पत्रकार प्रदीप काफ्लेको ‘राष्ट्रिय गीत’

समाधान संवाददाता २०७६ माघ २७ गते १२:५०

समाधान संवाददात
दमौली

नेपाल पत्रकार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रदीप काफ्लेले रचना गरेको राष्ट्रिय गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दमौलीमा आइतबार आयोजित कार्यक्रममा अग्रज पत्रकार एवं देशसञ्चार डटकमका सम्पादक युवराज घिमिरेले उक्त म्युजिक भिडियोको विमोचन गरे ।

उक्त गीतमा भारतीय सुप्रसिद्ध गायक बप्पी लहरीले आवाज दिएका छन् । भारतीय गायक लहरीले स्वर भरेको यो नै पहिलो नेपाली गीत रहेको सो अवसरमा जानकारी दिइयो । २ देशबीचको कला, संस्कृति र सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले गीत रचना गरिएको गीतका रचनाकार एवं पत्रकार काफ्लेले जानकारी दिए । राष्ट्रियताप्रति ओतपोत रहेको उक्त गीत अहिलेको अवस्थामा सान्दर्भिक रहेको चर्चा गर्दै उनले गीतको माध्यमबाट राष्ट्रभक्ति दर्शाउन खोजिएको बताए ।

Advertisement

म्युजिक भिडियोको विमोचन गर्दै वरिष्ठ पत्रकार घिमिरेले राष्ट्र, राष्ट्रियता र संगीत एकअर्कासँग सम्बन्धित रहेको बताउँदै गीतको माध्यमबाट राष्ट्रियता झल्काउने प्रयास सराहनीय रहेको चर्चा गरे । घिमिरेले लोकतन्त्रमा मात्रै राष्ट्रियता बलियो हुने भएकोले नेपालको राष्ट्रियताको रक्षा गर्ने जिम्मेवारी नेपालीको रहेको उल्लेख गरे । घिमिरेले भने, ‘मुलुकले के दियो भन्दा पनि हामीले मुलुकलाई के दिन सक्छौं भन्ने महत्वपूर्ण हो, सामूहिक अठोटले मात्रै राष्ट्रियता संरक्षण गर्न सकिन्छ ।’

व्यास नगरपालिकाका प्रमुख बैकुन्ठ न्यौपानेले राष्ट्रियतालाई मजबुद बनाउने जिम्मेवारी सबैको रहेको चर्चा गर्दै गीतको माध्यमबाट राष्ट्रियताप्रति सकारात्मक भावना जगाउने उद्देश्य सकारात्मक रहेको बताए ।

Advertisement

म्युजिक भिडियोका निर्देशक एवं कलाकार निर्मल शर्माले राष्ट्रियताको सवालमा जुनसुकै देशका गायकले गीत गाउँदा पनि फरक नपर्ने मान्यता रहेकोले भारतीय प्रख्यात कलाकारको आवाज राखिएको जानकारी दिए । नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले राष्ट्रियताप्रति ओतप्रोत रहेको गीतले नेपाल र भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।

गीतमा ‘फरक छ भाषा फरक संस्कृति, एउटै छ आकाश एउटै छ धर्ती, जहाँ रहेपनि जहाँ भएपनि हामी एउटै धर्तीका सन्तान, यही हो हाम्रो शान’ शब्द समेटिएको छ । उक्त गीतमा बिबि अनुरागीले संगीत भरेका छन् । २०७१ साल फागुन १ गते रेकर्ड गरिएको उक्त गीतको म्युजिक भिडियो भने ५ वर्षपछि विमोचन गरिएको हो ।

तपाईको प्रतिक्रिया