालाई नियन्त्रणमा लिने र अर्को ठाउँमा लगेर छाडिदिने उपाय अल्पकालीनरुपमा ठिकै लागे पनि कालान्तरमा यो तरिका प्रत्युत्पादक बन्छ । तसर्थ चितुवा मात्र होइन अन्य वन्यजन्तुबाट जोगिनका लागि दीर्घकालीन उपाय अपनाउनु जरुरी छ । बस्ती आसपासमा बाक्लो वनजंगल फैलिन नदिने, बालबालिकालाई साँझ परेपछि घरबाहिर निस्कन नदिने, घर वरपर बारबन्देज गर्नेजस्ता उपाय अपनाउन सकिन्छ । त्यसवाहेक वन्यजन्तुको प्राकृतिक वासस्थान जोगाउने मात्र नभई उनीहरुको प्राकृतिक आहारको लागि पनि व्यवस्थापनाका उपाय अपनाउन सकिन्छ । अनि वनसँग सम्बन्धित कार्यालयहरुले अब अनुसन्धानमा लगानी बढाएर कुन र कस्ता जंगलमा कति वन्यजन्तु रहँदा मानवसँग द्वन्द्व कम हुन्छ भन्ने बारेमा खोजी गर्ने बेला आइसकेको छ । चितुवा लगायत वन्यजन्तुले आक्रमण गरे वा ज्यानै गएको खण्डमा परिवारले राहत पाउने व्यवस्था कानुनले गरेको छ । परिवारका सदस्य गुमाएको पीडा राहतले त पक्कै कम हुँदैन । तसर्थ वन्यजन्तुबाट मानिसको ज्यान जोगाउन सम्बन्धित पक्षबाट तत्काल प्रभावकारी कदम चाल्नुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया